विराटनगर/काठमाडौं । विराटनगरमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयले चीनबाट समुद्री मार्ग हुँदै ल्याइएको २९ मेट्रिक टन लसुन रोेकेको छ । विराटनगरको गोयल इन्टरप्राइजेजले मगाएको ३७ लाख ८५ हजार १३० रुपैयाँ मूल्यको लसुन क्वारेन्टाइनले इन्ट्री परमिट नदिएका कारण भन्सारबाट जाँचपास हुन सकको छैन । जबकि यसअघि अन्य विभिन्न फर्मबाट मगाइएको लसुन प्लान्ट क्वारेन्टाइनको स्वीकृतिमा नेपाल भित्रिएको थियो ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख नन्दकिशोर सिंहले यो वर्ष लसुन आयात अत्यधिक भएकाले अब परीक्षणको प्रमाणपत्र नदिनू भन्ने मौखिक आदेश आएपछि आफूले प्रमाणपत्र दिन रोकेको बताए । क्वारेन्टाइनले कडा गर्न थालेको परिप्रेक्ष्यमा व्यापारीहरूले चिनियाँ लसुन ल्याउन लगभग बन्द गरेको विभिन्न भन्सार कार्यालयहरूले बताएका छन् ।
नाटकीय रूपमा बढाएर आयात गरिएको लसुन भारततर्फ तस्करी भएको सरकारी अध्ययनले पुष्टि गरेको छ । त्यसैले कतिपयले भारतीय दबाबका कारण हाल लसुन आयातमा अवरोध खडा भएको आशंका गरेका छन् । भारतीय दबाबको प्रभावलाई सम्बद्ध सरकारी अधिकारीहरूले पुष्टि गरेनन् । केही समय अघिसम्म वाणिज्य मन्त्रालयमा रहेका सहसचिव बाबुराम अधिकारीले गत महीना नेपाल र भारतबीच भएको वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा भारतले यो विषय नउठाएको बताए । उक्त बैठकमा भाग लिएका कृषि तथा पशुपक्षी मन्त्रालयका एक उच्च अधिकारीले पनि भारतले यसबारे कुरा नउठाएको जानकारी दिए ।
चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा ६ अर्ब १८ करोड ३९ लाख रुपैयाँ बराबरको लसुन नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आवको शुरूको ६ महीनामा ७७ करोड ८७ लाख रुपैयाँको मात्र लसुन भित्रिएको थियो । पूरै आवमा २ अर्ब २२ करोड रुपैयाँको लसुन चीनबाट भित्रिएको तथ्यांक छ । त्यसअघि ३ आवमा १ अर्ब रुपैयाँभन्दा केही बढीको मात्र लसुन आयात चीनबाट भएको भन्सार विभागको तथ्यांक छ ।
गोयल इन्टरप्राइजेजको भन्सार क्लियरेन्सको काम गर्दै आएका भन्सार एजेन्ट ललित बोहोराले सबै प्रक्रिया पूरा गरेर एलसीमार्फत मगाएको मालको जाँचपास रोकिएकोमा विरोध जनाए । यसरी एलसी खोलेर ल्याइएको सामान भित्त्याउन प्लान्ट क्वारेन्टाइनले रोक्न नमिल्ने उनले बताए । ‘नयाँ एलसी खोलेर माल मगाउन रोक्न सकिने कुरा एउटा भयो तर एलसी खोलेर माल मगाइसकेपछि कतिपय माल बाटोमै आउँदै गरेको हुन्छ । कतिपय माल भन्सार परिसरमा र कति पानी जहाजमै हुन्छ । यस्तो अवस्थामा एक्कासि रोक्नु भनेको गैरकानूनी हो,’ उनले भने । प्रक्रिया के पूरा गर्नुपर्ने हो त्यो गरेर तत्काल जाँचपासका लागि क्वारेन्टाइनले प्रमाणपत्र दिनुपर्ने उनले बताए ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले एलसी खोलेर आइरहेको लसुन सरकारले कुनै पनि बहानामा रोक्न नमिल्ने बताए । सरकारले आयात अनुमति दिइसकेपछि व्यापारीलाई दु:ख दिने नियतले नाकामा कुनै पनि माल वस्तु रोकिनु गलत भएको बताउँदै उनले सरकारले यदि रोक्नैपर्ने भए मटर, सुपारी, छोकडाजस्तै रोक लगाउन सक्ने उल्लेख गरे ।
- पुस मसान्तसम्म नाटकीय रूपमा आकाशिएको चिनियाँ लसुन आयात विगत १ महीना जतिमा ठप्प
- लसुन अत्यधिक आयात भइसकेकाले परीक्षणको प्रमाणपत्र नदिनू भन्ने मौखिक आदेश कृषि मन्त्रालयबाट आएपछि प्रमाणपत्र दिन रोकेको सरकारी अधिकारीको भनाइ
- आइसकेको कार्गो पनि क्वारेन्टाइनले इन्ट्री परमिट नदिँदा अलपत्र
- क्वारेन्टाइन प्रक्रिया पूरा नगरेको कार्गो आयात मात्र रोकिएको क्वारेन्टाइन कार्यालयको भनाइ
व्यापारलाई नै प्रतिकूल हुने किसिमको निर्देशन दिन नमिल्ने भन्दै राठीले थपे, ‘तस्करी नियन्त्रणको जिम्मा राज्यको हो । खुला बोर्डर छ, तस्करी हुन्छ भन्ने डरले व्यापार नै नगर्ने भन्ने हुँदैन ।’
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले भने आवश्यक क्वारेन्टाइनको प्रक्रिया पूरा नगरेको लसुनको कार्गो मात्र रोकिएको दाबी गरे ।
‘व्यापारीहरूले भन्सारमा सामान आउनुअघि नै क्वारेन्टाइन प्रक्रियाका लागि आवेदन दिनुपर्ने हुन्छ,’ उनले भने, ‘भन्सारमा सामान आइसकेपछि क्वारेन्टाइनको लागि आउने व्यापारीको हकमा भने आयात रोकिएको हो ।’ क्वारेन्टाइन प्रक्रिया पूरा गर्न नसकेका बाहेक अन्य व्यापारीको लसुन नरोकेको उनको भनाइ छ ।
मेची भन्सार कार्यालय परिसरमा रहेको प्लान्ट क्वारेन्टाइनका प्रमुख सन्तोष थापाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिवस्तरीय निर्णयबाट आयातित लसुनको पीआरए (पेस्ट रिक्स एनालाइसिस) गर्ने भनेर तत्काललाई लसुन आयातमा अनुमति नदिने निर्णय भएकाले आफूहरूले लसुन आयातका लागि कुनै स्वीकृति नदिएको बताए ।
लसुनमार्फत भित्रने किरा कत्तिको हानिकारक छ र त्यसले नेपालभित्र दीर्घकालमा कस्तो असर पर्छ भन्ने अध्ययनपछि मात्र आयात अनुमति दिने भन्ने मौखिक आदेश आएको उनले खुलाए ।
विराटनगर भन्सार कार्यालय स्रोतका अनुसार क्वारेन्टाइनको पत्र नआएको कारण एक कन्टेनर लसुन जाँचपाँस हुन सकेको छैन । त्यसको प्रक्रियाका लागि फाइल नै कार्यालयमा आएको छैन । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले लसुन रोकिएको बारे औपचारिक जानकारी आइनसकेको बताए । विभिन्न भन्सार कार्यालयहरूका अनुसार व्यापारीले करीब १ महीनादेखि आफै पनि लसुन आयात रोकेका छन् । चीनबाट धेरै लसुन आयात हुने भन्सार नाका तातोपानी हो । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले यतिबेला चीनबाट नेपालमा लसुनको आयात ठप्प भएको जानकारी दिए । उनका अनुसार गत बाढीले बगाएको लिपिङ खोलाको पुल निर्माण गर्नुपर्ने भएकाले २० दिनदेखि तातोपानी नाका बन्द छ । नाकामा लसुनसहित अन्य सामाग्री बोकेको करीब ५० कन्टेर थन्केर बसेका छन् ।
‘पुल निर्माणका लागि नाका बन्द हुनुभन्दा करीब ३/४ दिन अघिदेखि नै यस नाकाबाट लसुन आयात हुन छाडिसकेको थियो,’ उनले भने, ‘खास कारण के हो थाहा छैन । तर, लसुन आयात गर्ने व्यापारीले पनि पारिबाट अर्डर गर्न छाडेको भन्ने सुनिएको छ । विभागको माघ महीनाको तथ्यांकमा लसुन आयात स्वाट्टै घट्न सक्छ ।’
त्यसैगरी, रसुवा भन्सार कार्यालयबाट समेत करीब ३ सातादेखि लसुन आयात ठप्प भएको सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेलले बताए । चीनबाट व्यापारीले ल्याएको लसुनलाई क्वारेन्टाइनले आयात अनुमति नदिएको उनको भनाइ छ । मेची भन्सार कार्यालयले पनि केही समयअघि एक कन्टेनर लसुन पठाएपछि अहिलेसम्म लसुन नआएको जानकारी दिएको छ । भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडालले १ महीनाअघि आएको लसुन बिग्रन लागेपछि भन्सार गोदाममै फिँजाएर राखिएको र बिग्रन लागेपछि त्यसको जाँचपास गरिएको बाहेक अहिले लसुन मेची नाकाबाट नआएको बताए ।
मेची भन्सार कार्यालयका भन्सार एजेन्ट विमल श्रेष्ठले यसअघि आफूले १०० भन्दा बढी लसुन बोकेका कन्टेनर जाँचपास गरेर पठाएको बताए । पछिल्लो समय लसुनको इन्ट्री परमिट क्वारेन्टाइनले दिन छाडेपछि मेची नाकाबाट यसको आयात ठप्प भएको हो । यसरी व्यापारीले लसुन ल्याउन छाडेपछि देशकै सबैभन्दा ठूलो कालीमाटी तरकारी बजारमा समेत केही समययता लसुनको उपलब्धता स्वाट्टै घटेकोदेखिएको छ ।