काठमाडौं । कम्प्युटर, स्मार्टफोनलगायत अत्याधुनिक उपकरण ह्याक हुने गरेको हाम्रा लागि नौलो होइन । तर, अब कार पनि ह्याक हुन सक्ने विषयले संसारभर ठूलै चर्चा पाएको छ । एक प्रमुख सेक्युरिटी कम्पनीले कारको इन्फोटेन्मेण्ट प्रणालीको माध्यमबाट कारलाई ह्याक गर्न सकिने दाबी गरेको छ । चार्ली मिलर र क्रिस ब्लासेक दुई प्रख्यात साइबर सेक्युरिटी विशेषज्ञले इण्टरनेट जडिट कारको इञ्जिन अन अफ गर्नेदेखि कारको म्युजिक सिष्टम, एसीलगायतमा समेत नियन्त्रण गर्न सक्ने दाबी गरेका छन् । यसलगत्तै हाइटेक इण्टरनेट कनेक्टेड कारको सुरक्षाको विषयममा चर्को बहस हुन थालेको छ ।
अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सीको पूर्व ह्याकर मिलर र आईओ एक्टिभका रिसर्चर ब्लासेकले फिएट क्रिस्लरको टेलिमेटिक्स प्रणाली प्रयोग गरी हाइवेमा चलिरहेको एउटा कार पूरै आफ्नो नियन्त्रणमा लिएर सोको प्रमाणित गरेका छन् । प्रमाणका लागि यसलाई भिडियो बनाएर यूट्युबलगायत विभिन्न वेबसाइटमा सार्वजनिक समेत गरिएको छ । भिडियो निर्माणका क्रममा तिनले कार ह्याक गरिरहेको समयमा प्राविधिक समाचार सम्प्रेषण गर्ने वायर्ड डटकमका एक रिपोर्टरले कार चलाइरहेका थिए ।
के छ भिडियोमा ?
कार ह्याकिङ परीक्षणका लागि निर्मित जारी भिडियोमा सुरक्षा विशेषज्ञले जीप चेरोकीको रेडियो अन गर्छन् । एसीले फाल्ने हावा पनि उनले नियन्त्रण गर्छन् । साथै, तिनले कारमा रहेका केही विशेष फिचरमाथि आफ्नो नियन्त्रण प्रमाणित गरेर देखाउँछन् । घरमा बसेर इण्टरनेको माध्यमबाटै तिनले हाइवेमा चलिरहेको कारको इन्फोटेन्मेण्ट सिष्टम हार्डवेयरको इम्बेडेड कोडमाथि समेत नियन्त्रण गर्न सफल हुन्छन् । यसको माध्यमबाट तिनले कारको स्टेरिङ, बे्रक, इञ्जिनलगायत आफ्नो कब्जामा लिएर देखाउँछन् ।
मिलरका अनुसार बजारमा उपलब्ध धेरै कारमा रहेको इन्फोटेन्मेण्टका माध्यमबाट तिनलाई ह्याक गरी नियन्त्रणमा लिन सकिन्छ । यसर्थ, तिनको सुरक्षा निकै संवेदनशील रहेको उनले बताएका छन् । यही क्रममा फियाट क्रिस्लर कारका निर्माता कम्पनीले आफ्नो सफ्टवेयरमा रहेको कमीकमजोरी सच्याउन पहिले नै आवश्यक कदम उठाइएको जानकारी दिएको छ । कम्पनीले नयाँ अपडेटेड सफ्टवेयर प्याच कम्पनीको वेबसाइट तथा डिलरशिप शपमा निःशुल्क उपलब्ध रहेको बताएको छ । ‘स्मार्टफोन वा ट्याब्लेटमा जस्तै सेक्युरिटी प्रोटेक्शनका लागि गाडीको सफ्टवेयरमा समयसापेक्ष अपडेट हुनु आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, ‘यी अपडेटका माध्यमबाट ह्वील सफ्टवेयर प्रणाली थप सुरक्षित बनाउन सकिन्छ ।’
मिलर र ब्लासेक निकै लामो समयदेखि कार सुरक्षा सम्बन्धित क्षेत्रमा सक्रिय रूपमा कार्यरत छन् । दुवैले स्मार्ट प्रणाली आएदेखि नै हाइटेक कारको रिमोट ह्याकिङको सम्भावना बढ्दै गएको बताएका छन् । रिमोट ह्याकिङ भन्नाले कारभन्दा निकै टाढा रहेको अवस्थामा समेत दोस्रो व्यक्तिले कारसम्म नियन्त्रण बनाउने कार्य बुझिन्छ ।
पहिले पनि दाबी गरिएको थियो
मिलर र ब्लासेकले भन्दा पहिले पनि एक रिसर्च समूहले टाढैबाट एउटा कार आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका थिए । तर, उक्त समूहले ह्याकिङ गरिएको कार र तिनले अपनाएको तरीकाबारे कुनै जानकारी भने गराएका थिएनन् ।
मिलर र ब्लासेकले फियाटसँग पछिल्लो वर्षको अक्टोबर महीनादेखि काम गरिरहेका छन् । तिनले कम्पनीलाई आफै अन भएका फिचर डिसेबल गर्न सक्ने प्रविधिको निर्माण गर्न सुझाव दिएका थिए ।
(एजेन्सीको सहयोगमा)