काठमाडौं । अघिल्ला ६ कारोबार दिन निरन्तर घटेर सोमवारदेखि उकालो लागेको नेप्से परिसूचकले आज (मंगलवार) पनि बढ्दो गतिलाई निरन्तरता दिएको छ । सोमवारको तुलनामा मंगलवार नेप्से परिसूचक ४९ दशमलव शून्य ९ अंकले बढेको हो । प्रतिशतका हिसाबमा भने नेप्से परिसूचक १ दशमलव ८६ प्रतिशत बढेको छ । आज नेप्से परिसूचक २ हजार ६८१ दशमलव ५८ विन्दुसम्म पुगेको थियो भने २ हजार ६१७ दशमलव ४६ विन्दुसम्म झरेको थियो । अन्तिममा २ हजार ६७७ दशमलव ४५ विन्दुमा नेप्से परिसूचक बन्द भएको हो ।
गभर्नर नियुक्तिको विषयमा राजनीतिक सहमतिको संकेत देखिएसँगै लगानीकर्ता उत्साहित बनेको ब्रोकरहरुको भनाई छ । मंगलवार कारोबार अवधिमै गभर्नर नियुक्तिका लागि सिफारिश समितिले बैठक बोलाएको समाचार बाहिरिएको थियो । आजै गभर्नर नियुक्तिको सम्भावना देखिएकाले लगानीकर्ता उत्साहित बनेको ब्रोकरहरूले प्रष्ट पारेका छन् । कुन व्यक्ति गभर्नर नियुक्त हुन्छ भन्दा पनि लामो समयदेखि अल्झिएको गभर्नर नियुक्तिको विषय टुङ्गिने विश्वास लगानीकर्ताले गरेका हुन् ।
आज २२९ कम्पनीको धितोपत्रको मूल्य बढेको छ भने १५ कम्पनीको मात्र धितोपत्रको मूल्य घटेको छ । जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य भने स्थिर रहेको छ । ५ कम्पनीको शेयरमूल्य आज उच्च दरमा बढेको छ । सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशत बढ्दा ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ९ दशमलव ९७ प्रतिशत र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत बढेको छ । आज विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ३ दशमलव शून्य ९ प्रतिशत घटेको छ । बढेको बजारमा विन नेपाल लघुवित्तको शेयरमूल्य भने प्रतिकित्ता ७५ रुपैयाँ ६२ पैसाले घटेर अन्तिम मूल्य २ हजार ३६८ रुपैयाँ ३८ पैसा कायम भएको हो ।
पछिल्ला दुई कारोबार दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घट्दो क्रममा रहेको देखिन्छ । सोमवार आइतवारको तुलनामा थोरै रकमको कारोबार भएकोमा सोमवारको तुलनामा मंगलवार पनि कम रकमको कारोबार भएको हो । आइतवार ८ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको १ करोड ६९ लाख कित्ताभन्दा बढी धितोपत्रको कारोबार भएकोमा सोमवार ७ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको १ करोड ६९ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
मंगलवार भने ७ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको १ करोड ६८ लाख रुपैयाँभन्दा बढीको १ करोड ६८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । सोमवारको तुलनामा मंगलवार कारोबार रकम घटे पनि कारोबार कित्ता भने बढेको हो । कुल कारोबारमा मंगलवार पनि राधी विद्युत् कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । पछिल्ला कारोबार दिन राधी विद्युत् सर्वाधिक कारोबार गर्ने कम्पनीको रुपमा रहँदै आएको हो । राधी विद्युत् कम्पनीको मंगलवार ४१ करोड ८० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । आज राधी विद्युत कम्पनीको शेयरमूल्य प्रतिकित्ता २५ रुपैयाँ ७६ पैसाले बढेर अन्तिम मूल्य ७५० रुपैयाँ कायम भएको हो ।
मंगलवार सबै समूहगत परिसूचक बढेका छन् । यो दिन होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४२ प्रतिशत बढेको हो । कुल बजार पूँजीकरण पाँच कारोबार दिनपछि पुनः ४४ खर्बभन्दा माथि कायम भएको छ । सोमवार ४३ खर्ब ७२ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी रहेको कुुल बजार पूँजीकरण मंगलवार ४४ खर्ब ५५ अर्ब २६ करोड ८२ लाख रुपैयाँ कायम भएको हो । मंगलवार एकै दिन कुल बजार पूँजीकरण ८२ अर्ब ३९ करोड ७७ लाख रुपैयाँले बढेको हो ।