रूपन्देही । बुटवल उप–महानगरपालिकाले शिक्षा योजना तयार पारेको छ । आगामी ५ वर्षभित्र प्रत्येक बालबालिका, व्यक्ति र समुदायलाई उत्पादनमूलक तथा व्यावहारिक शिक्षाको पहुँच पुर्याउने दूरदृष्टि रहेको ‘बुटवल शिक्षा योजना’ सोमवार सार्वजनिक गरिएको हो ।
उप–महानगर प्रमुख शिवराज सुवेदीले शिक्षा योजना सार्वजनिक गर्दै शिक्षालाई पहिलो प्राथमितामा राखिएको बताए । ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवलमार्फत समृद्ध बुटवल, सुखी जनताको लक्ष्य हासिल गर्नेगरी बुटवल आवधिक र दीर्घकालीन महत्त्वका योजना तय गरेका छौं,’ उनले भने ।
शिक्षा योजना तयार पार्ने क्रममा जोडिएका विभिन्न विषयका विज्ञ, प्राविधिक, शिक्षासँग सरोकारवाला लगायत सबैलाई धन्यवाद व्यक्त गर्दै उनले कार्यान्वयनमा पनि सबैको सहकार्य र सहयोगको खाँचो रहेको बताए । उत्पादनमूलक, व्यावहारिक, शीपयुक्त र प्राविधिक शिक्षाको पहुँच सबैमा पुर्याउने योजनाको दूरदृष्टिलाई साकार पार्नेतर्फ केन्द्रित हुन उनले सबै सरोकारवालालाई आग्रह गरे ।
सम्पूर्ण बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरूको समेत मैलिक आधिकारको संरक्षण गर्दै उनीहरूलाई सहज, सुलभ, सरल तथा आवश्यकता अनुसार शिक्षा प्रदान गर्न २०७६/७७ देखि २०८०/८१ सम्मको पञ्चवर्षीय शिक्षा योजना सरोकारवाला पक्षको सहभागितामा तयार पारिएको प्रमुख सुवेदीले बताए । नगरपालिकाभित्रका शैक्षिक मुद्दा तथा चुनौतीहरूलाई प्राथमिकताका आधारमा समाधान गर्न प्रदेश तथा उपनगरपालिका सम्बद्ध जनप्रतिनिधि, वडा शिक्षा समिति, विद्यालयहरू, प्राविधिक तथा शीपमूलक शिक्षण संस्थाहरू, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अन्य सम्बद्ध शैक्षिक संस्थाको अन्तरक्रिया, छलफल सम्पन्न गरी योजनाको निर्माणमा प्राथमिकता प्रदान गरिएको शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।
आगामी ५ वर्षभित्र बुटवल उप–महानगरपालिकामा शिक्षा प्राप्त गर्न सक्ने उमेर समूहका प्रत्येक बालबालिका, व्यक्ति र समुदायलाई उत्पादनमूलक, व्यावहारिक तथा शीपयुक्त व्यावसायिक र प्राविधिक शिक्षाको पहुँच पुर्याउने योजनाको दूरदृष्टि रहेको छ । बुटवल उप–महानगरको पाँचवर्षे शैक्षिक योजना अन्तर्गत सबै सामुदायिक विद्यालयलाई मन्टेस्सोरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयलाई समेत पाठ्यक्रममा समेट्ने योजना रहेको योजना रहेको निर्माण कार्यदलका संयोजक छवि नेपालले जानकारी दिए ।
शिक्षालाई सूचना प्रविधिमैत्री र हिंसामुक्त बनाउन बालबालिकालाई भयरहित वातावरणमा शिक्षा प्रदान गर्ने योजनालाई अगाडि बढाइएको उनको भनाइ छ । यसैगरी पञ्चवर्षीय शैक्षिक योजनामा कक्षा ९ देखि कक्षा १२ सम्मको शिक्षालाई प्राविधिक शिक्षाको रूपमा थप व्यवस्थित गरी अगाडि बढाउने, विद्यालय नक्सा तयार गरी अनावश्यक विद्यालयलाई सेक्टर बेसमा समायोजन गर्दै लैजाने तथा विद्यालय ग्यापको आधारमा आवश्यक ठाउँमा विद्यालय स्थापना गरिने योजनामा उक्त उल्लेख छ ।