काठमाडौं। बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक रोबोटिक शल्यक्रियाको शुरुआत गरेको छ । यो उपलब्धिलाई अस्पतालले नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुंगा भएको बताएको छ, जसले शल्यक्रिया गर्ने तरीकामा आमूल परिवर्तन ल्याउने र बिरामीको स्वास्थ्योपचारमा थप सुधार गर्ने अपेक्षा अस्पतालको छ ।
यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सूक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटिक ढंगले सम्भव बनाउने, रिकभरी समय कम गर्ने र बिरामीका लागि छिटो स्वास्थ्य लाभ हुने बताइएको छ । उच्च प्रशिक्षित सर्जनद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिक र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवाप्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको बताइएको छ ।
अस्पतालका प्रा.डा. जगदीशलाल बैद्यले नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा उत्साहित भएको बताए । उनले भने, ‘यो नवीन प्रविधि हाम्रा बिरामीलाई विश्वस्तरीय चिकित्सा सेवाप्रदान गर्ने प्रतिबद्धतामा महत्त्वपूर्ण कदम हो, यसले शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउँदै परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्नेछ ।’