काठमाडौं । सरकारले नियन्त्रण गर्ने नीति लिएपछि उत्तरी छिमेकी चीनबाट हुने लसुन आयात गत २ महीनामा निकै तल ओर्लेको छ । भन्सार विभागको तथ्यांकअनुसार मङ्सिरमा १६ हजार ७९८ मेट्रिक टन लसुन चीनबाट आयात भएकोमा फागुनमा यो ३४९ टनमा ओर्लेको छ । माघमा पनि चीनबाट ६१० टन मात्र लसुन आयात भएको थियो ।
चालू आर्थिक वर्ष (आव) को फागुन मसान्तसम्म चीनबाट ६ अर्ब ३० करोड रुपैयाँको लसुन आयात भएकोमा फागुनमा मात्रै ४ करोड ५९ लाख रुपैयाँ बराबरको मात्र आयात भयो । चीनसँगका मुख्य नाकाहरूबाट लसुन आयात लगभग ठप्प छ । ‘माघ शुरूदेखि तातोपानी नाकाबाट लसुन आयात भएको छैन,’ तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले आर्थिक अभियानसँग भने । ‘त्यसअघि ठूलो परिमाणमा आयात हुने गथ्र्यो ।’
चीनबाट अस्वाभाविक रूपमा लसुन आयात भएको भन्दै सरकारले भन्सार बिन्दुहरूमा कडाइ गरेको थियो । नाटकीय रूपमा ठूलो परिमाणमा आयात गरिएको लसुन भारततर्फ तस्करी भएको सरकारी अध्ययनले पुष्टि गरेको छ । भारतमा लसुनको भाउ आकाशिएका बेला चीनबाट आयात गरेर भारत तस्करी गरिएको संकेत देखिन्छ । नेपालबाट औपचारिक रूपमा भारतमा लसुन निर्यात भएको खासै पाइँदैन र आयात भएको परिमाणको लसुन स्वदेशमा खपत हुने अवस्था पनि छैन ।
भारतमा लसुन उत्पादन हुने मुख्य राज्यहरू गुजरात, राजस्थान, मध्यप्रदेश र पञ्जाबका किसानले विगत वर्षहरूमा लसुनको उचित मूल्य नपाएको भन्दै अन्य उत्पादनमा हात हालेपछि उत्पादनमा असर परेको हो । यसबाहेक भारतमा सुक्खा लागेर लसुन रोप्ने र बाली भित्त्याउने चक्रमा असर गरेकाले पनि गत सिजनमा उत्पादन प्रभावित भयो ।
यसले गर्दा गत डिसेम्बरमा लसुनको भाउ प्रतिकिलो ५०० भारतीय रुपैयाँसम्म पुगेको थियो । त्यसैले भारतले अफगानिस्तानबाट पनि लसुन आयात गरेको थियो । अहिले भने भारतकै नयाँ उत्पादन बजारमा आएपछि त्यहाँ लसुनको भाउ निकै घटिसकेको छ ।
भारतमा तस्करी गर्ने हेतुले लसुन आयात गरिएको भन्दै सरकाले चीनबाट यसको आयातमा कडाइ गरेको हो । गत माघको अन्तिमतिर विराटनगरमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयले चीनबाट समुद्री मार्ग हुँदै ल्याइएको २९ मेट्रिक टन लसुन रोेकेको थियो । विराटनगरको गोयल इन्टरप्राइजेजले मगाएको ३७ लाख ८५ हजार १३० रुपैयाँ मूल्यको लसुनलाई क्वारेन्टाइनले प्रवेश अनुमति दिएको थिएन । नेपालमा लसुनको उत्पादन सीमित छ, जुन देशभित्रै खपत हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
मन्त्रालयका अनुसार नेपालमा आव २०७९/८० मा ९ हजार ५७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएकामा ७३ हजार ५६७ टन उत्पादन भएको तथ्यांक छ ।
आव २०७८/७९ मा नेपालले ९ हजार ९४३ हेक्टर क्षेत्रफलमा खेती गरेकामा ७४ हजार ७६३ टन लसुन उत्पादन भएको देखिन्छ । आव २०७७/७८ मा ९ हजार ७८४ हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएकामा ७२ हजार ४९० टन उत्पादन भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका एक अधिकारीले केही महीनाअघि चीनबाट अस्वाभाविक लसुन आएको जानकारीपछि अध्ययन गरिएको बताएका छन् । केन्द्रका निमित्त प्रमुख प्रकाश पौडेलका अनुसार अध्ययनपछि हालैमात्र चीनबाट नेपालमा लसुन आयात गर्न नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेपाल नेशनल सिंगल विन्डो) मा प्राप्त भएका ‘इन्ट्री परमिट’को अनुरोध स्वीकृत गर्दा आयातकर्ताहरूले पठाएका विवरणहरू नयाँ मापदण्डअनुसार आए/नआएको हेर्न सबै कार्यालयलाई पत्राचार गरिएको छ ।