काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको एक महीनापछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारणमा गत वैशाख ११ गते आईपीओ बाँडफाँट गरेको थियो । कम्पनीले सर्वसाधारणतर्फको १६ लाख कित्ता र संस्थापकतर्फको ६४ लाख कित्ता शेयरसमेत कुल ८० लाख कित्ता शेयर जेठ १२ गते नेप्सेमा सूचीकृत गराएको हो ।
पीयूआरई स्टक संकेतबाट कम्पनीको शेयर सूचीकृत भएको हो । मंगलवारदेखि संस्थापक र सर्वसाधारणतर्फको शेयर आयोजना प्रभावित स्थानीय, कर्मचारी र सामूहिक लगानी कोषबाहेकका शेयर कारोबारयोग्य हुनेछ ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयरमध्ये आयोजना प्रभावित स्थानीयतर्फ १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता र सामूहिक लगानीकोषका लागि ७२ हजार कित्ता रहेको छ ।
सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महीनासम्म र संस्थापक, स्थानीयसँगै कर्मचारीको स्वामित्वमा रहेको शेयर तीन वर्षसम्म 'लक-इन'मा रहनेछ ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता ९६ रुपैयाँ ४५ पैसादेखि अधिकतम प्रतिकित्ता २८९ रुपैयाँ ३५ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । नेप्सेले तोकेको खुला मूल्यका आधारमा मंगलवार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएपश्चात नियमित सेसनमा कारोबार शुरु हुनेछ ।