काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको परिवर्तित शेयर बिहीवार नेप्सेमा अभिलेख गरिएको छ । कम्पनीले संस्थापक समूहतर्फको हिस्सा घटाउँदै सर्वसाधारणमा ८ लाख ९१ हजार २२४ दशमलव ३२ कित्ता शेयर परिणत गरेको हो । कुल कित्ता ८९ लाख ४ हजार २४२ दशमलव ३६ कित्ता शेयरमध्ये परिवर्तित पूँजी संरचना पश्चात् कायम भएको शेयर नेप्सेले अभिलेख गरेको हो ।
संस्थापकतर्फ ५१ दशमलव ४२ प्रतिशत र सर्वसाधारणतर्फ ४८ दशमलव ५८ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी कम्पनीको शेयर अभिलेख गरिएको जानकारी नेप्सेले दिएको छ ।
कम्पनीले संस्थापकतर्फ ६१ दशमलव ४२ प्रतिशत शेयर स्वामित्वमा १० प्रतिशत घटाएर सर्वसाधारणमा परिणत गरेको हो । शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव कम्पनीले गत कात्तिक १४ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।