मानिसमा स्वस्थ्यप्रतिको चेतनास्तर वृद्धिसँगै नेपालमा वाटर प्युरिफायरको माग बढ्दै गएको छ । नेपालीहरूमा प्रशोधित पानी मात्र पिउनुपर्छ भन्ने चेतना बढ्दै गएका कारण पानी प्रशोधन गर्ने मेशिनहरूको माग बढेको सम्बद्ध व्यवसायीहरूको भनाइ छ । पछिल्ला वर्षहरूको तुलनामा अहिले यस्ता उपकरणको माग ३० देखि ३५ प्रतिशतसम्मले बढेको यूरोलेक्स ग्रूप एण्ड सेल्स प्रालिका सञ्चालक जुगलप्रसाद चौधरीको अनुमान छ ।
केही वर्षअघिसम्म शहरीक्षेत्रका मानिसले पनि धारा वा इनारको पानी सीधै पिउने गरेकोमा अहिले कमैले मात्र त्यस्तो पानी पिउँछन् । तर, ग्रामीण भेगमा भने अझै पनि सीधै धारा, मूल, कुवा वा खोलाको पानी पिउने चलन छ । त्यसैले, ग्रामीण क्षेत्र वाटर प्युरिफायरका लागि सम्भावित ठूलो बजार रहेको व्यवसायीहरू बताउँछन् । पानी सामान्यतया फिजिकल, बायोलोजिक र केमिकल गरी तीन किसिमबाट प्रदूषित हुन्छ । भौतिक वस्तु मिसावट भएको पानीलाई फिजिकल भनिन्छ । त्यसैगरी, जैविक र आइरन मिसिएको पानीलाई क्रमशः बायोलोजिकल र केमिकल भनिन्छ ।
यस्तो पानी वाटर प्युरिफायर मोहिनको सहायताले शुद्धीकरण नगरी सेवन गर्दा स्वास्थ्यमा नराम्रो असर पर्ने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का अधिकृत तथा पानी वैज्ञानिक टिष्टा प्रसाइँले बताइन् । विकासोन्मुख देशमा करीब ८० प्रतिशत रोग अशुद्ध पानीको सेवनबाट नै लाग्ने चौधरीको अनुमान छ ।
बजारको मागसँगै नेपालमा विभिन्न ब्रण्डाका वाटर प्युरिफायर उपलब्ध हुन थालेका छन् । हाल नेपाली बजारमा प्रतिघण्टा ६० देखि ५ हजार लिटरसम्म पानी प्रशोधन गर्ने क्षमता भएका मेशिन उपलब्ध रहेको चौधरीले बताए । घरायसी प्रयोजनका लागि विशेषगरी प्रतिघण्टा आठदेखि १५ लिटर क्षमताका मेशिनको माग हुने गरेको छ ।
नेपाली बजारमा घरायसी प्रयोजनका वाटर प्युरिफायरको मूल्य १२ हजार रुपैयाँभन्दा बढी पर्छ । त्यस्तै, व्यावसायिक प्रयोजनका लागि भने प्रतिघण्टा ५ सयदेखि ५ हजार लिटर क्षमताको मेशिनको माग बढी हुने चौधरी बताउँछन् । यस्ता मेशिनहरू विशेषगरी पानी प्युरिफायर प्लाण्ट, फर्मास्युटिकल्स तथा अन्य उद्योगमा प्रयोग हुन्छ । सबै प्रयोजनका गरी नेपालमा वार्षिक १० करोड रुपैयाँबराबरको वाटर प्युरिफायर विक्री हुने प्रसिद्ध इण्टरनेशनल कम्पनी प्रालिका प्रबन्ध निर्देशक अजयसिंह कार्कीले बताए ।
आधुनिक जीवनशैलीका कारण शहरी क्षेत्रका मानिसले अत्याधुनिक प्रविधिका वाटर प्युरिफायर प्रयोग गर्न थालेका छन् । मागसँगै बजारमा सोहीअनुरूप महँगा र अन्तरराष्ट्रिय ब्राण्डका वाटर प्युरिफायरको उपस्थिति पनि बाक्लिँदै गएको छ । नेपाली बजारमा हाल करीब एक दर्जन ब्राण्डका अत्याधुनिक वाटर प्युरिफायर उपलब्ध छन् । यसमध्ये भारतीय बहुराष्ट्रिय कम्पनी यूरोका फोब्सको उत्पादन यूरोगार्ड नेपालमा बढी प्रयोग हुने वाटर प्युरिफायर हो ।
बजारमा अहिले यूरोका फोब्सका उत्पादन अल्ट्रा भ्वाइलेट (यूभी) प्रणाली, अल्ट्रा फिल्ट्रेशन (यूएफ) प्रणाली, नानो फिल्ट्रेशन (एनएफ) प्रणाली, रिभर्स असमोसिस (आरओ) प्रणालीका वाटर प्युरिफायर उपलब्ध छन् । केही मेशिनमा भने यूभी र आरओ दुवै प्रविधिको प्रयोग भएको ग्रीन सप्लायर्सका सञ्चालक अतिक सल्मानीले बताए । यी सबै प्रविधिको प्रयोग भएका मेशिन विशेषगरी व्यावसायिक प्रयोजनका लागि माग हुने उनको भनाइ छ । कम्पनीले मासिक सरदर २० थान वाटर प्युरिफायर विक्री गर्दै आएको छ ।
पछिल्लो समय वाटर प्युरिफायरको प्रयोग स्कूल, कलेज, होटल, रेष्टुराँ तथा ठूला व्यावसायिक संस्थाहरूमा समेत हुन थालेको छ । पानीको हाहाकारसँगै विकल्पका रूपमा आएका बोतल, जार र ट्याङ्करबाट आपूर्ति हुने अधिकांश पानी खानयोग्य छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गरेकामध्ये करीब ५० प्रतिशत उद्योगको प्रशोधित पानी गुणस्तरहीन पाइएको जानकारी दिएको छ ।
आर्थिक वर्ष २०६८÷६९को माघ महीनासम्म लिइएको ४२ कम्पनीको प्रशोधित पानीको नमूना परीक्षण गर्दा १९ ओटामा गुणस्तरहीन पाइएको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताए । उपभोक्तामा बढेको चेतनाका कारण पनि होटल, रेष्टुराँ तथा फाष्टफूड सेण्टरहरूले पानी प्रशोधन यन्त्र राख्न बाध्य भएका छन् । अहिले शहरी क्षेत्रका चल्तीका सबै रेष्टुराँ तथा क्याफे, होटल, फाष्टफूड सेण्टरलगायतले सबैले देख्ने गरी पानी प्रशोधन यन्त्र राखेको देख्न सकिन्छ ।
कुनैबेला नेपालमा पानी शुद्धीकरणका लागि क्याण्डल फिल्टर अत्यधिक प्रयोग हुने गथ्र्यो । अहिले भने उपभोक्ताको रुचि विद्युतीय पानी प्रशोधन गर्ने यन्त्रतर्फ मोडिन थालेको छ । बजारमा महँगादेखि स्टील फिल्टरकै मूल्यमा पाइने पानी प्रशोधन यन्त्र पाइन्छ । वाटर प्युरिफायरमा सामान्य फिल्टरमा जस्तो पानी हालिराख्नुपर्ने झन्झट हुँदैन । साथै, सीधै धारामा जोड्दा पिउने पानीसँगै अन्य कार्यमा प्रयोग हुने पानीसमेत प्रशोधित हुन्छ ।
दूषित पानीकै कारण नेपालमा हरेक वर्ष ५ वर्षमुनिका करीब १३ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । नेपालका करीब ४७ प्रतिशत जनसङ्ख्या स्वच्छ पिउने पानीबाट वञ्चित छन् । दूषित पानीको प्रयोगबाट विशेषगरी झाडापखाला, टाइफाइड, कलेरालगायतका रोग लाग्ने गरेको चिकित्सकहरूले बताएका छन् । विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ)को तथ्याङ्कअनुसार विश्वमा वर्षेनि करीब १ करोड २० लाख मानिस टाइफाइडबाट मात्र प्रभावित हुने गरेका छन् ।
दूषित पानीकै कारण विश्वमा वर्षेनि करीब २० लाख मानिसले ज्यान गुमाइरहेको संयुक्त राष्ट्रसङ्घको मानव विकास प्रतिवेदनमा उल्लेख छ । विश्वमा देखापरेका करीब ८० प्रतिशत रोगको कारण पानी नै हो । जलप्रदूषणकै कारण सन् २०८० सम्ममा करीब १ अर्ब मानिस कुपोषणको शिकार हुने राष्ट्रसङ्घको अनुमान छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने वस्तु भएका कारण वाटर प्युरिफायरको बजार निरन्तर बढिरहेको व्यवसायीहरूको भनाइ छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.