लण्डन । लण्डनको वाटरलूनजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ ।
लण्डन मेट्रोपोलिटन प्रहरीले औँठाछाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए ।
गत मङ्गलवार फेला परेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशङ्कामा लण्डन प्रहरीले औँठाछाप परीक्षण गर्दा शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको हो । दूतावासले नेपालीको राहदानी विभागबाट मगाएको औँठाछाप परीक्षण गर्दा शवसँग सो औँठाछाप मिलेको लण्डन प्रहरीलाई उद्धृत गर्दै दुवाडीले जानकारी दिए ।
प्रहरीले अहिलेसम्मको अनुसन्धानमा ओलीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको र मृतकका परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको उनको भनाइ छ ।
हालसम्मको अनुसन्धान र घटनाक्रमबारे परिवारलाई खबर भइसकेको जानकारी दिँदै दुवाडीले भने, “प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले मृत्यु शङ्कास्पद नरहेको बताएको छ । बाँकी कुरा थप अनुसन्धानपछि बाहिर आउँला ।”
शव परीक्षण सकिएपछि नेपाल लाने वा बेलायतमै अन्तिम संस्कार गर्ने भन्ने विषयमा परिवारसँग समन्वय भइरहेको जानकारी उनले दिए । अप्रिल २१ देखि सम्पर्कविहीन भएपछि ओली अध्ययनरत क्याम्पसका विद्यार्थीले लण्डन प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएका थिए । रासस