काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि अनुमति मागेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा ५० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति माग्दै वैशाख २२ गते निवेदन दिएको हो । बोर्डले भने कम्पनीको आईपीओ निवेदन सम्बन्धित जानकारी जेठ ५ गते आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
पछिल्लो समय बोर्डले नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीको आवेदन फिर्ता गरेको अवस्था छ । आवेदन दिएका १४ कम्पनीहरूको आवेदन बोर्डले नेटवर्थ र पीपीएसम्बन्धी व्यवस्था मापदण्डविपरीत भएको भन्दै जेठ ६ गते फिर्ता गरेको हो । ती कम्पनीहरूको सूची वेबसाइटबाटै हटाएको अवस्थामा अर्बिट इनर्जीको आईपीओ आवेदन भने स्वीकार भएको देखिन्छ । यसर्थ यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ तोकेबमोजिम रहेको बुझ्न सकिन्छ ।
कम्पनीले संखुवासभा जिल्लामा २१ दशमलव ६ मेगावाट क्षमताको सभाखोला बी जलविद्युत् आयोजना र ६ दशमलव ३ मेगावाट क्षमताको सभा खोला सी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको निर्माण कार्य आधाभन्दा बढी सकिएको अवस्थामा कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको हो । कम्पनीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको समेत लगानी रहेको छ ।