फागुन २९, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरेका छन् ।
पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा मानिएको गुराँसको राजधानी तीनजुरे–मिल्के –जलजले क्षेत्रमा अवस्थित लसुने बजारको ऐतिहासिक पहिचानसमेत झल्काउने र पर्यटकलाई आकर्षण गर्न भन्दै स्थानीयवासीले ९ लाख रुपैयाँभन्दा बढीको लागतमा स्तम्भ निर्माण गरेका हुन् । बाउबाजेले खोरिया फाँडेर लसुन खेती गर्ने गरेको र लसुनका लागि ख्याति प्राप्त ठाउँमा बस्ती विकास भएपछि बजारको नाम पनि लसुने बजार राखिएको स्थानीयको भनाइ छ ।
सडकलगायत अन्य पूर्वाधारको विकास भएसँगै लसुने बजारको रूप फेरिँदो छ । पर्यटकको आवागमन पनि वर्षेनि बढिरहेको छ । बजार नजिकको पात्लेपोखरी र चिया बगानका कारण लसुने बजारमा पर्यटकीय आवागमन हुने गरेको स्थानीय पुण्यप्रसाद तिम्सिनाले बताए । यहाँ आउने आन्तरिक पर्यटकले लसुने बजारका बारेमा सोधपुछ गर्ने र अचम्मित हुने गरेकाले पनि उनीहरूलाई स्पष्ट पार्नसमेत लसुन स्तम्भ आवश्यक ठानेर निर्माण गरिएको उनले जानकारी दिए ।
स्तम्भ निर्माणसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको स्थानीय पदमबहादुर नेपालीको भनाइ छ । रासस