काठमाडौं । चार कारोबार दिन निरन्तर घटेको नेप्से आज (सोमवार) भने शून्य दशमलव ८८ प्रतिशतले बढेको छ । आइतवारको तुलनामा नेप्से परिसूचक २३ दशमलव १९ अंक बढेर २ हजार ६५३ दशमलव शून्य ९ विन्दुमा बन्द भएको हो । २ हजार ६२७ दशमलव ७६ विन्दुसम्म झरेको बजार आज २ हजार ६५७ दशमलव ३४ विन्दुसम्म पुगेको थियो । निरन्तर घटेको बजारबाट सोमवार जलविद्युत्तर्फको शेयरमा लगानीकर्ताको खरीद चाप उच्च हुँदा बजार बढ्न पुगेको ब्रोकरहरु बताउँछन् ।
आज ८ कम्पनीका शेयरको मूल्य उच्च दरमा बढेको छ । ती सबै कम्पनी जलविद्युत् क्षेत्रका रहेका छन् । आज मकर जितुमाया सुरी, पियोर इनर्जी, दोल्ती पावर र बिन्ध्यवासिनी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ । त्यस्तै बुटवल पावरको ९ दशमलव ८३ प्रतिशत, माया खोला हाइड्रोपावरको ९ दशमलव ७४ प्रतिशत, रावा इनर्जीको ९ दशमलव १८ प्रतिशत र घलेम्दी हाइड्रोको ९ दशमलव शून्य १ प्रतिशत शेयरमूल्य बढेको हो ।
सोमवारको कारोबारमा १९१ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने ५६ कम्पनीको शेयरमूल्य घटेको छ । आज साना किसान विकास लघुवित्तको शेयरमूल्य भने स्थिर रही प्रतिकित्ता ७९० रुपैयाँ ३८ पैसा कायम भएको छ । आज बढेको बजारमा भूगोल इनर्जीको शेयरमूल्य सर्वाधिक ७ दशमलव ४७ प्रतिशतले घटेको छ ।
जलविद्युत् क्षेत्रका कम्पनीको शेयर खरीदमा उच्च आकर्षण हुँदा आज जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ३५ प्रतिशतले बढेको छ । यो दिन होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव २५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ९ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ४४ प्रतिशतले घटेको छ । यी वाहेक सबै समूहको परिसूचक बढेको हो ।
सोमवार एकै दिन ३८ अर्ब ६३ करोड ६२ लाख रुपैयाँले कुल बजार पूँजीकरण बढेसँगै ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख कुल बजार पूँजीकरण कायम भएको छ । यसअघिका दुई कारोबार दिन कुल बजार पूँजीकरण ४४ खर्बभन्दा तल नै रहेको थियो । आइतवार कुल बजार पूँजीकरण ४३ खर्ब ८० अर्ब ५७ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।
आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । आइतवार ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँभन्दा बढीको १ करोड ९९ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा सोमवार ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँभन्दा बढीको १ करोड ७५ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा आज पनि राधी विद्युत् कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । आज यस कम्पनीको ६२ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको यो कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता २ रुपैयाँ २६ पैसाले बढेर अन्तिम मूल्य ८२६ रुपैयाँ ५५ पैसा कायम भएको छ ।