पेचिङ (चीन) । अमेरिकी बहुराष्ट्रिय अटो निर्माता फोर्डका प्रमुख कार्यकारी अधिकृत जिम फार्लीले हालै न्यूयोर्कमा आयोजित एक लगानी सम्मेलनमा चेतावनी दिए– आयातित वस्तुमा उच्च शुल्क लगाउने कार्यले अमेरिकी उद्योगमा यस्तो खालको क्षति पु¥याउनेछ, जुन हामीले कहिल्यै देखेका छैनौं ।
वर्षौंयता अमेरिकाको अटो आपूर्ति शृंखला आफ्ना दुई छिमेकी देशहरूसँग गहिरो रूपमा एकीकृत रहँदै आएको छ । एउटा गाडी तयार हुँदासम्म त्यसका पार्टपुर्जा अमेरिका, मेक्सिको र क्यानडाबीच धेरैपटक ओसारपसार गरिन्छ । तर मेक्सिको र क्यानडामाथि अमेरिकी शुल्कले उत्तर अमेरिकी आपूर्ति शृंखलामा अवरोध उत्पन्न हुने तथा गाडीको मूल्य बढ्ने डर छ । ‘हामीले अहिले अटो उत्पादनमा धेरै खर्च र तीव्र अस्तव्यस्तता देखिरहेका छौं,’ फार्लीले भने ।
मेक्सिकोको उत्तरी शहर मोन्तेरेस्थित अलिआन प्लास्टिक्सको उद्योगमा पग्लिएको प्लास्टिकबाट गाडीका हेडलाइट कभरजस्ता पार्टपुर्जा बनाइन्छ । कम्पनीका महाप्रबन्धक फेलिपे बिलारियलले सिन्हवालाई बताएअनुसार यी भाग तयार भएपछि अमेरिकामा कम्पोनेन्ट एसेम्बलीका लागि पठाइन्छ । त्यसपछि गाडीका सम्पूर्ण एसेम्बलीका लागि मेक्सिको फर्काइन्छन् । अन्ततः ती गाडी अमेरिका निर्यात गरिन्छ ।
‘यो प्रक्रिया उत्तर अमेरिकी अटो उद्योग शृंखलाको घनिष्ठ सहकार्यको उदाहरण हो,’ बिलारियलले भने, ‘अब कच्चापदार्थ र प्रशोधनको लागतका अलावा कम्पनीले हरेक चरणमा १५ देखि २५ प्रतिशतसम्म शुल्क तिर्नुपर्ने हुन सक्छ, जसको समग्र दर ७० प्रतिशतसम्म पुग्न सक्छ ।’
वाशिङ्टनले थपिएको शुल्कले अमेरिकी–निर्मित गाडीलाई संरक्षण दिने दाबी गरेको छ । तर आजका दिनमा विशुद्ध रूपमा अमेरिकी–निर्मित गाडी अस्तित्वमै छैन । अहिले कार उत्पादनमा विश्वभरका स्रोत आवश्यक पर्छन् । उदाहरणका लागि, ४० वर्षभन्दा बढी समयदेखि अमेरिकामा सबैभन्दा बढी विक्री हुने फोर्डको एफ–१५० ट्रकको पनि आधाभन्दा कम भाग मात्र अमेरिकी कारखानामा तयार हुन्छ ।
फोर्डका मेक्सिकोमा चिहुआहुआमा इञ्जिन प्लान्ट र काउटिटलान तथा हर्मोसिलोमा दुई स्ट्याम्पिङ तथा एसेम्बली प्लान्ट छन् । यस्तै क्यानडाको ओकभिलमा एउटा एसेम्बली प्लान्ट छ । गतवर्ष अमेरिका लगभग ८ मिलियन गाडी आयात गर्यो । तीमध्ये सबैभन्दा बढी ३० लाख युनिट गाडी मेक्सिकोबाट आयात गरियो । क्यानडा चौथो स्थानमा रह्यो, जसले ११ लाख युनिट अमेरिका पठायो ।
मिशिगनस्थित एन्डरसन इकोनोमिक ग्रुपको अनुमान अनुसार नयाँ भन्सार शुल्कले अमेरिकाको सबैभन्दा सस्तो गाडीमा पनि २ हजार ५०० देखि ५ हजार डलरसम्म मूल्य बढ्न सक्छ । यसैगरी केही आयातित गाडीको मूल्य २० हजार डलरसम्म बढ्न सक्छ ।
यता, पीटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका वरिष्ठ अनुसन्धाता गेरी क्लाइड हफबाउरका अनुसार गाडीको मूल्य प्रतियुनिट ४ हजार डलरले बढ्नेछ र धेरै कम्पनीहरू घाटा वा कम नाफामा चल्नुपर्नेछ ।
‘यसले ठूलो असर पार्नेछ । एक दशकअघि अमेरिकाका सबैभन्दा कम आम्दानी हुने २० प्रतिशत उपभोक्ताले नयाँ गाडी किन्न सक्दैनथे । आज त्यो संख्या ४० प्रतिशत पुगेको छ,’ अटोमोटिभ रिसर्च सेन्टरका वरिष्ठ उपाध्यक्ष वैंकटेश प्रसादले भने ।
रोजगारी कटौती ‘अपरिहार्य’ हुनेछ
अमेरिकाको अटो उत्पादन अघिल्लो दशकदेखि लगातार घट्दै गएको छ । अमेरिकी वाणिज्य विभागका तथ्यांक अनुसार गतवर्ष अमेरिका १७ लाख युनिट गाडी उत्पादन गर्न सफल भयो, जुन सन् २०१४ को ४० लाखभन्दा ५७ प्रतिशतले कम हो । यो कमीका पछाडि लागत वृद्धिदेखि विश्वव्यापी प्रतिस्पर्धाजस्ता विभिन्न कारण छन् । यस्तो अवस्थामा शुल्कमार्फत घरेलु उत्पादन पुनर्जीवित गर्ने प्रयास उल्टो असर पार्न सक्ने विश्लेषण गरिएको छ ।
ट्रम्प प्रशासनले चाहेजस्तै विश्वव्यापी अटो कम्पनीहरूले थप उत्पादन अमेरिका सार्न थाले भने पनि अत्यधिक मात्रामा स्टिल र एल्युमिनियम आवश्यक पर्छ । तर अमेरिका आफैले सन् २०२५ को मार्च १२ देखि यिनका आयातमा २५ प्रतिशत शुल्क लगाउन थालिसकेको छ ।
गिम्मे क्रेडिटका विश्लेषक जे कुसिङका अनुसार यस्ता शुल्कहरूले अमेरिकी गाडीको मूल्य १ हजार ५०० डलरसम्म बढाउन सक्छ । एन्डरसन ग्रुपको अनुमान अनुसार यिनै शुल्कले विद्युतीय गाडीको मूल्य २ हजार ५०० डलरसम्म वृद्धि गर्न सक्छ ।
गाडीको मूल्य झनै बढेमा अमेरिकी अटो उद्योगमा उत्पादन तथा रोजगारी कटौती ‘अपरिहार्य’ हुनेछ । क्यानडाको अटोमोटिभ पाट्र्स म्यानुफ्याक्चरर्स एसोसिएसनका अध्यक्ष फ्लाभियो भोल्पेले चेतावनी दिए, ‘उत्तर अमेरिकी अटो उद्योग एकदमै एकीकृत छ ।’
‘तपाईं गाडी बनाउन सक्नुहुन्न, सबै पार्टहरू समयमै आइपुग्दैनन् । यदि २५ प्रतिशत शुल्क लाग्यो भने त्यो खर्च कार निर्माता, पाटर््स सप्लायर वा अन्ततः उपभोक्ताले तिर्नैपर्छ,’ उनले भने । उनका अनुसार क्यानडेली अटो आपूर्तिकर्ताका १८ अमेरिकी राज्यमा १५६ कारखाना छन्, जसले ५० हजार अमेरिकी श्रमिकलाई रोजगार दिएका छन् ।
अटो निर्माता कम्पनीहरूको कठिन यात्रा
अमेरिकी शुल्क नीतिको अनिश्चितता बढेसँगै साना निर्माणकर्तादेखि विश्वका ठूला अटो कम्पनीहरू समेत सम्भावित अवरोधको सामना गर्न ‘प्लान बी’ बनाउने तयारीमा छन् । ‘हामी कोभिड–१९ महामारीको बेलामा जस्तै रणनीति निर्माण गर्न बैठक गर्दैछौं । प्राविधिक अवरोधदेखि शुल्क, लागत र कर्मचारी व्यवस्थापनसम्मको तयारी भइरहेको छ,’ न्यू लियोन अटोमोटिभ क्लस्टरका महाप्रबन्धक म्यानुएल मोँटोयाले भने ।
जनरल मोटर्सका सीएफओ पल जेकब्सनले भनेका छन्, ‘कम्पनीले छोटो अवधिका लागि शुल्क सहन सक्नेछ, तर ती दीर्घकालीन भए थप चुनौती आउन सक्छ ।’ ती शुल्क स्थायी भएमा प्लान्टहरू कहाँ राख्ने, सर्ने वा हटाउने भन्नेबारे सोच्नुपर्ने उनले बताए ।
सामान्यतया अटो निर्माता कम्पनीले आगामी वर्षको मोडल डिजाइन र परीक्षण वर्षको शुरुआतमै शुरू गर्छन् । तर यस वर्ष धेरै उत्तर अमेरिकी कम्पनीहरू अझै अनिश्चित छन् र सन् २०२६ को मोडल विकास स्थगित गरिएको छ । सिन्हवा