काठमाडौं । सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम शुरू गरेकोमा अझै मधेश प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी छ । आर्थिक वर्ष २०७५/७६ को बजेट तथा कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि पछिल्लो समय साक्षर जिल्ला घोषणाको क्रम बढेको छ ।
हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेका छन् भने मधेश प्रदेशका सबै जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा), लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र डोटी साक्षर जिल्ला घोषणा हुन बाँकी छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार सात सय ५३ स्थानीय तहमध्ये उक्त जिल्लाका गरी एक सय ७६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी छ । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले साक्षर नेपाल अभियान कार्यक्रमअन्तर्गत यस वर्ष लागत साझेदारीमा आधारित प्रस्तावनापत्र तयार गर्न लगाई कार्ययोजना अघि बढाइएको बताए ।
यसअन्तर्गत साक्षर घोषणा हुन बाँकी जिल्ला र पालिकामा सरोकारवालासँग अभिमुखीकरण, साक्षरताका १२ सूचकहरूलाई समावेश गरी सिकाइ सामग्री उत्पादन गरेर वितरण, विद्यार्थी परिचालन गरी घरपरिवार र समुदायलाई साक्षर बनाउने गरी कार्यक्रम अघि बढाइएको केन्द्रले बताएको छ ।
सम्बन्धित जिल्ला र पालिकामा १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिक साक्षर भएको पाइएमा साक्षर जिल्ला र साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान छ । हाल नेपालमा ६ वर्षभन्दा माथिको साक्षरता दर ७८ प्रतिशत र १५ देखि ६० वर्ष उमेर समूहको साक्षरदता दर ८५ प्रतिशत छ । प्रतिशतका हिसाबले साक्षरता दर सुधारोन्मुख भने देखिएको छ । विसं २००४ मा नेपालको साक्षरता २ प्रतिशत थियो ।
हाल नेपालमा ३५ हजार ६ सय ७४ विद्यालय रहेकोमा २७ हजार आठ सय १२ सामुदायिक, ६ हजार सात सय ३२ निजी (संस्थागत), एक हजार एक सय ३० परम्परागत विद्यालय छन् । यस्तै दुई हजार एक सय ५१ सामुदायिक सिकाइ केन्द्र, एक सय २१ खुला विद्यालय, औपचारिक प्रौढ विद्यालय एक सय ७१ छन् ।
विगतमा साक्षरता अभियानका नाममा सञ्चालन गरिएका विभिन्न कार्यक्रम र प्रयोग प्रभावकारी नभएपछि सरकारले विभिन्न तहका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने नीति पनि लिएको छ । नेपालमा विसं २००४ देखि साक्षरता अभियान शुरू भएको हो ।
‘साक्षरता सिकाइ क्षेत्रमा रूपान्तरण’ नारासहित बिहीवार मनाइएको ५६औं अन्तरराष्ट्रिय साक्षरता दिवसका अवसरमा पनि केन्द्रले साक्षरतासम्बन्धी विद्युतीय र अन्य सामग्रीको उत्पादन गरी सञ्चार माध्यमबाट प्रचार–प्रसार गरेको छ । विसं २०६८ को जनगणनाअनुसार पाँच वर्षभन्दा माथिको साक्षरता प्रतिशत ६५ दशमलव ९४ छ, जसमा पुरुषको साक्षरता प्रतिशत ७५ दशमलव १४ र महिलाको साक्षरता प्रतिशत ५७ दशमलव ३९ प्रतिशत छ । रासस