काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले ४ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा कमाएका छन् । १४ जीवन बीमा कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरुको यस वर्षको तेस्रो त्रैमाससम्मको खुद नाफा गतवर्षको सोही अवधिको तुलनामा ११ दशमलव ९३ प्रतिशतले बढी हो ।
गतवर्ष तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुको खुद नाफा ४ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी थियो । गतवर्षको तुलनामा यस वर्ष १४ जीवन बीमा कम्पनीमध्ये २ ओटाको मात्र खुद नाफामा कमी आएको छ । बाँकी १२ कम्पनीको खुद नाफा बढाएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीले यस वर्ष पोहोरको तुलनामा ३७ दशमलव १० प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सले ३३ दशमलव ३६ प्रतिशत कम खुद नाफा कमाएका छन् ।
सबैभन्दा बढी प्रतिशत खुद नाफा घटेको राष्ट्रिय जीवन बीमा कम्पनीले गतवर्ष २ करोड ४५ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेकोमा यस वर्ष त्यस्तो रकम १ करोड ५४ लाख रुपैयाँभन्दा बढी मात्र छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीले कम आम्दानी गरेकाले नाफामा असर परेको हो ।
गतवर्ष तेस्रो त्रैमाससम्म १२ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल आम्दानी यस वर्ष घटेर ११ अर्ब ३९ करोड रुपैयाँभन्दा केही बढीमा सीमित भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन भने बढेको छ । गतवर्ष ७ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष बढेर ७ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ । जीवन बीमा कम्पनीमध्ये यसले मात्र सर्वसाधारणमा शेयर निष्कासन गर्न बाँकी छ । सर्वसाधारणमा शेयर निष्कासन गर्ने योजनासहित अघि बढेको कम्पनीले वित्तीय रूपमा बलियो भएर अघि आउने गरी काम गरिरहेको दाबी गरेको छ । कम्पनीका वित्त विभाग प्रमुख रेशम पौडेलले यस वर्ष कम्पनीले गरेको लगानीको प्रतिफल कम प्राप्त भएकाले नाफा कम भएको बताए । अर्थतन्त्र सुस्त हुनु र वित्तीय प्रणालीमा ब्याजदर घटेको कारण यस वर्ष कम्पनीको आम्दानी प्रभावित बनेको पौडेलले बताए । आफ्नो कम्पनीको ८० प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानीमा रहेको र त्यसबाट पाउने प्रतिफल यस वर्ष कम भएको उनको भनाइ छ ।
अर्थतन्त्र सुधारको अवस्थामा रहेकाले आगामी दिनमा कम्पनी वित्तीय रुपमा सबल बन्ने उनको अपेक्षा छ । विगत धेरै वर्षदेखिको वार्षिक लेखापरीक्षण बाँकी राखेको कम्पनीले आव २०७४/७५ सम्मको लेखापरीक्षण सम्पन्न गरिसकेको र आव २०७५/७६ को आगामी १ साताभित्र सक्ने जानकारीसमेत उनले दिए ।
गतवर्षको तुलनामा यस वर्ष एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी खुद नाफा बढाएको छ । गतवर्षको तुलनामा एशियन लाइफले यसपालि ५९ दशमलव ५१ प्रतिशतले खुद नाफा बढाएको हो । गतवर्षको तेस्रो त्रैमाससम्म २० करोड ९८ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको यो कम्पनीले यसपालि उक्त रकम बढाएर ३३ करोड ४७ लाख रुपैयाँ नघाएको छ ।
गतवर्ष ८ अर्ब ६० करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष उक्त शीर्षकको रकम ९ अर्ब २३ करोड रुपैयाँ नघाएको छ । आम्दानी बढेकाले कम्पनीको खुद नाफा बढेको हो । रकमका हिसाबमा भने नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक खुद नाफा कमाएको छ । नेपाल लाइफ इन्स्योरेन्सले चालू आवको तेस्रो त्रैमाससम्म ६५ करोड २२ लाख रुपैयाँभन्दा धेरै खुद नाफा कमाएको हो । गतवर्षको तुलनामा कम्पनीले ८ दशमलव ६४ प्रतिशतले खुद नाफा बढाएको हो । गतवर्ष यस अवधिसम्म कम्पनीले ६० करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो ।