काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयन गर्दा अनुदान वा सहुुलियतपूर्ण ऋण मात्र लिइने स्पष्ट पार्नुभएको छ ।
नेपालले सन् २०१७ मा बीआरआईको छाता सम्झौतामा हस्ताक्षर गरेको थियो । हाल दुई देशबीच यसको कार्यान्वयन योजनाबारे छलफल चलिरहेको छ, जसमा नेपालले चीनबाट अनुदान तथा सस्तो ब्याजको ऋण लिएर परियोजना कार्यान्वयन गर्ने कुरालाई प्राथमिकतामा राखेको सरकारी अधिकारीहरूले बताउँदै आएका छन् ।
पश्चिमा देशहरूले चीनले महँगोमा ऋण दिएर गरीब राष्ट्रहरूलाई ऋणको पासोमा फसाएको आरोप लगाउँदै आएका बेला प्रधानमन्त्री दाहालले मंगलवार प्रतिनिधिसभामा बोल्दै अनुदान र सहुलियतपूर्ण ऋण लिने नै सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।
‘पहिलो प्राथमिकता भनेको अनुदान नै हो,’ उहाँले भन्नुभयो, ‘ऋण लिँदा पनि एशियाली विकास बैंक (एडीबी) र विश्व बैंकले दिँदै आएको ब्याजदरभन्दा बढी नतिर्ने गरी लिन सकिन्छ ।’
एडीबी र विश्व बैंकले लिने ब्याजदरबारे स्पष्ट पार्दै उनले भने, ‘यो भनेको १ प्रतिशत वा १ दशमलव ५ प्रतिशतभन्दा बढी नजाने भनिएको हो ।’ विश्व बैंक र एडीबी नेपालको सबैभन्दा ठूला दातृनिकाय हुन् ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विश्व बैंकका अधिकांश ऋणमा शून्य दशमलव ७५ प्रतिशत ब्याजदर छ । एशियाली विकास बैंकको वार्षिक ब्याजदर १ दशमलव ५ प्रतिशतसम्म छ ।
प्रधानमन्त्रीले बीआरआई कार्यान्वयनको सम्झौता गर्ने तयारी भएको जानकारी गराएपछि सांसदहरूले अनुदान लिने कि ऋण भनेर सोधेका थिए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाल ऋणको भारमा परेको र थप ऋण लिने विषयमा सोच्नुपर्ने बताए । ‘हाम्रो ऋण ठूलो छ र ऋणको आकार बढ्दै छ । यो परिप्रेक्ष्यमा हामीले कस्तो खाले सहयोग के आधारमा लिने भनेर बीआरआई कार्यान्वयन सम्झौता हस्ताक्षर गर्दै छौं ?’ महतले सोधे ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ऋण लिने विषयमा पुन: स्पष्टीकरण माग गरे । जवाफमा प्रधानमन्त्री दाहालले ऋणको भारमा नपर्ने गरी बीआरआई कार्यान्वयन सम्झौता गरिने बताउनुभयो । ‘ऋणको माखेसाङ्लोमा नपर्ने गरी यो (बीआरआई) अगाडि बढाउँछौं,’ उहाँले भन्नुभयो ।
मंगलवार भएको नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा पनि बीआरआई कार्यान्वयन योजनामा छलफल भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । विगतमा राष्ट्रिय योजना आयोग र चीनको पनि उही तहको संस्थाबीच बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्ने योजना रहे पनि अब परराष्ट्र सचिवस्तरमा हस्ताक्षर गर्ने गरी कुरा अघि बढेको प्रधानमन्त्रीले बताउनु भयो ।
‘अहिले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका सचिवहरूले हस्ताक्षर गर्ने सम्भावना बढेको छ तर टुंगिइसकेको छैन,’ उनले भने । बीआरआई कार्यान्वयन योजनामा सहमति बन्न नसक्दा यसअन्तर्गत परियोजना राख्ने र कार्यान्वयन गर्ने काम हुन सकेको छैन । चीनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गतको परियोजना भने पनि नेपाल सरकारले यसअन्तर्गत हालसम्म कुनै परियोजना कार्यान्वयनमा नगएको स्पष्ट पारेको छ ।
तर, बीआरआई कार्यान्वयन योजनामा सहमति बनेपछि विभिन्न परियोजनाको कार्यान्वयन चिनियाँ वित्तीय लगानीमा गर्न सकिने सरकारी अधिकारीहरूले बताउँदै आएका छन् ।
दाहाल प्रधानमन्त्री र कांग्रेस नेता डा. महत परराष्ट्रमन्त्री भएका बेला सन् २०१७ मा नेपाल र चीन सरकारबीच बीआरआईको पे्रmमवर्क सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री दाहालले गतवर्ष असोजमा आफ्नो चीन भ्रमणका बेला समेत बीआरआई कार्यान्वयन गर्ने विषयमा छलफल भएको स्मरण गर्नुभयो । ‘त्यसको निरन्तरतामा कार्यान्वयन सम्झौता हुन लागेको हो,’ उहाँले भन्नुभयो ।
तर, बीआरआईअन्तर्गत कार्यान्वयन गरिने परियोजना हालसम्म छनोट हुन सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुँदा ऋण लिने गरी बीआरआई परियोजना अगाडि बढाउन नसकिने बताएका थिए । दुई देशका सरकारी अधिकारीहरूबीच लामो समयदेखि ऋण वा अनुदानमै छलफल चलिरहे पनि परिणाम निस्कन सकेको छैन । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बीआरआई कार्यान्वयनमा ढिलाइ भएको स्वीकारेका छन् । ‘यसमा दुई पक्ष सहमतिमा आउन बाँकी छ । म आशा गर्छु, हामी बीआरआईअन्तर्गतका परियोजना छिट्टै कार्यान्वयन गर्नेछौं,’ उनले आर्थिक अभियानसँग भने ।
‘अनुदान दिन चीन अनिच्छुक’
काठमाडौंमा नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा बीआरआई कार्यान्वयन योजनाका सन्दर्भमा कुनै निष्कर्ष निस्कन सकेन । बैठकमा द्विपक्षीय सम्बन्ध र सहयोगबारे छलफल भए पनि बीआरआईबारे ठोस सहमति नभएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘दुई देशबीच बीआरआईसहितमा रहेका असमझदारीहरू छलफलबाट टुंग्याउने भनिएको छ तर त्यस्तो ठोस सहमति केही भएन,’ बैठकमा सहभागी ती अधिकारीले भने ।
बीआरआई कार्यान्वयनका लागि प्रारम्भिक समझदारी गर्न खोजे पनि यसपटक सफल हुन नसकेको ती अधिकारीको भनाइ छ । बैठकमा चिनियाँ प्रनिनिधिमण्डलको नेतृत्व चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङ र नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले गरेकी थिइन् । नेपालका तर्फबाट बीआरआई परियोजना अघि बढाउन अनुदान दिन चिनियाँ पक्षलाई प्रस्ताव राखिए पनि त्यसमा उनीहरू तयार नभएको मन्त्रालयका एक अधिकारीले बताए । त्यसपछि विश्व बैंक, एशियाली विकास बैंकसरह ब्याजदरमा ऋण लिन नेपालले उक्त बैठकमा प्रयत्न गरे पनि ठोस जवाफ उनीहरूबाट नआउँदा बीआरआई अघि बढाउनेबारे औपचारिक रूपमा कुनै निर्णय हुन नसकेको परराष्ट्र मन्त्रालयका ती अधिकारीले बताए ।
संयन्त्रको बैठकमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जालको क्षेत्रमा हुने सहयोग आदानप्रदानबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकका क्रममा दुवै पक्षले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धको समग्र पक्षको समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति र विगतमा भएका निर्णयहरूको मूल्यांकन गरेका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए । परराष्ट्रसचिव सेवा लम्सालले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि धन्यवादसमेत दिएको राईले बताए ।
सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा चीनमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धनलगायत व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायत क्षेत्रमा सहयोग बढाउनेबारे छलफल भएको थियो । दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र परराष्ट्रमन्त्री स्तरमा संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी अधिकारीहरूको भनाइ छ ।