वैशाख २१, सिन्धुपाल्चोक । चीनबाट ल्याएको स्याउ र लसुनसँगै कोरोना संक्रमण (कोभिड–१९) भित्रने सम्भावना रहेको भन्दै भोटेकोशी गाउँपालिकाका वडाध्यक्षहरूले तातोपानी भन्सार कार्यालयलाई त्यस्ता वस्तुको आयात रोक्न माग गरेका छन् ।
दाल, चामल, नुनलगायतका अति आवश्यक वस्तु ल्याए पनि स्याउ र लसुन ल्याउन नहुने बेहोरासहितको ज्ञापनपत्र उनीहरूले भन्सारलाई बुझाएका छन् । ‘कोरोना चीनबाट फैलिएको र त्यहीँबाट सामान ल्याउँदा रोग नआउला भन्न सकिंदैन’, ज्ञापनपत्रमा भनिएको छ ।
स्थानीय तहसँग सल्लाह र समन्वय नगरी त्यस्ता वस्तुको आयात गर्दा तातोपानी र आसपासका बासिन्दामा कोरोना संक्रमण हुन सक्ने ठहर उनीहरूको छ । भन्सार हातामा हाल ४ कन्टेनर स्याउ र २ ओटा कन्टेनर लसुन भित्रिसकेको छ ।
ज्ञापनपत्र बुझाउनेहरूमा भोटेकोशी–१, २, ३ र ४ का वडाध्यक्षहरू क्रमशः मुके शेर्पा, दीपेन्द्र श्रेष्ठ, कैलाश पौडेल र साङ्दोर्जे शेर्पा छन् । उनीहरूले तातोपानीको सुख्खा बन्दरगाहस्थित भन्सार कार्यालयको गेटमा ज्ञापनपत्र पढेका थिए ।
उनीहरूले बुझाएको चार बुँदे ज्ञापनपत्र भन्सारका एक कर्मचारी गेटमै आएर बुझेका थिए । भन्सार प्रमुख लालबहादुर खत्रीले वडाध्यक्षहरूले दिएको ज्ञापनपत्र आफूले माथिल्लो निकायमा पठाउने उनले जानकारी दिए ।
कोभिड–१९ नियन्त्रण र रोकथामका लागि झिकाइएका औषधि, व्यक्तिगत सुरक्षाका लागि प्रयोग हुने स्वास्थ्य सामाग्रीलगायत वस्तुको आयात सहज रुपमा गर्न आफूहरूको कुनै अवरोध नहुने भन्दै उनीहरूले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चीनको क्वारेन्टानन्को सर्टिफिकेट भए मात्र स्याउ र लसुन ल्याउन दिने ज्ञापनपत्रमा उल्लेख गरेका छन् । अन्यथा सीमा ल्याइएका त्यस्ता बस्तुलाई नष्ट गर्ने चेतावनी दिएका छन् ।
वडाध्यक्षहरूले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, भन्सार र बिचौलिया मिलेर स्याउ र लसुन भित्र्याएको दाबी गरेका छन् । सरकारले भारतका नाकाहरू बन्द भएमा अतिआवश्यक सामान तातोपानीबाट ल्याउन भन्सार सञ्चालनमा निरन्तरता दिएको हो । चीनबाट स्याउ र लसुन आयात बन्द भएपछि राजधानीको बजारमा त्यस्ता वस्तुको मूल्य आकाशिएको छ ।
नेपालको बजारमा चिनियाँ स्याउको प्रभुत्व छ । लकडाउनमा अन्य सामानको तुलनामा स्याउको मूल्यमा उच्च वृद्धि भएको छ । स्याउको प्रतिकिलो ४५० रुपैंयाँसम्म पुगेको छ । चिनियाँ स्याउ भने सस्तो हुने गरेको छ । राजधानीबाट नजिकै र सजिलो बाटो भएकाले सरकारले उक्त नाकाबाट सामान आयात गर्ने निर्णय गरेको हो ।
नाकाबाट स्वास्थ्य सामग्रीको आयात पनि भइरहेको भन्सार प्रमुख खत्रीले जानकारी दिए । ‘उहाँहरूले ज्ञापनपत्र दिनुभएको छ । त्यसलाई माथिल्लो निकायमा पठाएको छु । यो अन्तरराष्ट्रिय नाका भएकाले माथिल्लो निकायबाट हुने निर्देशन र निर्णयलाई पालना गर्नु मेरो कर्तव्य हो,’ खत्रीले भने । उनले भन्सार सञ्चालन र तोकिएको कारोबार सञ्चालनमा अवरोध नहुने बताए ।