दुग्ध उत्पादनमा नेपाल आत्मनिर्भर हुँदै गएको भए पनि त्यसको बजार भने अनिश्चित बनेको छ । कहिले मागअनुसार आपूर्ति नहुने अवस्था छ भने कहिले आपूर्ति बढी भएर समस्या हुने गरेको छ । यसमा सरकार र दुग्ध उत्पादक किसान दुवैले सही रणनीति लिनुपर्ने देखिन्छ । अन्यथा आत्मनिर्भर हुन लागेको यो व्यवसाय
समस्यामा पर्न सक्छ ।
नेपाल पशुपालनका लागि उपयुक्त मानिन्छ । पछिल्लो समय उन्नत जातका गाईभैंसी पालन बढ्दै जाँदा दूधको उत्पादन पनि बढ्दै गएको छ । सरकारले उन्नत जातका गाईभैंसीको संख्या बढाउन भारतबाट विकसित जातको मुर्रा राँगो पनि ल्याएको छ । यसले दुग्ध उत्पादन बढाउने नै छ । यस्तोमा दुग्धजन्य उत्पादनको विविधीकरण गर्न आवश्यक छ ।
एकातिर दूध विक्री नभएको किसानले गुनासो गरिरहेका छन् भने अर्कातर्फ दूधको मूल्य नपाएको गुनासो पनि चर्कै छ । दुध विक्रीको पैसा पनि पाउन सकेका छैनन् । त्यस्तै दूधको मूल्य बढ्दा यसको खपत घटेर पनि समस्या भएको देखिन्छ । यही कारण नेपाली चिज उद्योग संकटमा परेको खबर पनि सार्वजनिक भएको छ । यो कसरी
भयो ? पक्कै पनि यसमा कतै त कतै समस्या छ भन्ने देखिन्छ । नेपालमा मात्र नभई विदेशमा समेत निर्यात हुनसक्ने चिज उद्योगमा यसरी समस्या देखिनु राम्रो होइन । जसरी अहिले चिज उद्योग सम्बद्ध व्यवसायीले समस्या समाधान गर्न आग्रह गरेका छन्, त्यसमा सरकारले ध्यान दिन आवश्यक छ ।
दूधजस्तो चिज तुरुन्तै बिग्रिहाल्ने उत्पादन होइन । दूधको दाँजोमा यो बढी समयसम्म भण्डारण गर्न सकिन्छ, खासगरी कडा खालको चिज रेफ्रिजरेशनविना पनि लामो समयसम्म राख्न सकिन्छ । नेपालबाट अहिले भारत, जापान र अमेरिका चिज निर्यात भइरहेको छ । भारतबाट सबैभन्दा बढी चिज आयात भएको छ भने निर्यात पनि सबैभन्दा बढी भारतमै भएको देखिन्छ । विदेशबाट आउने चिज बढी नरम खालको देखिन्छ । त्यसैले भारतीय चिजकै कारण नेपाली चिजले बजार पाएन भनेर मात्र व्यवसायीहरू चुप लागेर बस्नु हुँदैन ।
विश्वमा चिजको ठूलो माग छ । ती देशमा नेपाली चिज निर्यात हुन सक्छ । त्यसतर्फ सरकारले पनि ध्यान दिनुपर्छ र यसको निर्यात बढाउन सहयोग गर्नुपर्छ । यहीँनेर हो– सरकारको आर्थिक कूटनीतिको सफलता देखिने ठाउँ । यदि यसो गर्न सक्दैन भने सरकारकै कमजोरी हो भन्न सकिन्छ ।
नेपालको अर्थतन्त्र कमजोर हुनुको एउटा प्रमुख कारण उत्पादन कम हुनु हो । जुनजुन क्षेत्रमा राम्ररी उत्पादन भइरहेको छ तिनलाई प्रतिस्पर्धी बनाउन सरकारले अनुदान दिने, कर छूट दिने आदि गर्नुपर्छ । त्यसो गरेर मुलुकभित्रको बजार बलियो बनाइदिनुपर्छ र निर्यातका लागि पनि पहल गरिदिनुपर्छ । सबै काम सरकारले गरिदिने र व्यवसायीले नाफामात्रै खाने भन्ने पनि हुँदैन । सरकारले नीतिगत सहजता थपिदिने हो । गुणस्तरीय उत्पादन गर्ने, बजारको मागअनुसार सामान उत्पादन बढाउने काम व्यवसायीको नै हो । त्यसैले व्यवसायीले पनि यसतर्फ ध्यान दिनु जरुरी छ ।
सरकारले निजीक्षेत्रको कुरा नसुन्ने र निजीक्षेत्रले पनि सरकारको मुखमात्रै ताक्ने बानीले मुलुकमा उद्योगव्यवसाय फस्टाउन सक्दैन, भएका पनि सुक्दै जान्छन् । हरेकले आआफ्नो क्षेत्रबाट कसरी उत्पादन बढाउने, त्यसको बजारीकरण गर्ने, त्यसलाई कसरी दिगो बनाउनेजस्ता कुरामा नवीन ढंगले सोचेर काम गर्नु जरुरी छ ।
चिज उत्पादनका लागि आधुनिक उपकरणको समेत प्रयोग गर्न सकिने भएकाले यस्ता उपकरणको प्रयोग गरेर पनि उत्पादन वृद्धिमा लाग्न सकिन्छ । मुख्य कुरा चिज जस्तो उत्पादन राज्यको प्राथमिकतामा पर्नुपर्छ र यसबाट उत्पादनकर्ता र किसानले लाभ लिनसक्ने अवस्था आउनुपर्छ ।