मङ्सिर २१, भैरहवा । विश्वको सबैभन्दा ठूलो, उड्न नसक्ने पक्षी अष्ट्रिजको अण्डामा कला भरेर आकर्षक बल्ब बनाउन सकिने भएको छ । अष्ट्रिजको खाली अण्डालाई विभिन्न आकारमा रङ भरेपछि बजारमा एउटा बल्बको मूल्य रू. १० हजारसम्म पर्ने गरेको अष्ट्रिज नेपालका प्रबन्धक सीपी शर्माले जानकारी दिए ।
लुम्बिनीको बृहत्तर विकास राष्ट्रिय समृद्धिको आधार भन्ने मूल नाराका साथ बिहीवारदेखि भैरहवामा शुरू भएको पश्चिमाञ्चल क्षेत्रीय मेला, औद्योगिक व्यापार तथा लुम्बिनी पर्यटन महोत्सवमा आकर्षक अण्डाका बल्ब प्रदर्शनीमा राखिएका छन् ।
पछिल्लो समयमा युवा वर्गका लागि रोजगारीको नयाँ अवसरका रूपमा त्यस्त बल्बले सम्भावना बढाएको शर्माको भनाइ छ । नेपालका विभिन्न ठाउँमा सञ्चालन भएका व्यापार मेलामा प्रदर्शनमा राखिएका बल्ब दर्शकको आकर्षणको केन्द्र पनि बन्दै आएको उनले दाबी गरे । ‘कलाका शौखिनका लागि यो सङ्ग्रहणीय वस्तु सावित भएको छ,’ उनले भने, ‘घर सजावटका लागि विस्तारै यसको माग हुन थालेको छ ।
अष्ट्रिज प्रालिले नेपालमा सबैभन्दा पहिला रूपन्देहीको मधवलियामा फर्म सञ्चालन गरेको थियो । ६ वर्षअघि शुरू भएको अष्ट्रिज फर्म अहिले पश्चिम नेपालका विभिन्न स्थानमा समेत विस्तार गरिएको शर्माले बताए । यस्तै, अष्ट्रिजको प्वाखबाट कपडा बनाउन सकिने र छालाबाट जुत्ता, ज्याकेटलगायत सामग्री निर्माण हुने शर्मा बताउँछन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.