विराटनगर । भारतीय गुणस्तर ब्यूरोले नेपाली उत्पादनलाई आफ्नो नियमभित्र उत्पादन गरेमा मात्र भारत निकासी गर्न अनुमति दिने नियम लागू गरेपछि कोशी प्रदेशका जुत्ता, प्लाइउडलगायत उद्योग प्रभावित बनेका छन् ।
भारत सरकारले सन् २०१६ मा कानून ल्याएर भारतीय गुणस्तर मापदण्ड लागू गर्ने निर्णय गरेको थियो । जुत्ता, सिमेन्ट, स्यानिटरी प्याड र प्लाइउडजस्ता वस्तुमा यो मापदण्ड हालै लागू गरिएको छ । तर, नयाँ प्रमाणपत्र वितरण र पुरानोको नवीकरणमा ढिलाइ गरेपछि नेपालबाट यी वस्तुको निर्यात केही महीनादेखि प्रभावित भएको छ ।
- जुत्ता, सिमेन्ट, प्लाइउड र स्यानिटरी प्याडजस्ता वस्तुको भारत निर्यात प्रभावित
- नेपालले विदेशी दुग्ध पदार्थ आयातमा लगाएको प्रतिबन्ध हटाउन दबाब दिन भारतले अहिले यो नियमको आडमा गैरभन्सार अवरोध खडा गरेको सरकारी स्रोतहरूको भनाइ
- जुत्ता उद्योगहरूले करोड रुपैयाँ बराबरको ल्याब स्थापना गरी परीक्षण गरेर पठाउन थाले
सरकारी स्रोतहरूले भने नेपालले गतवर्ष फागुनबाट विदेशबाट दुग्ध पदार्थ आयातमा लगाएको प्रतिबन्धका कारण भारतीय दुग्ध पदार्थ नेपाल आउन नपाएकाले अहिले भारतले यो गैरभन्सार अवरोध सृजना गरेकोे बताएका छन् ।
नयाँ दिल्लीले नेपालबाट भारतीय बजारमा जाने मालवस्तुको गुणस्तर परीक्षण र त्यसको अनुमति अनिवार्य गरेका कारण कोशी प्रदेशका उद्योगी व्यवसायीले निकासीमा थप खर्च बेहोर्नु परेको छ । दी ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डले तोकेको मापदण्डअनुसारको उत्पादन परीक्षणका लागि जुत्ता उद्योगहरूले १ करोड रुपैयाँ बराबरको ल्याब स्थापना गरी परीक्षण गरेर त्यसको प्रमाणपत्रका आधारमा मात्र निकासी गर्नुपर्ने अवस्था रहेको उद्योगीले बताएका छन् । त्यसरी १ करोड रुपैयाँ खर्च गरेर ल्याब राख्न नसक्ने उद्योगले भारतीय बजारमा आफ्नो उत्पादन विक्री गर्न पाउँदैनन् ।
नेपालबाट भारतीय बजारमा जाने जुत्ताको हकमा समेत यो नियम लागू भएपछि विराटनगरमा म्याजिक ब्रान्डमा जुत्ताचप्पल उत्पादन गर्ने कम्पनीले दिइएको समयभित्र १ करोडको गुणस्तर परीक्षण ल्याब स्थापना गरेर गुणस्तर परीक्षण गरी त्यसका आधारमा भारतीय बजारमा आफ्नो उत्पादन पठाउँदै आएको छ । म्याजिक चप्पलका कन्ट्री हेड महेश बाहेतीले भारतले दिएको समयभित्रै ल्याब स्थापना गरी गुणस्तर परीक्षण गरेर भारत निकासी गर्न थालेकाले कुनै समस्या बेहोर्नु नपरेको बताए ।
ल्याब स्थापनालगायतको खर्च भने करोड रुपैयाँभन्दा माथि पुगेको बाहेतीले जानकारी दिए । जुत्ता र चप्पलमा मात्र होइन, अहिले कोशी प्रदेशबाट निकासी हुने प्लाइउड उद्योगहरूले समेत भारतीय प्रावधान हेरेर आफ्नो उत्पादनलाई परिष्कृत गर्नुपरेको छ । नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस)ले तोकेको मापदण्डअनुसार उत्पादन गर्नुपर्ने भएकाले सोहीअनुसार तयारी गरिरहेको बताए ।
प्लाई उद्योगलाई मार्चसम्म समय दिइएकाले आफूहरूले पनि गुणस्तर परीक्षण गर्ने प्रविधि जडान गरी उत्पादन गर्ने तयारी गरेको उनले बताए । करीब ४ लाख ५० हजार रुपैयाँ खर्चमा गुणस्तर परीक्षण गर्ने प्रविधि जडान गरेपछि प्लाई उद्योगहरूले पनि भारतीय बजारमा सहज प्रवेश पाउने उनले बताए । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट भारतलगायत मुलुकमा प्लाइउडको निकासी बढेको छ । आर्थिक वर्ष (आव) २०७८/७९ मा प्लाइउड, प्लसडोर र ब्लकबोर्डको निकासी २७ करोड ६६ लाख ७२ हजार रुपैयाँ बराबर थियो । आव २०७९/८० मा ४ अर्ब ६८ करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको प्लाइउड निकासी भएको छ । आव २०८०/८१ को फागुनसम्ममा ४ अर्ब ८६ करोड ८६ लाख २६ हजार रुपैयाँको प्लाई भारत निकासी भएको तथ्यांक छ ।
अहिले विराटनगरका सेन्चुरी प्लाई र ग्रीन प्लाईले भारतीय गुणस्तर परीक्षणको प्रविधि जडान गरी उत्पादन गरेर भारत निकासी गरिरहेका छन् । अन्य उद्योगसमेत क्रमश: उक्त प्रविधि अवलम्बन गर्ने तयारीमा छन् । बन्धन सिमेन्टका सञ्चालक मनीष मारूले कोशी प्रदेशबाट सिमेन्ट भारतीय बजारमा नगएका कारण अहिले बीआईएसको मापदण्ड पालना गर्नु नपरेको बताए ।