काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर फागुन ५ गते देखि लिलामीमा ल्याएको छ ।
कम्पनीले यसअघि मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री हुन नसकेको संस्थापतर्फको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारणतर्फको ‘लक–इन’मा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणतर्फको ‘लक–इन’मा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।
कम्पनीको सर्वसाधारणतर्फ ‘लक–इन’मा रहेको शेयर आगामी चैत २९ गतेपछि कारोबारयोग्य हुनेछ । लिलामीमा आउने शेयर खरीदका लागि फागुन १९ गतेभित्र आवेदन पेश गरिसक्नुपर्नेछ ।
यी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।
आवेदन विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौं वा एनआइएमबि एस कयापिटलको शाखा कार्यालयहरू पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट समेत प्राप्त गर्न र पेश गर्न सकिनेछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
पहिलो चरणमा १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर विक्री नभएको हो । लिलामीमा आएको सम्पूर्ण कित्ता शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ ।
कम्पनीले आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रवद्र्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा बैंक ऋण र ठेकेदार तथा विक्रेताहरूको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गरेको हो ।