काठमाडौ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को साउन सम्ममा बैंक, वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा लगानी करीब २० प्रतिशतले बढाएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लिएको लचिलो नीति र शेयर बजार परिसूचक पनि सकारात्मक भएपछि बैंकहरूको यो शीर्षकको कर्जा बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको साउनसम्ममा बैंक, वित्तीय संस्थाले शेयर धितोमा ९१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो कर्जा १९ दशमलव ६६ प्रतिशतले बढी हो । २०८० साउनमा शेयर धितोमा बैंक, वित्तीय संस्थाको कर्जा ७६ अर्ब ४१ करोड रुपैयाँ थियो ।
वाणिज्य बैंकहरूको मात्र शेयर धितो कर्जा करीब २२ प्रतिशतले बढेको छ । गत आवको साउनसम्ममा वाणिज्य बैंकहरूले ५८ अर्ब ९० करोड रुपैयाँ लगानी गरेकोमा चालू आवको साउन मसान्तमा बढेर ७१ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ असारमा बैंकहरूको शेयर धितो कर्जा ८० अर्ब ५० करोड रुपैयाँ रहेकोमा २०७९ असारमा घटेर ७६ अर्ब ३० करोड रुपैयाँ कायम भएको थियो । चालू आवको असार मसान्तमा भने बढेर ९० अर्ब रुपैयाँ पुगेको थियो ।
बैंकहरूको कर्जा अनुत्पादक क्षेत्रमा लगानी भएको भन्दै राष्ट्र बैंकले तीन वर्षअघि शेयर धितो कर्जामा सीमा तोक्न थालेको थियो । शुरूमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन सक्ने व्यवस्था गरेको राष्ट्र बैंकले त्यसलाई बढाएर गतवर्ष व्यक्तिगत लगानीकर्तालाई १२ करोड र संस्थागत लगानीकर्ताका लागि २० करोड रुपैयाँको सीमा तोकेको थियो । चालू आवको मौद्रिक नीतिबाट संस्थागत लगानीकर्ताका लागि सीमा लागू नहुने व्यवस्था गरेको छ ।
शेयर लगानीकर्ता छोटेलाल रौनियार यति बेला बैंकहरूसँग तरलता बढी रहेको र ब्याज पनि कम भएकाले शेयर धितो कर्जामा लगानी बढाइरहेको बताउँछन् । ‘बैंकहरूमा कर्जाको ब्याजदर पनि एकल अंकमा झरेको छ,’ उनले भने, ‘शेयर लगानीकर्ताले बैंकबाट आफ्नो आवश्यकताअनुसार ऋण पाउने अवस्था छ ।’
असार दोस्रो साता दुई ठूला राजनीतिक दलहरूबीच सत्ता साझेदारीको सम्झौतासँगै शेयरबजार निरन्तर बढेको थियो । यससँगै लगानीकर्ताले बैंक, वित्तीय संस्थाबाट ठूलो मात्रामा ऋण लिएर लगानी बढाएका थिए ।
असार दोस्रो साता २ हजार अंकमा रहेको शेयरबजार परिसूचक नेप्से साउन अन्तिममा बढेर ३ हजार अंकमा पुगेको थियो । भदौबाट भने शेयरबजार पुन: ओरालो लागिरहेको छ । यसैबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुधवार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा पुगेर केही दिनयता बजार घटेकोमा असन्तुष्टि पोखे । प्रतिदिन कारोबार ३० अर्ब रुपैयाँसम्म पुगेकोमा बुधवार ५ अर्ब रुपैयाँभन्दा केही बढीमा सीमित भएको विषयमा उनले प्रश्न गरेका थिए ।
‘केही समयअघि मात्र नेप्से परिसूचक तीन हजार अंकभन्दा माथि र कारोबार रकम ३० अर्ब रुपैयाँ हाराहारी पुगेकोमा अहिले परिसूचक २ हजार ५७० हाराहारी र कारोबार रकम ५/६ अर्बमा खुम्चिएको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौं ।’ वर्तमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पूँजीबजारमा सुधार देखिए पनि अहिले फेरि बजार घट्दै गएकोमा अर्थमन्त्री पौडेलको चासो थियो । ‘स्थिर र बलियो सरकार छ । बैंक वित्तीय संस्थामा ब्याजदर घटेको छ । तर, ३ हजारको बिन्दुसम्म पुगेको बजार टिक्न सकेन । यस्तो किन भइरहेको छ भन्ने जवाफ चाहन्छु,’ उनले भने ।
अर्थमन्त्री पौडेलले पूँजी बजारलाई दिगो, विश्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन पनि निर्देशन दिएको रासस प्रेषित समाचारमा उल्लेख छ । पूँजीबजारमा हुने इन्साइडर ट्रेडिङजस्ता अवाञ्छित गतिविधि रोक्न चनाखो हुन पनि अर्थमन्त्री पौडेलले नेप्सेलाई निर्देशन दिएका थिए ।
अर्थमन्त्री पौडेलसँगै अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरे, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यलगायतको टोली नेप्सेको कार्यालय पुगेको थियो । पूँजीबजारको विद्यमान अवस्थाको जानकारी, नेप्सेले गरिरहेका काम कारबाही तथा सुधारका लागि थाल्नुपर्ने पहलका विषयमा कर्मचारीसँग छलफलपछि राजस्व सचिव घिमिरेले पूँजीबजार सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । नेप्सेको आन्तरिक संरचनामा सुधार, दक्ष कर्मचारी व्यवस्थापनलगायत काममा प्राथमिकतामा रहने उनको भनाइ छ ।