काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पुससम्म चीनबाट तातोपानी नाका हुँदै ठूला परिमाणमा आइरहेको लसुन माघ लाएपछि स्वात्तै घटेको छ । ‘फागुनमा त यो नाकाबाट लसुन आयात ठप्पै छ,’ तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले भने ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आवको ७औं महीनामा ६४९ टन मात्र लसुन आयात भएको छ । जबकि पुससम्म ४६ हजार ९०० टन लसुन चीनबाट आयात भएको थियो । गत आव २०८०/८१ मा २ अर्ब २२ करोड रुपैयाँको लसुन आयात भएकोमा चालू आवको ७ महीनामै ६ अर्ब २६ करोड रुपैयाँको लसुन आयात भएको छ । त्यसमध्ये माघमा जम्मा ८ करोड रुपैयाँभन्दा केही बढीको लसुन चीनबाट आयात भएको भन्सार विभागले बताएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख नन्दकिशोर सिंहले हालै आर्थिक अभियानलाई बताएअनुसार ‘यो वर्ष लसुन आयात अत्यधिक भएकाले अब परीक्षणको प्रमाणपत्र नदिनू’ भनेर माथिल्लो निकायबाट मौखिक आदेश आएपछि कार्यालयले प्रमाणपत्र दिन रोकेको हो । क्वारेन्टाइनले कडा गर्न थालेको परिप्रेक्ष्यमा व्यापारीले चिनियाँ लसुन ल्याउन लगभग बन्द गरेको विभिन्न भन्सार कार्यालयले बताएका छन् ।
रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेलले पनि झन्डै महीना दिनदेखि लसुन आयात नभएको अघिल्लो साता आर्थिक अभियानलाई बताएका थिए । चीनबाट व्यापारीले ल्याएको लसुनलाई क्वारेन्टाइनले आयात अनुमति नदिएको उनको भनाइ छ ।
अघिल्ला महीनाहरूमा भारतमा लसुनको भाउ उच्च रहेकाले त्यसबाट फाइदा उठाउन नेपाली व्यापारीले चीनबाट ल्याएर भारत तस्करी गरेको सम्बद्ध अधिकारी बताउँछन् ।
भारतका लसुन उत्पादन हुने मुख्य राज्यहरू गुजरात, राजस्थान, मध्य प्रदेश र पञ्जाबका किसानले विगत वर्षहरूमा लसुनको उचित मूल्य नपाएको भन्दै अन्य उत्पादनमा हात हालेपछि उत्पादनमा असर परेको हो । यसबाहेक भारतमा सुक्खा लागेर लसुन रोप्ने र बाली भित्र्याउने चक्रमा असर गरेकाले पनि गत सिजनमा उत्पादन प्रभावित भएको हो ।
यसले गर्दा गत डिसेम्बरमा लसुनको भाउ प्रतिकिलो ५०० भारतीय रुपैयाँसम्म पुगेको थियो । त्यसैले भारतले अफगानिस्तानबाट पनि लसुन आयात गरेको थियो ।
भारतमा रहेको उच्च मूल्यको फाइदा उठाउन नेपाली व्यापारीले चीनबाट ठूलो परिमाणमा लसुन आयात गरी अवैध ढंगले भारत पठाउने गरेको स्थानीय व्यापारी बताउँछन् । तर, पछिल्लो समय भारतमा लसुनको मूल्य निकै घटेको छ । लसुनको नयाँ बाली बजारमा आएपछि यसको मूल्यमा गिरावाट आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अहिले लसुनको प्रतिकिलो मूल्य १५० देखि २०० भारतीय रुपैयाँमा झरेको छ ।
‘पछिल्लो समय भारतीय बजारमा लसुनको भाउ सस्तिएपछि व्यापारीले चीनबाट लसुन नल्याएको देखिन्छ,’ भन्सार विभागका एक उच्च अधिकारीले भने ।