काठमाडौं । पुस मसान्त नजिकिँदै जाँदा सूचीकृत कम्पनीहरूलाई वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने चटारो छ ।
यसै क्रममा लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि हरेक दिन कम्पनीहरूले बुक क्लोजको मिति तय गरिरहेका छन् । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बिहीवार साताको अन्तिम कारोबार दिन एक वाणिज्य बैंकसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । सिद्धार्थ बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी कम्पनीहरूले लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात् एचआईडिसिएल र सर्वोत्तम सिमेन्टले पुस १२ गते र सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सले पुस १४ गते बुक क्लोज गर्ने भएका छन् । यस आधारमा अघिल्लो कारोबार दिन पुस ११ गते (आज)सम्म कायम सम्बन्धित कम्पनीका शेयरधनीहरू लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
सिद्धार्थ बैंकले यस वर्ष ४ प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २८ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजे २३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५ दशमलव २५ प्रतिशतका दरले करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २४ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको तेह्रौं वार्षिक साधारण सभा बबरमहलस्थित कार्की ब्याङ्केटमा बिहान १० बजे शुरु हुनेछ ।
सर्वोत्तम सिमेन्टले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत करसमेत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले यही पुस २६ गते रुपन्देहीको भैरहवास्थित होटल भिलासामा छैटौं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
ग्रीन भेन्चर्सले भने १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २८ गते काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा छैटौंं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।