काठमाडौं । धितोपत्रको दोस्रो बजारमा ऋणपत्रको कारोबार विगत ३ वर्षमा बढ्दो क्रममा रहेको देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीनाको तुलनामा चालू आवको सोही अवधिमा ऋणपत्र कारोबार १५ गुणाभन्दा माथि पुगेको देखिन्छ ।
नेप्सेका अनुसार आव २०७९/८० को ८ महीनासम्म १५ करोड रुपैयाँभन्दा धेरैको ऋणपत्र कारोबार भएकोमा आव २०८१/८२ को सोही अवधिमा २ अर्ब ३० करोड रुपैयाँ नाघेको छ । संख्याको हिसाबले पनि यसबीचमा कारोबार बढेको छ ।
आव २०७९/८० को पहिलो ८ महीनामा १ लाख ७१ हजारभन्दा बढी कित्ता ऋणपत्र कारोबार भएकोमा चालू वर्षमा यो बढेर २१ लाख २८ हजार कित्ता नाघेको छ । आव २०८०/८१ को सोही अवधिमा पनि अघिल्लो वर्षको तुलनामा कारोबार बढेको थियो ।
लगानीकर्ता तिलक कोइरालाले ऋणपत्रमा जोखिम कम रहेकाले आकर्षण बढेको तर अझै धेरै लगानीकर्तामा यसबारे चेतना न्यून रहेको बताए ।
निश्चित अवधि र निश्चित ब्याजदर तोकेर जारी हुने भएकाले शेयरको तुलनामा ऋणपत्र सुरक्षित हुने उनी बताउँछन् । नेपालमा धितोपत्रको दोस्रो बजारमा संस्थागत लगानीकर्ता कम हुनु र व्यक्तिगत लगानीकर्ता कम मूूल्यका शेयरमा आकर्षित हुनुले प्रतिकित्ता १ हजार रुपैयाँको ऋणपत्र कारोबारमा सोचेअनुसार आकर्षण नभएको कोइरालाले बताए । धितोपत्र बजारमा ऋणपत्रको अंश समेत बढ्दै गएको अवस्था छ । हाल विभिन्न बैंक, वित्तीय संस्था र सरकारको गरी ७३ ओटा ऋणपत्र दोस्रो बजारमा सूचीकृत छन् ।
यी बाहेक ९ कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ऋणपत्रको अंश धितोपत्र बजारमा बढ्दै जाँदा सरकारले समेत यसको बजार विस्तारमा चासो दिएको छ । तर, सरकारले सरकारी ऋणपत्र नै कारोबारमा ल्याउन नसकेको अवस्थामा निजीक्षेत्रका कम्पनीहरूले जारी गरेका ऋणपत्रको बजार विस्तार गर्न समेत नसकेको अवस्था छ । बजेटमै ऋणपत्रको बजार विस्तार गर्ने योजना बनाएको सरकारले यसमा खासै चासो नदिएको लगानीकर्ताले गुनासो गरेका छन् ।
‘हाम्रो देशमा ऋणपत्र र म्यचुअुल फन्ड ओझेलमा परेको छ,’ कोइराला भन्छन् । ‘पूँजीबजारको विविधीकरण गर्ने हो भने हाल बैंक तथा वित्तीय संस्थाले मात्र जारी गरिरहेको ऋणपत्र बीमालगायत अन्य क्षेत्रका कम्पनीले पनि जारी गर्नुपर्छ ।’
पछिल्लो समय बैंक, वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाइरहँदा निश्चित अवधिका लागि स्थिर ब्याजदर कायम रहने ऋणपत्र खरीदमा लगानीकर्ताको आकर्षण बढेको नेप्सेका एक उच्च अधिकारीले जानकारी दिए । व्यक्तिगतभन्दा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा ऋणपत्रको कारोबार बढाइरहेको ती अधिकारीले बताए । बैंक, वित्तीय संस्थामा निक्षेपको ब्याजदर कम रहेको अवस्थामा निश्चित अवधिका लागि स्थिर रहने मुद्दती निक्षेपको ब्याजदरभन्दा बढी ब्याजदर ऋणपत्रमा भएकै कारण दोस्रो बजारमा ऋणपत्रको कारोबार बढेको अनुमान ती अधिकारीको छ ।
वाणिज्य बैंकहरूले ४ दशमलव ६२ प्रतिशत, विकास बैंकले ५ दशमलव ४१ प्रतिशत र वित्त कम्पनीहरूले ६ दशमलव ४७ प्रतिशतसम्म निक्षेपको औसत ब्याजदर निर्धारण गरेको अवस्थामा हाल धितोपत्रको दोस्रो बजारमा सूचीकृत ऋणपत्रको ब्याजदर अधिकतम १२ प्रतिशतसम्म छ ।
आइसिएफसि फाइनान्स र गुडविल फाइनान्सले २०८३ सालमा परिपक्व हुने गरी १२ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गरी दोस्रो बजारमा सूचीकृत गराएका छन् । यीबाहेक धेरैजसो कम्पनीको ऋणपत्रको ब्याजदर ८ प्रतिशतभन्दा माथिनै रहेको नेप्सेको तथ्यांकले देखाउँछ ।