काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत ५५ लघुवित्त कम्पनीहरुमध्ये चार लघुवित्त कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्था,स्वावलम्बन लघुवित्त वित्तीय संस्था,आरएसडिसी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन ।
यी कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।
त्यस्तै दोस्रोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले अहिले प्रस्ताव गरेको लाभांश १० वर्षयताकै न्यून हो । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र ६ दशलमव ०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको थियो ।
त्यस्तै आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यस्तै गरी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट पनि आफ्ना शेयरधनीलाई १४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले नगद लाभांशमा जोड दिएको छ ।
यी चार लघुवित्त कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूले प्राप्त गर्ने छन् ।
लाभांश प्रस्ताव गरेका कम्पनीमध्ये स्वावलम्बन लघुवित्त र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांशदर गत वर्ष भन्दा यस वर्ष घटेको देखिएको छ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थालाई लाभांशमा केही कडाई गरेको छ । नेपाल राष्ट्र बैंकले निर्देशिकामार्फत १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने लघुवित्त कम्पनीलाई बढी हुने लाभांशको कुल ९५ प्रतिशत रकम विभिन्न कोषमा जम्मा गर्नुपर्ने प्रावधान ल्याएपछि केही लघुवित्त कम्पनीहरूको लाभांश दर घटेको छ । लाभांश दर घटेसँगै शेयर मूल्य पनि ओरालो लागेको छ ।
एक वर्षअघि भने दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये लघुवित्तहरूको शेयरमा लगानीकर्ताहरूको आकर्षण बढी थियो । यो क्षेत्रका कम्पनीहरूको शेयर मूल्य बजार बढ्दा उच्च दरमै बढ्ने गरेकाले कम मूल्यमा शेयर खरीद गर्दा पनि भविष्यमा राम्रो नाफा कमाउन सकिने, अरु सेक्टरका कम्पनीहरूको तुलनामा लघुवित्त कम्पनीहरूले लाभांश पनि राम्रो दिनेलगायत त्यतिबेला लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीहरूको शेयरमा देखिएको जानकार बताउँछन् ।