अजयसिंह कार्की
प्रबन्ध निर्देशक, प्रसिद्ध इण्टरनेशनल कम्पनी प्रालि
सरकारले गरेको प्रचारप्रसारका कारण वाटर प्युरिफायरको व्यापारमा सकारात्मक प्रभाव परेको छ । सरकारले समयसमयमा विभिन्न मिडिया तथा कार्यक्रमबाट नागरिकलाई स्वच्छ पानी पिउन आग्रह गरेकै कारण यस्ता सामग्रीको व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । यो सरकारको राम्रो कदम हो ।
नेपालमा वाटर प्युरिफायरको व्यावसायिक अवस्था कस्तो छ ?
बढ्दो जलप्रदूषणका कारण नेपालमा वाटर प्युरिफायर अत्यावश्यक वस्तु बन्दै गएको छ । अहिले गाँस, बास र कपासपछि वाटर प्युरिफायर अर्को जरुरी वस्तु भइसकेको छ । शहरी क्षेत्र अझ काठमाडौं उपत्यकामा शुद्ध पानी पाउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा फिल्टर नगरी पानी पिउने हो भने विभिन्न प्रकारका रोग लाग्ने निश्चित छ । शुद्ध पानीको अभावले वाटर प्युरिफायरको व्यवसायमा भने सकारात्मक असर पारेको छ । हाम्रो कम्पनीले मात्र वार्षिक ४ करोड ५० लाख रुपैयाँबराबरको वाटर प्युरिफायर विक्री गर्छ । सबै कम्पनीले गरी नेपालमा वार्षिक १० करोड रुपैयाँबराबरको वाटर प्युरिफायर विक्री गर्ने अनुमान छ ।
वाटर प्युरिफायरको मुख्य बजार कुन हो ?
काठमाडौं उपत्यका नेपालकै सबैभन्दा बढी फोहोर पानी पाइने ठाउँअन्तर्गत पर्छ । त्यसैले पनि वाटर प्युरिफायरको ६५ प्रतिशत बजार काठमाडौं नै हो । काठमाडौंमा उच्चदेखि मध्यम र न्यून वर्गका मानिसको समेत बसोबास छ । वाटर प्युरिफायर काठमाडौंमा बस्ने अधिकांश मानिसको क्रयक्षमताभित्र पर्छ । बाँकी ३५ प्रतिशत भने पोखरा, विराटनगर, चितवन, बुटवललगायत प्रमुख शहरहरूमा विक्री हुन्छ । अहिले भने विशेषगरी तराईका जिल्लाबाट पनि वाटर प्युरिफायरको माग बढ्न थालेको छ । तराईमा बसोबास गर्ने मानिसले बोरिङको पानी प्रयोग गरिरहेका हुन्छन् । त्यस्तो पानीमा खराब ब्याक्टेरिया धेरै हुन्छन् । त्यसैले पनि त्यस क्षेत्रबाट माग बढी आएको हो । पछिल्लो समय पहाडी र हिमाली क्षेत्रबाट पनि यसको माग आउन थालेको छ ।
उमालेको र मेशिनबाट शुद्धीकरण गरेको पानी पिउनुमा के भिन्नता छ ?
न्यूनतम २० मिनेटसम्म पानी उमाल्नुपर्छ । अन्यथा, यसमा रहेका सबै ब्यक्टेरिया मर्दैनन् । २० मिनेट नै उमाल्दा पनि ब्याक्टेरिया मात्र मर्छन् । त्यसमा भएको फोहोर तथा धमिलोपना हट्ने सम्भावना हुँदैन । तर, मेशिनको प्रयोगले जस्तोसुकै पानी पनि सफा र शुद्ध बनाउँछ । ल्याब परीक्षणपछि मात्र बजारमा आउने हुनाले बाटर प्युरिफायरबाट प्रशोधित पानीमा शङ्का गर्ने ठाउँ छैन । ग्राहकले चाहेमा आफैले ल्याब परीक्षण गरी परिणाम हेरेपछि मात्र भुक्तानी गर्न पनि सक्छन् । पानी उमाल्दा हामीलाई आवश्यक पर्ने मिनरल्स भाडाँको वरिपरि बस्नुका साथै खेर जान्छ । त्यस्तै उमालेको पानीमा गन्ध आउँछ । तर, वाटर प्युरिफायरबाट प्रशोधित पानीमा कुनै पनि किसिमको गन्ध हुँदैन । यीलगायत अन्य विभिन्न कारणले उमालेको पानीको तुलनामा मेशिनबाट प्रशोधित पानी बढी गुणस्तरीय हुन्छ ।
सरकारले नागरिकलाई शुद्ध पानी पिउन अभिप्रेरित गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक सूचनाहरू प्रकाशन/प्रसारण गरिरहेको हुन्छ । यसले वाटर प्युरिफायरको व्यवसायमा कस्तो असर पारेको छ ?
सरकारले गरेको प्रचारप्रसारका कारण वाटर प्युरिफायरको व्यापारमा सकारात्मक प्रभाव परेको छ । सरकारले समयसमयमा विभिन्न मिडिया तथा कार्यक्रमबाट नागरिकलाई स्वच्छ पानी पिउन आग्रह गरेकै कारण यस्ता सामग्रीको व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । यो सरकारको राम्रो कदम हो । सरकारको यो कदमले व्यवसायीलाई मात्र नभई सर्वसाधारणमा समेत राम्रो प्रभाव परेको छ । हाम्रो व्यवसाय बढ्नु भनेको सरकारले गर्दै आएको अभिप्रेरणामुखी सूचनाको सकारात्मक प्रभाव परेको सङ्केत हो । सरकारले वाटर प्युरिफायरलाई अत्यावश्यक वस्तुअन्तर्गत राखेको छ । यसले गर्दा यस्ता सामग्रीमा लाग्ने कर पनि कम हुन्छ, फलस्वरूप सबै वर्गको पहुँच पुगेको देखिन्छ । यसबाहेक सरकारले ग्रामीण भेगमा बसोबास गर्ने मानिसका लागि वाटर ट्रिटमेण्ट प्लाण्ट जडान गरिदिनु आवश्यक छ ।
कस्तो व्यवस्था भयो भने सबै नागरिकले वाटर प्युरिफायर प्रयोग गर्न सक्छन् ?
सरकारले मूल्य अभिवृद्धि कर र आयात करमा केही हदसम्म छूट दिने हो भने अहिलेको भन्दा ३० प्रतिशत सस्तोमा वाटर प्युरिफायर उपलब्ध गराउन सक्छौं । त्यसैले, सरकारले वाटर प्युरिफायरको आयातमा १ प्रतिशत मात्र कर लिए राम्रो हुनेथियो । त्यसैगरी, बजेट विनियोजन गर्दा बजेटको केही हिस्सा हरेक गाउँमा वाटर ट्रिटमेण्ट प्लाण्ट जडानका लागि छुट्ट्याउँदा राम्रो हुन्छ ।
नेपालमा प्रसिद्ध इण्टरनेशनलले विक्री गर्ने वाटर प्युरिफायरको विक्री अवस्था कस्तो छ ?
यूरोका फोब्स भारतको बहुराष्ट्रिय कम्पनी हो । नेपालमा करीब २० वर्षअघिदेखि यसका उत्पादन भित्रिन थालेका हुन् । तर, हामीले आधिकारिक रूपमा भने यूरोका फोब्सका उत्पादन विगत ६ वर्षदेखि उपलब्ध गराउँदै आएका छौं । नेपालमा विभिन्न ब्राण्डका वाटर प्युरिफायर उपलब्ध छन् । यसमध्ये हामीले उपलब्ध गराउने ब्राण्डको बजारहिस्सा करीब ५५ प्रतिशत छ । धेरै मानिसले पानी प्रशोधनका लागि यूरोगार्ड नै रोज्ने गरेको पाएका छौं । नेपालमा अहिले जुन ब्राण्ड प्रयोग गरे पनि पानी प्रशोधन गर्ने सबै मेशिनलाई यूरोगार्डकै नामले चिन्ने गरेका छन् । तर, ती सबै यूरोगार्ड भने होइनन् । हामी घरघरमा गएर आफ्ना सामानबारे जानकारी दिनुका साथै विक्री गरिरहेका छौं । नेपालमा हाल भारतका विभिन्न स्थानीय ब्राण्डका साथै चिनियाँ उत्पादन पनि आइरहेका छन् ।
नेपालमा विभिन्न प्रविधिको प्रयोग भएका पानी प्रशोधन मेशिन उपलब्ध छन्, ग्राहकलाई कुन प्रविधि प्रयोग गर्न सल्लाह दिनुहुन्छ ?
यदि कुनै ग्राहकले यूरोगार्ड राख्न चाहेमा हामी उसको घरमै गएर पानी परीक्षण गछौं। उक्त पानी कुन गुणस्तरको छ, त्यसमा कस्ता रासायनिक पदार्थको मिश्रण छ भन्ने पत्ता लगाएपछि सोहीअनुरूपको प्रविधि प्रयोग गर्न सल्लाह दिन्छौं । वाटर प्युरिफायर छनोट गर्दा पानीको गुणस्तर र मिश्रित पदार्थकै आधारमा गर्नु उपयुक्त हुन्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.