काठमाडौं । चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म (साउनदेखि चैतसम्म) नेपाल टेलिकमको नाफा घटेको छ ।
टेलिकमले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणको सारांशअनुसार २०८० चैत मसान्तसम्मको तुलनामा २०८१ चैत मसान्तसम्म कम्पनीको खुद नाफा २ अर्ब ६९ करोड ५२ लाख ७३ हजार रुपैयाँ (अर्थात् ४८.६७ प्रतिशत)ले घटेको हो ।
२०८० चैत मसान्तसम्म ५ अर्ब ५३ करोड ७५ लाख ६२ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले २०८१ चैत मसान्तसम्म २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँमात्र उक्त नाफा गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय पनि घटेको छ । गत आवको तेस्रो त्रैमाससम्म २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको कम्पनीले चालू आवको सोही अवधिमा भने २५ अर्ब ३१ करोड ७६ लाख १३ हजार रुपैयाँ मात्र उक्त आम्दानी गरेको हो । जुन गत आवको भन्दा १६ करोड ३६ लाख ७५ हजार रुपैयाँ (अर्थात् ०.६४ प्रतिशत) ले कम हो ।
यो आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल आयमा पनि गिरावट छ । गत आवको तेस्रो त्रैमाससम्म ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यो आवको सोही अवधिमा २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार रुपैयाँ उक्त आम्दानी गरेको हो । जुन गत आवको भन्दा २ अर्ब ७७ करोड ३२ लाख ९१ हजार रुपैयाँ (अर्थात् ८.८९ प्रतिशत)ले कम हो ।
टेलिकमले आफ्नो आम्दानी र नाफा घट्नुका ७ कारण औंल्याएको छ ।
- ओटीटी सेवाहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आवको तेस्रो त्रैमासिकसम्मको तुलनामा करीब ५३ करोड ५५ लाख ६६ हजार रुपैयाँ (अर्थात् २२.३७ प्रतिशत) कम भएको छ । साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ ।
- कम्पनीले गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब रुपैयाँ एकमुष्ठ भुक्तानी गर्नुपरेको र सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरूको निवृत्तिभरणको व्यवस्थाको लागि गत वर्ष ४ अर्ब ९७ करोड रुपैयाँ र यस आवको तेस्रो त्रैमासिकसम्म करीब १३ अर्ब १५ करोड रुपैयाँ छुट्टयाएपश्चात लगानीमा भएको कमी तथा ब्याजदर क्रमिकरूपमा घट्नुको कारण ब्याज आय गत आवको तेस्रो त्रैमासिकसम्मको तुलनामा करीब २ अर्ब ३८ करोड ९७ लाख ९६ हजार रुपैयाँ (अर्थात् ४६.०२ प्रतिशत)ले घटी भएको छ ।
- प्रतिस्पर्धी आईएसपीहरूले मोबिलिटी गरी वाईफाई सेवा दिइरहेकोले मोबाइलको डाटा प्रयोगमा उल्लेखनीय कमी भएको छ ।
- राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको छ ।
- सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकुल असर परेको छ।
- कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा यस आवमा १३ अर्ब १५ करोड रुपैयाँ डिफाइन बेनेफिट एसेट्समा थप रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको छ।
- कम्पनीले गत वर्षसम्म कन्टिनजेन्ट लाइबिलिटीमा देखाएको केही मुद्दाहरूको यस आवमा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आवमा व्यवस्था गरिएको छ।