काठमाडौं । चालू आर्थिक वर्ष (आव)को १० महीनामा विदेशी लगानीकर्ताले नेपालमा ५७ अर्ब ६ करोड ७६ लाख रूपैयाँ बराबर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योग विभागले गत साउनदेखि वैशाखसम्म उक्त लगानीका ५७६ ओटा परियोजना स्वीकृत गरेको छ ।
चालू आव २०८१/८२ को वैशाखसम्ममा विभागले म्यानुअल र स्वचालित मार्गबाट उक्त रकम र संख्याका परियोजना स्वीकृत गरेको हो । विभागका अनुसार वैशाखमा ९७ ओटा परियोजना स्वीकृत भएका छन् । ती परियोजनामा ९ अर्ब ९ करोड २२ लाख रूपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । त्यसमा स्वचालित मार्गबाट ५८ र म्यानुअल प्रणालीबाट ३९ परियोजना स्वीकृत गरेको विभागले जानकारी दिएको छ ।
स्वचालित मार्गबाट स्वीकृत हुने परियोजना संख्या धेरै भए पनि रकम भने म्यानुअल प्रणालीबाट स्वीकृत परियोजनाको धेरै छ । साविकको प्रणालीबाट ८ अर्ब ६२ करोड २५ लाख रूपैयाँ बराबर विदेशी लगानी प्रतिबद्धताका ३९ परियोजना स्वीकृत भएका छन् ।
फागुनपछि भने विदेशी लगानी प्रतिबद्धतामा कमी आएको विभागका निर्देशक प्रशान्त बोहराले जानकारी दिए । फागुनमा विदेशी लगानी प्रतिबद्धता रकम र संख्यामा उल्लेख्य वृद्धि भए पनि चैत र वैशाखमा त्यो अवस्था कायम रहन नसकेको उनको भनाइ छ ।
विभागका अनुसार गत फागुनमा स्वचालित र म्यानुअल प्रणालीबाट १७ अर्ब ७९ करोड ८६ लाख रूपैयाँ बराबर लगानी प्रतिबद्धताका ४० परियोजना स्वीकृत गरिएको थियो । वैशाखमा स्वीकृत हुने परियोजना संख्या धेरै भए पनि प्रतिबद्धता रकम झन्डै आधा घटेको देखिएको छ ।
यो वर्ष पनि लगानीकर्ताको रूचि सेवा, पर्यटन र सूचना प्रविधिमै बढी देखिएको छ । फलस्वरुप यी क्षेत्रका उद्योगमा आउने परियोजना संख्या र लगानी रकम दुवै बढी छ । विभागका अनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक उद्योगमा आएको छ । सेवामूलकको संख्या भने पर्यटन र सूचना तथा प्रविधिमूलक परियोजनाको भन्दा कम छ ।
विभागले चालू आवको हालसम्ममा सेवामूलकतर्फका ६६ परियोजना स्वीकृत गरेको छ । त्यसमा २९ अर्ब ९८ करोड रूपैयाँ लगानी गर्ने प्रतिबद्धता सम्बद्ध व्यवसायीले व्यक्त गरेका छन् । यी ३ क्षेत्रपछि लगानीकर्ताको रोजाइमा उत्पादनमूलक उद्योग परेका छन् । सधैं जस्तो विभागमार्फत आउने लगानी साना खाले उद्योगका परियोजनामा बढी केन्द्रित देखिएको छ ।
उद्योग विभागले लगानी हुने रकमका आधारमा साना, मझौला र ठूला परियोजना छुट्ट्याउने गरेको छ । यो १० महीनामा विभागले ५६२ साना, १० मझौला र ४ ठूला लगानीका परियोजना स्वीकृत गरेको छ ।