काठमाडौं । नेपालका अतिथि सत्कार सेवामा संलग्न प्रतिष्ठानहरूले १ लाखभन्दा बढी प्रत्यक्ष तलबी रोजगारी सृजना गरेको ताजा सर्वेक्षणले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको सर्वेक्षणअनुसार मुलुकमा रहेका तारे होटेल, गैरतारे होटेल, रिसोर्ट, लज, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्रावास/होस्टेल र भोजन सेवा प्रदान गर्ने सबै प्रकारका रेस्टुराँ तथा क्याटरिङ/पार्टी प्यालेशहरूले १ लाख ६ हजार ४५९ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनीहरूको तलब, ज्याला र सुविधामा यी प्रतिष्ठानले वार्षिक २० अर्ब ६१ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेको सर्वेक्षणमा उल्लेख छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार ‘राष्ट्रिय होटेल तथा रेस्टुराँ सर्वेक्षण–२०८०’ सार्वजनिक गरेको हो । तत्कालीन केन्द्रीय तथ्यांक विभागले यसअघि ‘होटेल तथा लज सर्वेक्षण–२०६०’ सार्वजनिक गरेको थियो । कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले २०६० को भन्दा अहिलेको सर्वेक्षण प्रदेश तहसम्म पुगेर गरिएको र यसले अतिथि सत्कारका सेवाप्रदायक सबैलाई समेटेको जानकारी दिए ।
कार्यालयका निर्देशक राजेश धितालका अनुसार २०७९ साउनदेखि २०८० असारसम्मको अवधिमा सर्वेक्षण गरिएको थियो । ‘सर्वेक्षण पूर्ण गणना र नमूना छनोट विधिबाट गरिएको थियो । राष्ट्रिय आर्थिक गणना–२०७५ लाई पनि सर्वेक्षणको आधार मानिएको छ,’ उनले भने ।
नयाँ सर्वेक्षणअनुसार मुलुकमा अतिथि सत्कार (आवास तथा भोजन) सेवाप्रदायक प्रतिष्ठानको संख्या १ लाख ४२ हजार २२३ छ । यसमा ३ लाख ८७ हजार ७४७ व्यक्ति प्रत्यक्ष संलग्न छन्, जसमा सक्रिय रूपमा कार्यरत व्यवसायी तथा साझेदार, बेतलबी परिवारका सदस्य र तलबी रोजगार पाउने व्यक्ति छन् ।
सर्वेक्षणअनुसार यी प्रतिष्ठानले मुलुकको अर्थतन्त्रमा १ खर्ब ९ अर्ब २७ करोड १ लाख रुपैयाँ बराबरको मूल्य अभिवृद्धि गरेका छन् । निर्देशक धितालका अनुसार १ रुपैयाँ पूँजी खर्च गर्दा २० पैसा मूल्य अभिवृद्धि हुने गरेको छ ।
२०८० असारसम्ममा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ मूल्य बराबरको रकम लगानी गरेका छन् । उक्त लगानीबाट ३ खर्ब २६ अर्ब १ करोड ४ लाख रुपैयाँ मूल्य बराबरको सेवा उत्पादन गरेका छन् । यस्तै आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूमा करीब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ ।
यस्ता प्रतिष्ठानमध्ये २८ दशमलव ४ प्रतिशतले वित्तीय संस्थासँग ऋण लिएको र ७१ दशमलव ६ को ऋण नभएको/नलिएको देखिएको छ ।
होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले पहिलोपटक आधिकारिक तथ्यांक यो क्षेत्रले पाएको बताए । ‘हामीले बताउँदै आएको तथ्यांक छ,’ शाहले भने, ‘यद्यपि कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रले पुर्याएको योगदान भने निकै कम गणना हुँदै आएको छ, अब यो तथ्यांकले बढाउने/घटाउने गर्ला ।’
यस्तै उनले बुधवार सार्वजनिक सर्वेक्षणमा समेटिएको स्थायी सम्पत्तिको आँकडाले वास्तविकता नदेखाएको दाबी गरे । पहिलाको सम्पत्तिलाई हेरेर नहुने भन्दै उनले अहिलेको बजार भाउअनुसार जग्गा तथा होटेलहरूको मूल्य गणना गरिनुपर्नेमा जोड दिए ।
५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाखको सम्पत्ति अहिलेको मूल्यअनुसार तीन गुणा रहेको उनको भनाइ छ । अहिलेको सर्वेक्षणले मुलुकमा भएका यस्ता प्रतिष्ठानले सेवा दिने क्षमता राख्ने देखाए पनि माग नै नभएको पुष्टि गरेको उनले बताए । सन् २०२४ मा सन् २०१९ अनुसारकै पर्यटक आउन थाल्दा सकारात्मक अवस्था देखिएको भन्दै क्षमता हुँदाहुँदै पनि सेवा दिन नसकिएको उनले बताए । सर्वेक्षणअनुसार मुलुकमा सञ्चालनमा रहेका तारे, गैरतारे, रिसोर्ट, होमस्टेजस्ता आवासमा १ लाख १६ हजार १०० कोठा छन् ।
कोठा संख्या तारे होटेलमा ८ हजार ४९६ र गैरतारे होटेलमा १ लाख ७५ छ । सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले पर्यटकको संख्यादेखि यस क्षेत्रमा होटेल तथा अन्य सेवा दिने सेवाप्रदायक प्रतिष्ठानको संख्या बढे पनि कुल गार्हस्थ्य उत्पादनमा योगदान बढ्न नसक्नुको कारण खोजिनुपर्ने बताए ।