दोलखा (अस) देशव्यापी लकडाउन (बन्दाबन्दी) हुँदाहुँदै पनि दोलखाको बैतेश्वर गाउँपालिका मिर्गेका किसानले साढे ४ लाख रुपैयाँको लसुन विक्री गरेका छन् । लकडाउनका कारण देशभरका तरकारी उत्पादक किसानले घाटा व्यहोरिरहेका बेला बैत्यश्वर गाउँपालिका–३, मजुवा टोलका लसुन उत्पादक किसानहरूले भने अघिल्लो वर्षको भन्दा करीब ५८ प्रतिशत बढी मूल्य लिएर ३ हजार ५०० केजी लसुन विक्री गरेका छन् ।
अघिल्लो वर्ष प्रतिकेजी रू. ७० मा विक्री भएको लसुन लकडाउनका कारण यसपटक प्रतिकेजी रू. १२० रूपैयाँमा विक्री गरेको किसानहरूले बताएका छन् । मजुवाका लसुन उत्पादक किसान इन्द्रबहादुर खड्काले यसपाली राम्रो मूल्य लिएर लसुन विक्री गर्न पाएकोमा खुशी व्यक्त गरे । काठमाडौंको कालिमाटी तरकारी बजारमा सुकेको लसुन प्रतिकेजी रू. २५० भए पनि आफूहरूले आलै लसुनको राम्रो मूल्य पाएको उनको भनाइ छ । यो वर्ष ९२१ केजी लसुन विक्री गरी आफूले रू. १ लाख १० हजार आम्दानी गरेको खड्काले बताए ।
मजुवा टोल वरिपरीबाट लसुन ठेकेदारले यो वर्ष साढे ३ टन लसुन खरीद गरेको उनको भनाइ छ । मजुवाकै अर्का किसान राजकुमार दाहालले लकडाउन भएपनि प्रति केजी रू. १२० को दरले ३५० केजी लसुन विक्री गरेको बताए । लकडाउन कै कारण यसपटक लसुनको राम्रो मूल्य पाइएको उनको भनाइ छ ।