लसुनको स्वादिलो व्यापार
वीणा श्रेष्ठ
पछिल्ला वर्षनेपालमा लसुनको उत्पादन बढ्दै गएको छ । यसको व्यावसायिक खेती गर्न शुरू गरेपछि उत्पादन बढेको हो । हाल नेपालका करीब १० ओटा जिल्लामा लसुनको व्यावसायिक खेती भइरहेको राष्ट्रिय मसलाबाली कार्यक्रमको तथ्याङ्क छ । यद्यपि, नेपालमा उत्पादन हुने लसुनले ३ महीनाको मागलाई मात्र धान्न सक्ने हरिओम इण्टरप्राइजेजका सञ्चालक हरि कँडेल बताउँछन् । कँडेलले विगत १७ वर्षदेखि कालीमाटीमा लसुन व्यवसाय गरिरहेका छन् ।
नेपालमा खपत हुने ८० प्रतिशत लसुन भारत र चीनबाट आयात हुन्छ । यसमध्ये ७० प्रतिशत लसुन चीनबाट ल्याउने गरिएको व्यवसायीहरू बताउँछन् । चीनबाट ल्याइएका यस्ता लसुनको आकार केही ठूलो, आकर्षक र सस्तो मूल्यमा खरीद गर्न सकिन्छ । त्यसैले, उपभोक्ताको रोजाइमा चिनियाँ लसुन परेको हो । अहिले चीनमा लसुनको उत्पादन बढिरहेको छ । यसले नेपालमा लसुनको उत्पादनलाई प्रत्यक्ष असर पार्न सक्ने कालीमाटी बजारमा लसुनको व्यवसाय गरिरहेका कृष्णहरि महर्जन बताउँछन् । अहिले नेपालको स्थानीय बजारमा लसुनको खरीद मूल्य प्रतिकिलोग्राम औसतमा ७० देखि ७५ रुपैयाँ छ । त्यसैले, नेपाली लसुनलाई बजारमा प्रतिस्पर्धा गर्न समस्या परेको हो । कालीमाटीमा २०६७ सालमा १९ लाख ८६ हजार किलोग्राम लसुन भित्रिएको थियो । यसमध्ये १७ लाख ९१ हजार किलोग्राम चिनियाँ लसुन रहेको व्यवसायी गणेश श्रेष्ठले बताए । श्रेष्ठले विगत २० वर्षदेखि कालीमाटीमा लसुनको व्यवसाय गर्दै आएका छन् ।
चिनियाँ लसुनको मूल्य घट्दै गएका कारण स्थानीय व्यवसायीहरू प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । नेपालमा लसुनखेती हुने जमीनको क्षेत्रफल घट्नुमा चीनमा लसुनको बढी उत्पादन हुनु पनि एक कारण भएको व्यवसायीहरू बताउँछन् । यहाँ आर्थिक वर्ष२०६७/६८ मा ५ हजार ६ सय ६८ हेक्टर जमीनमा लसुनखेती भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै ३ प्रतिशतले कमी हो । आव २०६६/६७ मा ५ हजार ७ सय ७६ हेक्टर जमीनमा लसुनखेती भएको थियो ।
लसुनको व्यावसायिक खेती हुने जमीनको आकारमा कमी आए पनि उत्पादकत्व बढेको छ । आव २०६७/६८ मा ४४ हजार २ सय ३६ मेट्रिक टन लसुन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनमा झण्डै १२ प्रतिशतले बढी हो । आव २०६६/६७ मा ३९ हजार ५ सय ६६ मेट्रिक टन लसुन उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।
नेपालको भू-बनोट लसुन उत्पादनका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् । लसुनखेतीका लागि समुद्री सतहबाट १ हजार ५ सय मिटरसम्म उचाइ भएको मध्यपहाडी भूभाग उपयुक्त हुन्छ । यसबाहेक तराई र भित्री मधेशमा समेत लसुनखेती हुने गरेको छ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, दाङ, सुर्खेत, भक्तपुर, ललितपुर, मकवानपुर, मोरङ, चितवन, पर्सा,सर्लाही , नुवाकोटलगायत जिल्लामा लसुनखेती हुने गरेको छ । लसुनका लागि मध्यम खालको जलवायु उपयुक्त हुने व्यवसायीहरू बताउँछन् । हिउँदमा खेती गरिने लसुन वैशाख र जेठमा अत्यधिक विक्री हुन्छ ।
नेपालमा उत्पादन हुने लसुनले वर्षमा ३ महीनालाई मात्र धान्न सक्ने तरकारी विकास निर्देशनालयका कार्यकारी निर्देशक गोपालप्रसाद श्रेष्ठ बताउँछन् ।
यसलाई तरकारी, औषधि तथा मसलाका रूपमा समेत प्रयोग गर्न सकिन्छ । नेपालमा हालसम्म स्थानीय स्रोतसाधनको प्रयोगबाट लसुन उत्पादन भइरहेको व्यवसायीहरू बताउँछन् । पछिल्ला वर्षकेही निजी संस्थाहरूले लसुन उत्पादनमा चासो देखाए पनि अध्ययनअनुसन्धानको अभावमा निष्किय भएको थापा बताउँछिन् । किसान, व्यवसायी तथा सरकारी निकाय गम्भीर नहुँदा वार्षिक करोडौं रुपैयाँ लसुन खरीदका लागि विदेशिएको छ । नेपालमा आर्थिक वर्ष२०६७/६८ को पहिलो ११ महीनामा १९ करोड ५ लाख ४१ हजार रुपैयाँको लसुन आयात भएको थियो । त्यस्तै, आव २०६६/६७ मा २३ करोड २९ लाख रुपैयाँको लसुन आयात भएको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
भण्डारण स्थलको अभाव
नेपालमा लसुनलाई व्यावसायिक रूपले भण्डारण गर्ने प्रविधिको विकास हुन सकेको छैन । आधुनिक प्रविधिविना लामो समय भण्डारण गर्दा लसुन उम्रिने सम्भावना रहने कँडेलको भनाइ छ । भण्डारण स्थलको समस्याले किसानहरू कममूल्यमा लसुन विक्री गर्न बाध्य हुन् । गाउँघरमा लसुनलाई अझै पनि परम्परागत रूपमा सुकाउने गरिन्छ । उपत्यकाका विभिन्न ठाउँका किसानले अझै पनि लसुनलाई माला बनाई झयालमा झुण्डयाएर राख्ने गर्छन् ।
खेतीमा समस्या
किसानहरू अझैसम्म परम्परागत तरीकाबाट लसुनखेती गरिरहेका छन् । उपयुक्त जमीन तथा हावापानी भए पनि उच्चप्रविधिबाट ठूलो परिमाणमा लसुनखेती हुन सकेको छैन । आधुनिक प्रविधि अपनाउन नसक्दा किसानहरू व्यावसायिक बन्न नसकेको थापाको भनाइ छ । त्यस्तै, लसुन उत्पादन गर्ने किसानलाई सरकारले पनि प्रोत्साहन तथा सहयोग गर्न सकेको छैन । व्यावसायिक लसुनखेतीका लागि सरकारी निकायबाट खासै सहुलियत नपाएको सम्बद्ध व्यवसायीहरू बताउँछन् ।
लसुनखेतीको सम्भावना
नेपाली लसुनको जिन उच्चगुणस्तरको छ । भारतीय तथा चिनियाँ लसुनको तुलनामा स्वदेशी लसुनको स्वाद तथा वासना उच्चगुणस्तरको मानिन्छ । त्यसैले, थाइल्याण्ड र भारतलगायतका एशियन मुलुकमा नेपाली लसुनको माग रहेको छ । तर, नेपालमा पर्याप्त मात्रामा लसुनको उत्पादन हुन सकेको छैन । त्यसैले, निर्यात हुने सम्भावना न्यून रहेको थापाले बताइन् ।
नेपालमा उत्पान हुने लसुनको तथ्याङ्क
आर्थिक वर्ष उत्पादन (मे.ट.मा) क्षेत्रफल हेक्टरमा
०६३/६४ ३०३०७ ४८०६
०६४/६५ ३१४५३ ४९५९
०६५/६६ ५६५५७ ६०७३
०६६/६७ ३९४८३ ५७७६
०६७/६८ ४४२३६ ५६५६
स्रोत : कृषि तथा सहकारी मन्त्रालय र तरकारी विकास निर्देशनालय, खुमलटार
नार्कले लसुनखेतीको अनुसन्धान पुन: थाल्ने
राधा चालिसे
नेपालमा वार्षिक करोडौं रुपैयाँको लसुन आयात हुने गर्छ । करीब ६६ प्रतिशत किसान भएको देशमा लसुनको उत्पादन बढाउन खासै अनुसन्धान भएको छैन । अघिल्लो वर्ष नेपाल कृषि अनुसन्धान परिषद् वागवानी अनुसन्धान महाशाखा (नार्क)बाट यसको अनुसन्धान गर्न बीउको नमूना सङ्कलन कार्य शुरू गरिएको थियो ।
लसुनको व्यावसायिक उत्पादनका लागि यहाँको भू-बनोट र हावापानी उपयुक्त मानिन्छ । तर, यसलाई नगदेबालीका रूपमा व्यावसायिक खेतीका लागि पहल हुन नसकेको नार्कका मुख्य वैज्ञानिक डा कृष्णप्रसाद पौडयालले बताए ।
मसलाका रूपमा प्रयोग हुने लसुनको माग पूरा गर्न र आयात प्रतिस्थापन गर्न स्वदेशमै उत्पादन बढाउनुपर्ने सम्बद्ध विशेषज्ञहरू बताउँछन् । उत्पादनको गुणात्मक र परिमाणात्मक वृद्धिका लागि ५ वर्षअघि पोखराको मालेपाटनमा रहेको अनुसन्धान केन्द्रमा ५५ जिल्लाका १ सय ९८ ठाउँबाट बीउ सङ्कलन गरिएको थियो । यसरी सङ्कलन गरिएको बीउ अनुसन्धान केन्द्रमा अघिल्लो वर्षको आगलागीबाट नष्ट भएको थियो । तर, कागजमा भएको प्रतिवेदनका आधारमा पुन: ती ठाउँका उन्नत बीउका नमूना सङ्कलन कार्य भइरहेको पौडयालले जानकारी दिए । यो कार्य मालेपाटन केन्द्रबाटै अघि बढाउने उनको भनाइ छ । अनुसन्धानको प्रतिवेदन आएर काम शुरू हुन कम्तीमा ३ वर्षलाग्ने पूर्वानुमान छ ।
चालू आर्थिक वर्षमा माग गरेको बजेट प्राप्त भए अनुसन्धान कार्य अघि बढाउने नार्कले जानकारी दिएको छ । नार्कले यस विषयमा अनुसन्धान गर्न करीब ४ लाख रुपैयाँ माग गरेको बताएको छ । लसुन आयात गर्न वार्षिक करोडौं रुपैयाँ विदेशिएको अवस्थामा स्वदेशमै यसको विकास गर्न सरकारी नीति बन्नुपर्ने विज्ञहरू बताउँछन् ।
यहाँका किसानलाई उन्नतजातका बीउको पहिचान गरी वितरण गर्न सके चीनबाट आयात भइरहेको लसुन पहाडी क्षेत्रमा उत्पादन गर्न सकिने व्यवसायीहरूको भनाइ छ । यसका लागि सरकारी नीति तथा कार्यक्रम आवश्यक छ । त्यस्तै, किसानहरूमा इच्छाशक्ति पनि हुनुपर्छ । उदाहरणका लागि 'मिशन प्याज कार्यक्रम'जस्तै यसलाई पनि प्राथमिकता दिनुपर्ने विज्ञहरू बताउँछन् ।
लसुनसम्बन्धी केही जानकारी
लसुनलाई तरकारीका साथै मसलाका रूपमा पनि प्रयोग गरिन्छ । लसुनको गानोमा प्रोटिन, कार्बोहाइडे्रट, इथर तेल, भिटामिन 'ए' र 'सी' तथा टोनसिड पाइन्छ । यसले संयुक्त गानो उत्पादन गर्छ, जसको हरेक पोटीबाट सिङ्गै बिरुवा उम्रिन सक्छ । यसको उत्पत्ति मध्यएशिया वा दक्षिण यूरोप मानिए तापनि यो संसारभर पाइन्छ ।
हावापानी
लसुन १८-२२ डिग्री सेण्टिग्रेडको तापक्रममा हुर्किन्छ । शून्यभन्दा तलको तापक्रममा यो पहेँलिन थाल्छ । लसुनको पहिलो आधा जीवनअवधिमा प्रशस्त पानीको आवश्यकता पर्छ । दोस्रो आधाजीवनमा पानी घटाउँदै लैजानुपर्छ । यसका लागि प्रशस्त प्राङ्गारिक मल भएको खुकुलो माटो हुनुपर्छ ।
लसुन रोपण तथा मलखाद
लसुनका ठूला र मझौला पोटी मात्र रोप्नलायक हुन्छन् । एक रोपनीमा २०-२५ किलो पोटी लाग्छ । लसुन १५ह१० सेमिको फरकमा रोपिन्छ । पोटी ६ दशमलव ८ सेमिको गहिराइमा रोप्नुपर्छ । लसुनखेतीका लागि प्रतिरोपनी एक टन प्राङ्गारिक मल प्रयोग गर्नुपर्छ । आवश्यकताअनुसार रासायनिक मल पनि प्रयोग गर्न सकिन्छ ।
हेरचाह
लसुन रोपेपछि यसका साथसाथै अन्य झारपात पनि बढ्न थाल्दछ । तिनलाई निर्मूल गर्न गोडमेल आवश्यक पर्छ । यसलाई खेती अवधिभर जलवायु र माटोको अवस्था हेरी चार/पाँच पटकसम्म सिँचाइ गर्नुपर्छ ।
लसुन सञ्चय गर्ने स्थानीय विधि
लसुन कार्बोहाइडे्रट, खनिज तथा जीवनरक्षक भिटामिनहरूको स्रोत हो । महत्त्वपूर्ण नगदेबालीका रूपमा नेपालभर लसुनखेती गरिन्छ । वैशाख-जेठमा लसुनको उत्पादन बढी हुने गरेको छ ।
लसुन उत्पादनसम्बन्धी केही जानकारी
व्यावसायिक लसुन उत्पादनका लागि उपयुक्त स्तरको कृषिकर्म अपनाउनुपर्छ ।
लसुन पहाडी क्षेत्रमा (१ हजार ५ सय मिटर उचाइसम्म) भदौको चौथो हप्तादेखि असोजको तेस्रो हप्तासम्म रोपिसक्नुपर्छ । तराई र भित्री मधेशमा लसुन कात्तिकमा रोपिसक्नुपर्छ ।
माटोको तयारी राम्ररी गर्नुपर्छ । जग्गाको रेखाङ्कन पनि राम्रो हुनुपर्छ ।
बेर्ना र पोल्ट्री रोपेको ४०-५० दिनमा गोडमेल गर्नुपर्छ ।
सिफारिशअनुसारको मलखाद हाल्नुपर्छ ।
मौसमको अवस्था हेरी १०-२० पटक सिँचाइ गर्नुपर्छ । तर, गानो उखेल्नु दुई हप्ताअघिदेखि सिँचाइ बन्द गर्नुपर्छ ।
लसुनको गानो परिपक्व भएको पहिचान गर्ने
लसुनको गानो पूर्णरूपमा विकसित हुन तराईमा ६ देखि ७ र पहाडमा ७ देखि ८ महीना लाग्छ । गानोको परिपक्वता जातको स्वभाव र कुन उद्देश्यका लागि खेती गरिएको हो त्यसमा पनि निर्भर गर्छ ।
लसुनमा लाग्ने रोग तथा कीरा
डढुवा रोग
अल्टरनेरिया पोरी भन्ने ढुसीका कारण डढुवा रोग लाग्छ । यो रोग लागेको बोटको पातमा बैजनी रङ भएका साना थोप्ला देखिन्छन् । रोग लागेपछि पात टुक्रिएर लत्रिन्छ । यो रोग माटोबाट बिरुवामा सछ र रोगी बीउ प्रयोगबाट फैलिन्छ ।
रोगको व्यवस्थापन
बालीचक्रको प्रयोग गर्ने
रोगको लक्षण देखापरेमा १०/१० दिनको फरकमा शून्य दशमलव शून्य ३ प्रतिशत ब्लाइटक्स नामको विषादी छर्ने
जग्गामा पानीको उचित निकासको व्यवस्था मिलाउने
डाउनी मिल्ड
यो रोग पेरोनोस्पोरा नामको ढुसीबाट लाग्छ । रोग लागेको बोटको पातमा सेतो तह बस्छ र बोट बढ्दैन । पातको आकार ब्रि्रन्छ र पहेँलो हुन्छ । गानाहरू साना लाग्छन् ।
रोगको व्यवस्थापन
उचित बालीचक्रको प्रयोग गर्ने
रोगको लक्षण देखापरेमा १० दिनको फरकमा दुई प्रतिशत डाइथेन यम(४५ र्छकने
लाइ कीरा
लाइ कीराका बच्चा तथा माउ पातमा बस्छन् र यसको रस चुस्छन् । यसबाट पात सुक्छ । यसको नियन्त्रणका लागि शून्य दशमलव शून्य ५ प्रतिशत मालाथाइन विषादी छर्किनुपर्छ ।
अन्तरवार्ता
'लसुनखेतीका लागि विशेष नीतिको आवश्यकता छ'
डा कृष्णप्रसाद पौडयाल, प्रमुख वैज्ञानिक
नेपाल कृषि अनुसन्धान परिषद्,
वागवानी अनुसन्धान महाशाखा
नेपालमा लसुनखेतीको अवस्था कस्तो छ ?
नेपालका प्राय: हरेक घरमा लसुनको प्रयोग हुन्छ । साथै, अधिकांश जिल्लामा लसुनखेती हुन्छ । यसरी उत्पादित लसुन घरायशी प्रयोजनमा मात्र खपत भइरहेको छ । निर्वाहमुखी रूपमा उत्पादित लसुनले बजारको माग धान्न सक्दैन । यसका लागि व्यावसायिक उत्पादनमा नै ध्यान दिनुपर्छ । तर, अहिलेसम्म कतै पनि लसुनको उल्लेख्य रूपमा व्यावसायिक खेती हुन सकेको छैन । केही किसानले व्यावसायिक खेती गर्ने प्रयास गरेका छन् । तर, सफल हुन सकेका छैनन् । उनीहरूले लसुनमा मात्र सीमित नभई अन्य खेतीलाई पनि अपनाएकाले यस्तो भएको हो । धेरैले करेसाबारीमा व्यक्तिगत प्रयोजनका लागि लसुनखेतीलाई सीमित गरेका छन् । त्यसैले, स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेको हो ।
लसुनको माग निरन्तर बढिरहेको छ, तर पनि नेपालीहरू यसको व्यावसायिक उत्पादनमा ध्यान दिँदैनन् किन ?
लसुन उत्पादनका लागि समय बढी लाग्छ । त्यसैले, यसमा उत्पादन लागत पनि बढी हुन्छ । किसानहरूले छोटो समयमा उत्पादन हुने र छिटो नाफा कमाउन सकिने तरकारी खेतीमा ध्यान दिन्छन् । त्यसैले, नेपालमा प्रशस्त मात्रामा लसुन उत्पादन हुन नसकेको हो । अर्कोतर्फ नेपालमा पकेटक्षेत्रका रूपमा लसुनखेती हुन सकेको छैन । उत्पादित लसुन सङ्कलनका लागि व्यापारीहरूलाई पनि समस्या पर्ने गरेको छ । नेपालमा उत्पादित लसुन सङ्कलनमा समय र खर्च पनि बढी लाग्छ । त्यसैले, व्यवसायीहरू नेपाली उत्पादन खरीद गर्न चाहँदैनन् । यही कारण किसानले थोरै मात्रामा उत्पादन गरेको लसुन पनि विक्री हुन नसक्दा उनीहरूले व्यावसायिक उत्पादनमा ध्यान नदिएका हुन् । आम्दानीको राम्रो सम्भावना हुँदा पनि किसानलाई लसुनखेतीमा आकर्षित गर्न सकिएको छैन । लसुन आयातका लागि नेपालबाट करोडौं रुपैयाँ विदेशिएको छ । यस्तो अवस्थामा सरकारले सहुलियत दिएर किसानलाई लसुनखेतीप्रति आकर्षित गर्नुपर्छ । हावापानी सुहाउँदो जातका लसुनका बीउ सिफारिश गर्न सके धेरै किसानलाई यसको व्यावसायिक खेतीमा आकर्षित गर्न सकिन्छ ।
चीनबाट प्रशस्त मात्रामा लसुन आयात भएको तथ्याङ्क छ, के यो सबै नेपाली बजारमा नै खपत हुन्छ ?
नेपाली बजारको माग चीनबाट आयातित लसुनले नै धानेको छ । चीनबाट आयात गरिएको लसुनलाई 'भोटेलसुन' भनिन्छ । चिनियाँ लसुन आयातको तथ्याङ्क धेरै छ । तर, यो सबै नेपाली बजारका लागि मात्र नुहन पनि सक्छ । खुला सिमानका कारण चोरी बाटो भएर भारत जान पनि सक्छ । यसरी विक्री भएको लसुनको तथ्याङ्क हुँदैन । त्यसैले, आयातको तथ्याङ्क हेर्दा नेपालमा प्रशस्त मात्रामा लसुन उपभोग भएको देखिन्छ । यो वास्तविकता नहुन पनि सक्छ । यसविषयमा सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्छ । अर्कोतर्फकेही मात्रामा भारतबाट पनि लसुन आयात भएको पाइन्छ ।
नेपालमा लसुनखेतीका समस्या केके हुन् ?
लसुनखेतीमा सामान्य रोगको प्रकोपबाहेक खासै समस्या छैन । पूर्वाञ्चलमा पात डढ्नेजस्ता सामान्य रोग देखिएका छन् । तर, त्यसलाई नियन्त्रण गर्ने उपाय अपनाइएको छैन । विदेशबाट आयात भएका लसुनसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरको उत्पादन नभएकाले पनि किसान लसुनखेतीतर्फ आकर्षित हुन नसकेका हुन् ।
नेपालमा लसुनको व्यावसायिक खेती बढाउन के गर्न सकिन्छ ?
नेपालमा लसुनको व्यावसायिक खेती गर्न सरकारले विशेष नीति तयार गर्नुपर्छ । मिशन प्याजजस्तै विशेष प्याकेजका कार्यक्रम बनाएर कार्यान्वयन गर्न सके उत्पादन बढाउन सकिन्छ । यस्ता प्याकेजमा किसानका लागि विशेष सहुलियतको व्यवस्था गरिएको हुन्छ । प्याकेजको नाममा मिशन प्याज कार्यक्रममा जस्तै पैसा बाँड्ने मात्र होइन, व्यवसायका सम्पूर्ण समस्या समाधान गर्न सक्ने प्रभावकारी नीति अहिलेको आवश्यकता हो ।
लसुनखेतीलाई व्यावसायिक रूपमा विकास गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले के गरिरहेको छ ?
नार्कले गतवर्षदेखि नेपालका ५५ जिल्लाका १ सय ९८ स्थानबाट बीउ सङ्कलन गरिरहेको छ । यसमध्ये १२ जातका बीउको मूल्याङ्कन र परीक्षणको काम भइरहेको छ । परीक्षणबाट राम्रो देखिएका जातलाई यसको विशेषताअनुसारका ठाँउमा खेती गर्न सिफारिश गरिन्छ । यसका लागि कम्तीमा ३ वर्षलाग्छ । यसपछि भने लसुनको व्यावसायिक उत्पादन हुने आशा गर्न सकिन्छ ।
अनुसन्धान गरिएको बीउको प्रवर्द्धनका लागि के गर्ने योजना छ ?
अनुसन्धानबाट पत्ता लागेको बीउको प्रवर्द्धनका लागि प्रचारप्रसारमा नै ध्यान दिनुपर्छ । यस्तो प्रचारप्रसारको काम भने नार्कको होइन । कृषिक्षेत्रका लागि प्रशस्त कार्यालय स्थापना भएका छन् । यी सबैसँग समन्वय गरेर काम गर्नुपर्छ । समन्वयका लागि लामो समय लाग्ने गरेको छ । कृषिसँग सम्बन्धित कार्यालयहरूको संरचना सुधारको आवश्यकता छ । यसले गर्दा अनुसन्धान भए पनि प्रभावकारी कार्यान्वयनका लागि धेरै समय लाग्ने गरेको छ । कृषिक्षेत्रमा किसानमुखीभन्दा पनि कर्मचारीमुखी कार्यालय बढी भएकाले समस्या भएको हो । अहिले एउटाले गरेको काम अर्को कार्यालयले विश्वास नगर्ने अवस्था छ ।
Admin 2011-08-26