काठमाडौं । नेपालस्थित बेलायती दूतावासले बेलायतका राजा चार्ल्स तृतीयको जन्मदिन मनाएको छ । जन्मदिनको अवसरमा राजदूत रब फेन र उनकी पत्नी जुलिया फेनले गत शुक्रवार (सन् २०२५ मे २) काठमाडौंमा विशेष समारोह आयोजना गरे ।
उपराष्ट्रपति राम सहाय प्रसाद यादव प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपालको विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, वरिष्ठ सरकारी अधिकारीहरू, शिक्षाविद्हरू, चिभिनिङ छात्रवृत्तिका पूर्वविद्यार्थी, विकास साझेदारहरू, कूटनीतिक समुदायका प्रतिनिधि लगायतको उपस्थिति थियो।
राजकुमार तथा राजकुमारीको हालै सम्पन्न नेपाल भ्रमणपछि आयोजित यस समारोहले नेपाल–बेलायत सम्बन्धलाई थप प्रगाढ बनाएको बताइएको दूतावासले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सो अवसरमा राजदूत फेनले नेपाल र बेलायतको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे। उनले भने, ‘नेपालको प्रगतिले अन्तरराष्ट्रिय समुदायको ध्यान खिचिरहेको छ। लन्डनका लगानीकर्ताहरूले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा हेर्न थालेका छन् । नेपालसँग उनीहरूको गहिरो भावनात्मक सम्बन्ध छ, जुन हालै सम्पन्न राजकीय भ्रमणले थप बलियो बनाएको छ।’
बेलायती राजाको जन्मदिनलाई बेलायतको राष्ट्रिय दिवसको रूपमा पनि मनाइने परम्परा अनुसार उक्त समारोह आयोजना गरिएको बताइएको छ । बेलायतका राजा चार्ल्स तृतीयको जन्मदिन भने नोभेम्बर १८ मा पर्छ ।