काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले गरेको लगानीको नियमनमा कडाइ गर्ने भएको छ । कम्पनीहरूको लगानी वृद्धिसँगै जोखिमसमेत बढ्न थालेपछि प्राधिकरणले नियमनमा कडाइ गर्न लागेको हो ।
प्राधिकरणका अध्यक्ष शरद ओझा बीमा कम्पनीहरूले मुद्दती निक्षेप, ऋणपत्र र सूचीकृत कम्पनीको शेयरमा गरेको बाहेकका लगानी गर्न पूर्वस्वीकृत लिनुपर्ने व्यवस्था भए पनि भइसकेको लगानीमा पनि नियमन जरुरी देखिएको बताउँछन् । ‘बीमा कम्पनीहरूले सर्वसाधारणको रकम परिचालन गर्ने हो, त्यसैले उनीहरूको लगानी पनि सुरक्षित हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि प्राधिकरणको क्षमता बढाएर नियमनलाई बलियो बनाउँदै छौं ।’
तत्कालीन बीमा समितिले २०७५ मा लगानी निर्देशिका संशोधन गर्दै कम्पनीहरूलाई मुद्दती निक्षेप र शेयर लगानीका अतिरिक्त घरजग्गा व्यवसायसँगै कृषि उत्पादन तथा वितरण, शीतभण्डार गृह, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जा, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा र स्वास्थ्यक्षेत्रमा लगानी गर्न खुला गरेको थियो । त्यसपछि कम्पनीहरूले पनि आफ्नो लगानी विविधीकरण गर्न थालेका छन् ।
निर्देशिकाअनुसार कम्पनीहरूले आफ्नो कुल टेक्निकल रिजर्भको वाणिज्य बैंकमा न्यूनतम ४० प्रतिशत, पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, विकास बैंकमा बढीमा २० र फाइनान्स कम्पनीमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । सरकारको बचतपत्र र ऋणपत्रमा ५ प्रतिशतसम्म, पूर्वाधार बैंकको मुद्दतीमा ४० प्रतिशतसम्म, घरजग्गा व्यवसायमा ५ प्रतिशतसम्म, सूचीकृत कम्पनीको साधारण शेयरमा १० प्रतिशतसम्म र अग्राधिकार शेयरमा २० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । यस्तै सूचीकृत कम्पनीका ऋणपत्रमा २० प्रतिशतसम्म, कृषि पर्यटन जलस्रोतलगायत पूर्वाधारमा २० प्रतिशतसम्म, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
कम्पनीहरूले पर्यटन तथा वायुसेवा क्षेत्रमा लगानी गर्न ड्यु डेलिजेन्स र सम्भाव्यता अध्यययन प्रतिवेदन, कृषिक्षेत्रका लागि ड्यु डेलिजेन्स, केबलकारका लागि १० वर्षको व्यावसायिक परियोजना र घरजग्गा क्षेत्रमा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान छ । यी क्षेत्रमा प्राधिकरणको स्वीकृतिपछि मात्र कम्पनीहरूले लगानी गर्न पाउँछन् । कम्पनीको लगानी दायरा विस्तारसँगै यसको जोखिमबारे नियमन जरुरी भएको प्राधिकरणको भनाइ छ ।
चालू आर्थिक वर्ष (आव)को पुससम्ममा जीवन बीमा कम्पनीहरूले ७ खर्ब ३ अर्ब ३४ करोड ४५ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ६७ अर्ब ७४ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये ६० प्रतिशतभन्दा बढी लगानी बैंक, वित्तीय संस्थाको मुद्दती निक्षेपमा छ । जीवन बीमा कम्पनीहरूले ५ खर्ब ६ अर्ब रुपैयाँ वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको मुद्दतीमा राखेका छन् । यस्तै निर्जीवन बीमा कम्पनीहरूको भने यसमा ४६ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । निर्देशिकामा कम्पनीहरूलाई घरजग्गामा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने भए पनि यसमा लगानी गर्न कम्पनीहरूले चासो देखाएका छैनन् ।