काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर खरीद लागि माग भएको गोप्य सिलबन्दी बोलपत्र फागुन २२ गते खोल्ने भएको छ । विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान ८ बजे बोलपत्र खोलिने कार्यक्रम तय भएको हो ।
कम्पनीले यस अघि मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री हुन नसकेको संस्थापकतर्फको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारणतर्फको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणतर्फको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । कम्पनीको सर्वसाधारणतर्फको लइकनमा रहेको शेयर आगामी चैत २९ गतेपछि कारोबारयोग्य हुनेछ । यी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । पहिलो चरणमा १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर विक्री नभएको हो ।
लिलामीमा आएको सम्पूर्ण कित्ता शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रवर्द्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा बैंक ऋण र ठेकेदार तथा वि क्रेताहरुको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गरेको हो ।