काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ देखि फागुन १९ गतेसम्म लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर खरीदका लागि प्राप्त शिलबन्दी बोलपत्र फागुन २२ गते खोली फागुन २७ गते बाँडफाँट गरेको हो ।
कम्पनीको संस्थापकतर्फ लकइनमा रहेको ६ लाख ७६ हजार १९१ कित्ता शेयर प्रतिकित्ता २२८ रुपैयाँ ११ पैसा, सर्वसाधारणतर्फको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता शेयर प्रतिकित्ता २२६ रुपैयाँ र सर्वसाधारणतर्फको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयरको मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ ५० पैसा अन्तिम मूल्य कायम गरी बाँडफाँट गरेको जानकारी दिएको छ ।
अवितरित हकप्रद शेयर बाँडफाँटमा नपरेका आवेदकहरूको शेयरबापतको रकम फागुन २८ गतेदेखि फिर्ता भुक्तानी गरिएको छ । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले यसअघि मंसिर २७ देखि पुस १७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री हुन नसकेको उल्लेखित कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । यी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
पहिलो चरणमा १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर विक्री नभएको हो । लिलामीमा आएको सम्पूर्ण कित्ता शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीले आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रवद्र्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा बैंक ऋण र ठेकेदार तथा विक्रेताहरूको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गरेको हो ।
यस कम्पनीको कुल १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता शेयरको लकइन अवधि आगामी चैत २९ गतेदेखि सकिँदैछ । कम्पनीको संस्थापकतर्फको १ करोड ४७ लाख २३ हजार ७६० कित्ता, स्थानीयतर्फको १८ लाख २७ हजार ९७० कित्ता र कर्मचारीतर्फको ७३ हजार ११९ कित्ता शेयर तीन वर्ष अवधिका लागि लकइनमा रहेको थियो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २०७८ चैत २९ गते शेयर बाँडफाँट गरेको थियो । सर्वसाधारण लगानीकर्तामा शेयर बाँडफाँट भएको तीन वर्षसम्म उल्लेखित शेयर लइकनमा रहने व्यवस्था रहेको छ ।
लकइन अवधि सकिएपछि सम्बन्धित शेयरधनीहरूले यी शेयर कारोबार गर्न सक्नेछन् । तर, सञ्चालक सदस्य रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने पदमा रहेसम्म तथा पदबाट हटेपछिको एक वर्षसम्म शेयर खरीद विक्री गर्न पाइने छैन ।