काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रुकुमपश्चिमको एक विद्यालयको भवन पुनर्निर्माण शुरु गरेको छ । बैंकले सानीभेरी गाउँपालिका–१ मा रहेको जनप्रिय आधारभुत विद्यालयको भवन पुनर्निर्माणका लागि शिलान्यास गरेको छ ।
२०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुईओटा भवनमध्ये एक भवनको पुनर्निर्माण बैंकको सहयोगद्वारा हुन लागेको हो ।
कुल १७५ जना विद्यार्र्थी अध्ययनरत रहेको यस विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन सञ्चालन भइरहेको छ ।
शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष बिर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सोही गाउँपालिकाको वडा नं.१ का वडाअध्यक्ष टेकबहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघको अध्यक्ष तुताराम खड्का, जनप्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्ट लगायत अन्य शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।
बैंकले समाजको विकासमा टेवा पुर्याउने उद्देश्यले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको जनाएको छ । आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बैंकको छ ।