उदय बीसी/दाङ
असारबाट शरू भएकोमा अहिलेसम्म १४ जना जग्गाधनीले मात्रै हरियो पुर्जा लिएका छन् । आयोजना सञ्चालन भएको ९२ बिगाहा क्षेत्रफलमा १ सय २६ जग्गाधनी रहेका छन् । हरियो पुर्जा जग्गा एकीकरण आयोजना सञ्चालन भएपछि नगर विकास समितिको नाममा आइसकेको जग्गालाई पुनः उपभोक्तामा फिर्ता गरेको पहिलो प्रमाण हो ।
नेपालकै सबैभन्दा ठूलो जग्गा एकीकरण आयोजनाअन्तर्गत दाङको घोराही नगरपालिका वडा नम्बर ५ स्थित अम्बापुरमा सञ्चालन भएको अम्बापुर जग्गा एकीकरण (ल्याण्डपुलिङ) आयोजनाका जग्गाधनीहरूलाई अस्थायी जग्गाधनी पुर्जा (हरियो पुर्जा) वितरण शुरू गरिएको छ । आयोजना सञ्चालन गर्दै आएको घोराही नगर विकास समितिले असारको अन्तिम सातादेखि नै हरियो पुर्जा वितरण गरेको जानकारी दिएको छ । आयोजना शुरू भएको करीब ५ वर्षपछि मात्रै जग्गाधनीहरूलाई अस्थायी जग्गाधनी पुर्जा वितरण गर्न सफल भएको नगर विकास समितिका नायव सुब्बा कुलराज रावतले जानकारी दिए । उनका अनुसार विभिन्न कारणले जग्गाधनीहरूलाई अस्थायी लालपुर्जा वितरण गर्न ढिलाइ भएको हो ।
तर नगर विकास समितिले हरियो पुर्जा वितरण गर्ने काम शुरू गरे पनि जग्गाधनीहरूले भने पुर्जा लिने विषयमा खासै चासो नदिएको नगर विकास समितिले बताएको छ । असारबाट शरू भएकोमा अहिलेसम्म १४ जना जग्गाधनीले मात्रै हरियो पुर्जा लिएका छन् । आयोजना सञ्चालन भएको ९२ बिगाहा क्षेत्रफलमा १ सय २६ जग्गाधनी रहेका छन् । हरियो पुर्जा जग्गा एकीकरण आयोजना सञ्चालन भएपछि नगर विकास समितिको नाममा आइसकेको जग्गालाई पुनः उपभोक्तामा फिर्ता गरेको पहिलो प्रमाण हो । यही हरियो पुर्जाका आधारमा मालपोत कार्यालयले जग्गाधनीहरूको नयाँ स्थायी जग्गाधनी पुर्जा बनाउने छ । जग्गा एकीकरणपश्चात सम्बन्धित जग्गाधनीले आफ्नो जग्गा पत्ता लगाउने र त्यसको नयाँ स्थायी लालपुर्जा बनाउने आधार हरियो पुर्जा भएकाले सबै जग्गाधनी उपभोक्ताले अनिवार्य रूपमा हरियो पुर्जा लिनुपर्ने समितिका नासु रावतले बताए । ‘सम्बन्धित जग्गाधनीले यही हरियो पुर्जाका आधारमा मालपोत कार्यालयबाट स्थायी पुर्जा बनाउने हो । यसैका आधारमा अहिले आफ्नो जग्गा खरीद विक्री गर्न सक्छ,’ रावतले भने, ‘यो सबै जग्गाधनीहरूले अनिवार्य रूपमा लिन आवश्यक छ ।’
यसैगरी घोराही नगर विकास समितिले आगामी मङ्सिर महीनादेखि आयोजनाका जग्गाधनीलाई स्थायी जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरेको छ । ९२ बिगाहामध्ये २४ ओटा कित्ता नगर विकास समितिको नाममा आउन बाँकी रहेकाले यो काम पूरा हुनेबित्तिकै जग्गाधनीहरूलाई स्थायी लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढ्ने नासु रावतको भनाइ छ । २४ कित्ता नगर विकास समितिको नाममा ल्याउनका लागि जिल्ला मालपोत कार्यालय दाङमा दाखा भइसकेकाले केही दिनमै यो प्रक्रिया पूरा हुने उनले बताए ।
२०६५ सालमा सञ्चालन भएको अम्बापुर जग्गा एकीकरण आयोजनाका उपभोक्ताले लामो समयसम्म आफ्नो लालपुर्जा नपाउँदा जग्गाको खरीदविक्री, बैङ्क कारोबार, घर निर्माणलगायत काममा समस्या परेको थियो । तर, ढिलै भए पनि नगर विसका समितिले हरियो पुर्जा वितरण कार्य शुरू गरे पनि अहिले आयोजनाअन्तर्गतका जग्गाधनीलाई आफ्नो जग्गामा घर निर्माण गर्न, बैङ्किङ कारोबार गर्न, खरीदविक्री गर्न सहज भएको छ । करीब १० वर्षसम्मा सम्पन्न गर्ने लक्ष्यका साथ शुरू गरिएको उक्त आयोजनामा ५ वर्षको अवधिमा आयोजनाको नक्साङ्कन, अस्थायी सडक खोल्ने काम, सार्वजनिक स्थलका लागि जग्गा छुट्ट्याउन, ताल निर्माणलगायत काम पूरा भइसकेका छन् । झण्डै १५ करोडको इस्टिमेट गरिएको उक्त आयोजनामा हालसम्म करीव १ करोड रुपैयाँ खर्च भइसकेको घोराही नगर विकास समितिले बताएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.