काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ ५ गते बुक क्लोज गरिसकेको कम्पनीले बिहीवार निष्कासन मिति तय गरेको हो । बुक क्लोजको आधारमा जेठ ४ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम १ कित्ता शेयर हुने शेयरधनीहरुले नयाँ १ कित्ता खरीद गर्न पाउने गरी हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको आधारमा सोही रकम बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रविन्धकसँगै नबिल बैंकको छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट समेत आवेदन दिन सकिनेछ । मेरो शेयर अनलाईन समेत कम्पनीको हकप्रद शेयर आवेदनका लागि खुला हुनेछ ।
कम्पनीले हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले हकप्रद शेयरवापत् संकलित रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको ऋणको आंशिक भुक्तानीका लागि प्रयोग गर्ने बताएको छ ।