वैशाख ७, चितवन । अनुशा पाठकको नेतृत्वमा चितवन महिला चेम्बर गठन भएको छ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको उपस्थितिमा शुक्रवार आयोजित एक समारोहका बीच उक्त महिला चेम्बर गठन भएको हो ।
नवगठित चितवन महिला चेम्बरको उपाध्यक्षमा भवानी पंडित, महासचिवमा सिता सापकोटा, सचिवमा निरु कार्की, सह–सचिवमा मुना पाण्डे, कोषाध्यक्षमा पिंकी लामा चयन भएका छन् । यसैगरी सदस्यहरुमा शर्मिला हमाल, छायाँ श्रेष्ठ, अन्जु लामिछाने, जुली श्रेष्ठ, सकिला परियार, मन्जु मकाजु श्रेष्ठ, चिनु बस्नेत, डा. जेनी श्रेष्ठ, जमुना श्रेष्ठ, निशा ढकाल र गीता सेढाईलाई चयन भएका छन् ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले महिला उधमीहरुद्वारा उत्पादित वस्तु तथा सेवालाई अन्तरराष्ट्रिय बजारसम्म पहुँच पुर्याउन नेपाल चेम्बरले सक्दो सहयोग गर्ने बताए । त्यस्तै महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नवगठित समितिले महिला उधेमीहरुलाई एकत्रित गरी महिलाको आर्थिक सशक्तिकरण र सुखी नेपाली सम्वृद्ध नेपालको नारालाई सफल पार्न लागी पर्ने आशा व्यक्त गर्दै हरेक क्षेत्रमा महिलाको सहभागिताबाट नै देश विकास हुने धारणा राखिन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महिला सशक्तिकरणका निम्ती महिलामा उद्यमशिलताको विकास गर्न आवश्यक रहेको बताउँदै भरतपुर महानगर क्षेत्र भित्र महिला उद्यमशिलता विकास सम्बन्धी सीप विकास कार्यक्रमले व्यापकता पाउदै गइरहेको बताइन् ।
कार्यक्रममा चितवन चेम्बर अफ कमर्शका अध्यक्ष दीर्घ कुमार श्रेष्ठले चितवन जिल्लामा व्यापार व्यवसाय गर्दै आएका महिलाहरुको हितका निम्ति चितवन महिला चेम्बरले महत्वपूर्ण योगदान पुर्याउने बताए ।
कार्यक्रममा नेपाल महिला चेम्बरका सल्लाहकारद्वय अन्जना ताम्राकार र् निलम ताम्राकार, उपाध्यक्षद्वय सुष्मा शर्मा र अम्बिका शर्मा, सचिव लिमा अधिकारी, कार्यकारीणी सदस्यहरु सुष्मा श्रेष्ठ, रन्जु तन्डुकार, जानकी प्रधान, राज्य लक्ष्मी सिंह, सुष्मा आचार्य र शाखा अधिकृत सृष्टि त्रिपाठीसमेतको उपस्थिति रहेको थियो ।