काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडको कुल १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता शेयरको 'लकइन' अवधि आगामी चैत २९ गतेदेखि सकिने भएको छ ।
कम्पनीको संस्थापकतर्फको १ करोड ४७ लाख २३ हजार ७६० कित्ता, स्थानीयतर्फको १८ लाख २७ हजार ९७० कित्ता र कर्मचारीतर्फको ७३ हजार ११९ कित्ता शेयर तीन वर्ष अवधिका लागि 'लकइन'मा रहेको थियो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २०७८ चैत २९ गते शेयर बाँडफाँट गरेको थियो ।
सर्वसाधारण लगानीकर्तामा शेयर बाँडफाँट भएको तीन वर्षसम्म उल्लेखित शेयर 'लकइन'मा रहने व्यवस्था रहेको छ । 'लकइन' अवधि सकिएपछि सम्बन्धित शेयरधनीहरूले यी शेयर कारोबार गर्न सक्नेछन् । तर, सञ्चालक सदस्य रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने पदमा रहेसम्म तथा पदबाट हटेपछिको एक वर्षसम्म शेयर खरीद विक्री गर्न पाइने छैन ।
यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गरिसकेको छ । कम्पनीले मंसिर २७ देखि पुस १७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गरी सो अवधिमा विक्री नभएको शेयर फागुन ५ देखि फागुन १९ गतेसम्म लिलामी प्रक्रियाबाट विक्री गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
पहिलो चरणमा १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर विक्री नभएको हो । लिलामीमा आएको सम्पूर्ण कित्ता शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ ।
कम्पनीले आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रवर्द्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा बैंक ऋण र ठेकेदार तथा विक्रेताहरूको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गरेको हो ।