logo
दाङका महिला सामूहिक लसुन खेतीतर्फ
दाङका महिला सामूहिक लसुन खेतीतर्फ
५ चैत्र २०७५

चैत ५,दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका–१६,१७ र ६ का विभिन्न स्थानमा १५ बिघाहा जग्गा भाडामा लिई लसुन तथा प्याजखेती गर्दै आएका छन् ।

मागलाई ध्यानमा राखी लसुन र प्याजखेती थालेको कोपिला कृषक समूह मघैका अध्यक्ष कैलाशी चौधरीले बताइन् । समूहको करीब रू. १० लाख र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिझम)को रू.११ लाख ५५ हजारमा लसुन र प्याजखेती थालिएको हो । टोलका २२ महिला आवद्ध सो समूहले लसुन र प्याज खेती गर्न दुई ट्याक्टर, एउटा पम्पसेट, एउटा डिजिटल काँटा, १० ओटा स्प्रे ट्यांकी खरीद गरेको छ ।

यसअघि गरिएको च्याउ खेतीबाट मनग्य आम्दानी भएपछि लसुन खेतीमा लागेको समूहका कोषाध्यक्ष जानकी चौधरीले बताइन् । ‘एक्लाएक्लै काम गर्दा व्यावसायिक रुपमा जान समस्या हुन्छ । रकम र समय बढी खर्च हुन्छ’, उनले भनिन् । समूहमा लागेपछि आफ्नो दैनिकी चलाउन सजिलो भएको उपाध्यक्ष आशा चौधरीले बताइन् ।

समूहमा जम्मा गरिएको रकमले घरखर्च चलाउन सजिलो भएको छ ।समूहमा लागेर च्याउ, लसुन र प्याज खेती मात्र होइन सामूहिक रुपमा धान काट्न, मसुरो छिन्ने तथा अन्य घरायसी काम समेत सामूहिक रुपमा गर्दै आएको उनीहरुले बताए । सो रकम समूहमा जम्मा गरिने र आवश्यक परेको समयमा सस्तो ब्याजदरमा ऋण लगानी गर्ने गरिएको चौधरीले बताइन् । महिलालाई सामूहिक रुपमा खेती गर्न सहयोग गरिएको साना कृषि आयस्तर परियोजनाका कार्यक्रम संयोजक रिप्रसाद शर्माले बताए ।

आयोजनाले हाल च्याउ,लसुन, मसुरो,माछापालनलगायत क्षेत्रमा रू.३३ करोड लगानी गरिएको छ । आयोजनाले समूहलाई ८० देखि ९० प्रतिशतसम्म, सहकारीलाई अधिकतम ६५ प्रतिशत तथा व्यक्तिलाई ५० देखि ६५ प्रतिशतसम्म अनुदान दिदैंआएको छ । रासस

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.