चितवन । गैंडाकोटको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ्ग एण्ड मेनेज्मेण्ट (अक्सफोर्ड कलेज) र चीनको नाञ्जीङ्ग युनिभर्सिटी अफ एरोनेटिक्स र एष्ट्रोनेटिक्सबीच अध्ययन अध्यापनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । अक्सफोर्ड कलेजका प्रिन्सिपल प्रोफेसर इञ्जिनियर हरि भण्डारी र नाञ्जीङ्ग युनिभर्सिटीका डिन प्रोफेसर जीन क्वान युआनबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा अक्सफोर्ड कलेजका विद्यार्थी र शिक्षकले उक्त युनिभर्सिटीमा अध्ययन अध्यापन गर्न पाउने कलेजले जनाएको छ । कलेजका प्रिन्सिपल भण्डारीले आफ्नो कलेजले उक्त युनिभर्सिटीका अध्ययन अध्यापन लागि शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार लगायतका मापदण्ड पूरा गरेकाले उक्त समझदारी भएको जानकारी दिए । पत्रमा कलेज र युनिभर्सिटीबीच ११ ओटा बुंँदामा समझदारी भएको छ ।
अक्सफोर्ड कलेज यस्तो समझदारी गर्ने नेपालमै पहिलो कलेज भएको भण्डारीको दाबी छ । उनका अनुसार शिक्षक र विद्यार्थीसम्बन्धी एक्सचेन्ज, अनुसन्धान, मास्टर डिग्री र पीएचडी तहका लागि छात्रवृत्ति, शैक्षिक कार्यक्रमसम्बन्धी संयुक्त सेमिनार र कार्यशाला, जर्नल प्रकाशन, इन्टर्नसिप र प्रोजेक्ट ट्रेनिङ्ग र क्रेडिट ट्रान्सफर लगायतका विषयमा समझदारी भएको हो । शुरुआती क्षणमा कलेज र युनिभर्सिटीबीच ४ वर्षको लागि समझदारी गरिएको भण्डारीले बताए ।
अक्सफोर्ड कलेजमा आईटी, मेनेजमेण्ट, इञ्जिनियरिङ्ग अध्ययन गरेका स्नातक र सोभन्दा माथिल्लो तहका विद्यार्थीले कलेजको सिफारिसमा उक्त युनिभर्सिटीमा अध्ययन गर्न जान पाउने उनको भनाइ छ । यसका लागि विद्यार्थीले कलेजमा न्यूनतम २ वर्ष अध्ययन गरेको हुनुपर्ने छ । यो युर्निभर्सिटी विश्वकै सय युर्निभसिटी भित्रको सूचीमा रहेकोले यहांँ नेपाली विद्यार्थीले पढ्न पाउनु गौरवको विषय भएको भण्डारीले बताए । आगामी फ्रेबुअरी सेसनबाट अक्सफोर्ड कलेजबाट विद्यार्थी पठाउन शुरु गरिने उनले जानकारी दिए ।