सीएफएस ट्रेडर्सले नेपाली बजारमा नयाँ वाटर प्युरिफायर भित्र्याउने भएको छ । नयाँ वाटर प्युरिफायर केही दिनमै बजारमा आउने कम्पनीका बजार व्यवस्थापक हरि शर्माले जानकारी दिए । सीएफएसले भारतीय कम्पनी हिन्दुस्तान युनिलिभरको उत्पादन ‘प्योरइट’ ब्राण्डको ‘प्योरइट एडभान्स डबल प्रोटेक्शन’ वाटर प्युरिफायर ल्याउन लागेको हो । सीएफएस ट्रेडर्स प्योरइट ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता हो ।
प्योरइट ब्राण्डका वाटर प्युरिफायर विद्युत्विना प्रयोग गर्न सकिन्छ । हाल सीएफएस ट्रेडर्सले प्योरइट ब्राण्डका रेगुलर, कम्प्याक्ट, अटोमेटिक र मारबेला गरी चारप्रकार (क्षमता र उपयोगअनुसार)का प्युरिफायरको विक्री गरिरहेको छ । कम्पनीले उक्त प्युरिफायरबाट प्रशोधित पानी पिउनयोग्य नभएको सावित गर्नेलाई १ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको छ । ‘प्योरइट ब्राण्डले अमेरिकाको ‘इन्भायरोन्मेण्ट प्रोजेक्ट एजेन्सी’बाट गुणस्तर प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ,’ शर्माले भने, ‘प्योरइट ब्राण्डका प्युरिफायरबाट प्रशोधित पानी उमालेको सरह सुरक्षित हुन्छ ।’
शर्माका अनुसार प्योरइट रेगुलर १८ लिटर क्षमता भएको प्युरिफायर हो । यसको बजारमूल्य ४ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै, प्योरइट कम्प्याक्ट १० लिटर क्षमतामा उपलब्ध छ । यसको मूल्य करीब ३ हजार रुपैयाँ पर्छ । प्योरइट अटोमेटिकमा आफैले पानी हाल्नुपर्दैन । यसलाई धारामा जोडेपछि आवश्यक पानी आफैले लिन्छ ।
१८ लिटर क्षमतामा उपलब्ध प्योरइट अटोमेटिकको बजारमूल्य ६ हजार ५ सय रुपैयाँ रहेको छ । त्यस्तै ४ दशमलव ५ लिटर क्षमताको प्योरइट मारबेला करीब १५ हजार रुपैयाँमा खरीद गर्न सकिन्छ । यीमध्ये नेपालमा प्योरइट रेगुलरको माग बढी भएको शर्माले बताए । बढी सुविधा भएका कारण यसको विक्री बढी रहेको उनको भनाइ छ । यो नीलो र मरुन गरी दुई रङमा उपलब्ध छ । इण्डिकेटर जडान गरिएको हुँदा यसका कुनै पार्टपुर्जा खराब भएमा इण्डिकेटरले जानकारी दिन्छ । प्योरइट रेगुलरले २० मिनेटमा ९ लिटर पानी शुद्धीकरण गर्न सक्छ ।
प्योरइट ब्राण्डका वाटर प्युरिफायरमा ‘माइक्रो फाइबरमेस’ पनि हुन्छ । २७ तह भएको यसले पानीमा रहेका आँखाले देखिने फोहोर छान्ने कार्य गर्छ । त्यस्तै उक्त मेशिनमा भएको कार्बन ट्रापले पानीमा भएका अखाद्य रासायनिक पदार्थलाई पिउने पानीबाट छुट्ट्याउँछ । साथै, प्योरइट प्युरिफायरभित्र भएको फिल्टरले पानीमा भएका गन्ध र बाँकी कीटाणु हटाई त्यसलाई पिउनयोग्य बनाउने शर्माले बताए ।
सीएफएसले करीब ३ वर्षदेखि प्योरइटका उत्पादन विक्री गर्दै आएको छ । यसका काठमाडौं उपत्यकामा मात्र ७० भन्दा बढी डिलर छन् । ‘हामीले उपत्यकाबाहिर पोखरा, धरान, इटहरी, नारायणगढ, हेटौंडा, लमजुङ, बुटवल, रामपुर, पर्वत, स्याङ्जा, पाल्पा, बिर्तामोड, दाङ, बेनीलगायत ठाउँमा आफ्ना डिलरमार्फत प्योरइटका वाटर प्युरिफायरको विक्री गरीरहेका छौं,’ शर्माले भने । आफ्ना सबै डिलरमा प्योरइटका सम्पूर्ण पार्ट्स उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.