बेइजिङ (चीन) । चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले विश्व व्यापार सङ्गठन (डब्लुटीओ)का प्रमुखलाई अमेरिकी करवृद्धिले गरिब राष्ट्रलाई ‘गम्भीर क्षति’ पुर्याउने बताएका छन् ।
वासिङ्टन र बेइजिङले यो महीना एक आपसमा अतिरिक्त कर लगाउने घोषणा गरिरहेका छन् । यसै शिलशिलामा अहिलेसम्म अमेरिकाले चिनियाँ सामानको आयातमा १४५ प्रतिशत अतिरिक्त कर लगाएको छ भने बदलामा चीनले अमेरिकी सामानको आयातमा १२५ प्रतिशत कर लगाएको छ ।
यसले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार युद्ध चर्किने डर बढाएको छ, जसको प्रत्यक्ष असर विश्वको शेयर बजारमा परेको र यसले शेयर कारोबारलाई अस्तव्यस्त बनाएको छ ।
अर्थशास्त्रीहरूले अमेरिका र चिनियाँ अर्थतन्त्रबीचको व्यापारमा आएको अवरोधले उपभोक्ताका लागि मूल्य वृद्धि हुने र यसले विश्वव्यापी मन्दी निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
‘अमेरिकी कर नीतिका कारण आउने नतिजाले विशेष गरी अल्पविकसित देशहरूलाई गम्भीर क्षति पु¥याउनेछ र मानवीय सङ्कट समेत निम्त्याउन सक्छ,’ वाङले शुक्रवार डब्ल्यूटीओका प्रमुख नगोजी ओकोन्जो–इवेलासँग भने ।
‘संयुक्त राज्य अमेरिकाले निरन्तर कर वृद्धिको बाटोलाई पछ्याएको छ, जसले विश्वमा ठूलो अनिश्चितता र अस्थिरता ल्याएको छ । यसले अन्तरराष्ट्रिय अराजकता निम्त्याएको र अमेरिकाभित्र पनि अन्योल निम्त्याएको छ,’ वाङले थपे । रासस/एएफपी