चितवन । चालू आर्थिक वर्ष (आव)को भदौमा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व संकलन लक्ष्यभन्दा ४६ प्रतिशत कम भएको छ । गत साउनमा पनि लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको थिएन । कार्यालयका अनुसार गत साउनमा कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा ३७ प्रतिशत कम भएको थियो । प्रतिशतका आधारमा कार्यालयको राजस्व संकलन साउनको तुलनामा भदौमा घटेको हो ।
कार्यालयका अनुसार भदौमा सबै शीर्षकमा ५४ दशमलव ४७ प्रतिशत मात्र राजस्व असुली गरेको छ । कार्यालयले आयकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, घर बहाल कर, स्वास्थ्य सेवा कर, शिक्षा सेवा कर शीर्षकमार्फत कर संकलन गर्दै आएको छ । यीमध्ये आयकर शीर्षकमा मात्र लक्ष्य भेटिएको छ ।
कार्यालयका अनुसार भदौमा आयकर शीर्षकमा १८९ दशमलव शून्य ९ प्रतिशत राजस्व असुली भएको छ । यस्तै, ब्याजकरमा ३१ दशमलव ४१ प्रतिशत, घर बहाल करमा ६५ दशमलव ६४ प्रतिशत, मुल्य अभिवृद्धि करमा ५७ दशमलव ९२ प्रतिशत, अन्तःशुल्क शीर्षकमा ४७ दशमलव ३५ प्रतिशत, स्वास्थ्य सेवा करमा ५८ दशमलव १५ प्रतिशत कर असुली गरेको छ भने शिक्षा सेवा करमा कर असुली भएको छैन ।
कोभिड–१९ को महामारीका कारण उद्योग व्यवसाय धराशायी हुंँदा यसको असर राजस्व संकलनमा परेको हो । नयांँ व्यवसाय नथपिनु, भएका व्यवसाय टाँट पल्टिँदै जानु, देशमा उत्पादन र उपभोग कम हुंँदै जानु, क्रयशक्तिमा ह्रास आउनुलगायत कारणले लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन ।
आर्थिक मन्दीका कारण कतिपय उद्योग व्यवसाय बन्द हुनु, भएका कम क्षमतामा चल्नु, बैंकको ब्याज नघट्नु र भएका उत्पादित वस्तु पनि विक्री नहुनुलगायत कारणले लक्ष्य अनुसार राजस्व असुली हुन नसकेको आन्तरिक राजस्व कार्यालय, भरतपुरले जनाएको छ ।
कार्यालयका कर अधिकृत विष्णुबहादुर रावतले राजस्व असुलीको अनुपात हरेक महिना क्रमशः घट्दै गएको बताए । ‘अहिले नयांँ व्यवसाय गर्ने पनि घटेका छन्, पुराना कम्पनी नवीकरण गर्ने पनि कम छन्,’ उनले भने, ‘मुख्य कुरा त आर्थिक गतिविधि नै सुस्त छ ।’
चितवनको राजस्व असुली अन्तःशुल्कमा निर्भर हुने भएकोले पछिल्लो समय मदिराजन्य वस्तुको विक्रीमा भारी गिरावट आएको उनको भनाइ छ । ‘अधिकांश मानिसमा दैनिक खर्च चलाउनसमेत समस्या छ । आर्थिक मन्दी चरम छ । व्यापार छैन, उपभोग पनि छैन,’ रावतले भने ।
कतिपय उद्योग व्यवसाय टाँट पल्टिएको र व्यवसायी विस्थापित भई अन्य पेशा र विकल्प रोजेकाले पनि यसको असर राजस्व असुलीमा परेको उनको भनाइ छ ।
कार्यालयका अनुसार गत आवको साउन र भदौ गरी १ हजार ३२७ ओटा नयांँ व्यवसाय दर्ता भएकोमा चालु आवको यो दुई महिनामा यो अनुपात घटेर जम्मा ९२३ ओटा नयांँ व्यवसाय मात्र दर्ता भएका छन् । गत आवको सोही अवधिमा ५ हजार ३९१ व्यक्तिगत प्यान दर्ता भएकोमा चालु आवको उक्त अवधिमा यो संख्या घटेर ५ हजार ९ ओटा मात्रै थपिएका छन् ।