काठमाडौं | संसारका सबैजसो मानिस आफ्नो घर तथा निवास सुन्दर बनाउन चाहन्छन् । आजभोलि घरको आन्तरिक सौन्दर्य तथा आकर्षण बढाउन विभिन्न तरीका अपनाउन थालिएको छ । तीमध्ये घरको सजावटमा चित्रकलाको प्रयोग पनि प्रभावकारी हुँदै आएको छ । चित्रकला प्राचीनकालदेखि नै घरको सजावट तथा सौन्दर्यका लागि प्रयोग हुँदै आएको पाइन्छ । घर, अफिसमा चित्रकलाको बढ्दो प्रयोगसँगै अहिले विश्वभर नै यसको व्यावसायिक विकास भइरहेको चित्रकारहरू बताउँछन् । चित्रकलालाई घरको शोभादायक मात्र होइन, शान्ति र सम्पदाको प्रतीकसमेत मानिन्छ । यही महत्व बुझेर शौखीन र सम्पन्न परिवारले पहिलेदेखि नै घरमा चित्रकलालाई विशेष स्थान दिँदै आएको पाइन्छ ।
चित्रकला विलासिताको वस्तु मानिने गर्छ । तर, अहिले यो घरकोठा सजाउन आवश्यकता नै बन्दै गएको छ । चित्रकलाको लोकप्रियता बढेसँगै हाल निम्न तथा मध्यमवर्गीय नेपालीसमेत यसप्रति आकर्षित हुन थालेका छन् । घरमा के–कस्तो चित्रकला राख्ने भन्ने व्यक्तिकोे रुचिमा भर पर्छ । संस्कृति र परम्परा झल्काउने चित्रले सुन्दरतासँगै शिक्षा पनि प्रदान गर्छ । काठ, कागज वा क्यानभासमा कोरिएका ठूला र सुन्दर तस्वीरले घर सजाउँदा थप आकर्षण थपिन्छ । घर वा कोठा सुन्दर बनाउन आफ्नैै मौलिकता झल्काउने चित्रकला र तस्वीरको प्रयोग पनि गर्न सकिन्छ । चित्रकला मुख्यतया तीन प्रकारको हुन्छ :
मूर्त चित्रकला
मूर्त चित्रकला भन्नाले कुनै पनि मूर्त रूप, जसलाई आँखाले देख्न र सजिलै बुझ्न सकिन्छ । कुनै पनि वस्तुलाई जस्ताको तस्तै चित्रमा उतारियो भने त्यसलाई मूर्त चित्रकला भनिन्छ । काठ, भित्ता वा क्यानभासमा विभिन्न रङको सहायताले देवता, मानिस, वनजङ्गल, हिमाल आदिको मूर्त चित्र बनाउन सकिन्छ । यस्ता चित्रकला घर तथा कोठामा सजाएर जीवन्त रूप दिन सकिन्छ । जस्तै– कोठामा समुद्रको मूर्त चित्र छ भने त्यसले मानिसलाई कोठामै समुद्रमा पुगेको आभास गराउन सक्छ ।
अर्धमूर्त चित्रकला
अर्धमूर्त चित्रकला भन्नाले पूरै मूर्त चित्र पनि होइन, पूरै अमूर्त (एबष्ट्र्याक्ट) चित्र पनि होइन भन्ने बुझिन्छ । अर्धमूर्त चित्रकलाअन्तर्गत सामान्य रूपमा बुझ्न सकिने चित्र पर्छन् । दर्शकले यस्ता चित्रको अर्थ आधाजसो बुझ्न सक्छन् । मूर्त चित्रकलाले जस्तै यस प्रकारको चित्रकलाले पनि घर वा कोठा सजाउन सकिन्छ । यस्ता चित्रको प्रयोगले कोठाको सौन्दर्यमा निखार ल्याउन सकिन्छ । यस्ता चित्रले मानिसको मनमस्तिष्क शान्त बनाउनुका साथै ध्यान केन्द्रित गर्न सहयोग पुर्याउँछन् ।
अमूर्त चित्रकला
घर तथा कोठाको सजावटमा अमूर्त चित्रकलाको भूमिका पनि महत्वपूर्ण हुन्छ । अमूर्त चित्रकला सजिलै बुझ्न सकिँदैन । साथै, यसको अर्थ पनि दर्शक बुझाइअनुसार फरक हुन सक्छ । यस चित्रकलाको विशेषता नै यसलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गर्न सकिनु हो । घर तथा कोठामा अमूर्त चित्रको प्रयोगले नवआगन्तुकहरू छिट्टै प्रभावित हुन सक्छन् । यस्तो चित्रले मनलाई बेग्लै आनन्द प्रदान गर्छ । कोठामा अलौकिक आभास दिलाउनुका साथै मानिसलाई सृजनात्मक बनाउन पनि अमूर्त चित्रकलाले सहयोग पुर्याउँछ ।
घरको सौन्दर्य बढाउन उल्लिखित सबै प्रकारका चित्रकलाको आफ्नै महत्व हुन्छ । घर सजाउन व्यक्तिगत रुचि र चाहनाअनुसार कुनै पनि चित्रकलाको प्रयोग गर्न सकिन्छ । कुनै पनि निर्जीव वस्तुलाई चित्रकलाले जीवन दिने यसका पारखीहरू बताउँछन् । उनीहरूका अनुसार चित्रकला मानव सभ्यताको परिचयसमेत भएकाले यसको संरक्षणको आवश्यकता भएको छ । व्यक्ति, समाज वा देशलाई बुझ्नु छ भने त्यसले कलाको कत्तिको संरक्षण गरेको छ भन्ने थाहा पाए पुग्ने कलाविद्हरू बताउँछन् ।