काठमाडौं । हिमाल रेफ्रिजरेसन तथा इलेक्ट्रिकल इन्डस्ट्रिज प्रालिले 'डाइकिन टेक्निकल सेमिनार' सम्पन्न गरेको छ । सन् १९९८ देखि जापानी ब्राण्ड 'डाइकिन'को एसी नेपाली बजारमा ल्याएर विक्री गर्दै आएको हिमाल रेफ्रिजरेसनले काठमाडौंमा 'राइज अफ इनोभेसन' थिममा शुक्रवार सेमिनार सम्पन्न गरेको हो ।
डाइकिनका प्रतिनिधिहरू समेत सहभागी कार्यक्रममा हिमालका ग्राहक, हिटिङ, भेन्टिलेसन, एयर कन्डिसनिङ (एचभीएसी) कन्सल्टेन्ट्स, आर्किटेक्ट, इन्जिनियरहरूसहित साढे ३०० जनाको उपस्थिति थियो ।
कार्यक्रममा डाइकिन इन्डियाका निर्देशक तथा वरिष्ठ उपाध्यक्ष (भीआरभी, एलसीओएम, टेक सपोर्ट) सञ्जय गोयल, डाइकिन इन्डिया (एक्सपोर्ट अपरेशन्स)का महाप्रबन्धक जयन्त जावा, डाइकिन इन्डियाका सहायक महाप्रबन्धक (एप्लाइड बिज) फ्रान्सिस लुइसलगायत डाइकिन इन्डियाका अरू टिमको पनि सहभागिता थियो ।
आर्थिक अभियानसँग कुरा गर्दै गोयलले एसीका लागि नेपालको बजार बढ्दो रहेको र पछिल्ला प्रविधि जडित एसी नेपालको बजारमा पनि उपलब्ध गराइरहेको बताए ।
'नेपालका ग्राहकले पनि उन्नत प्रविधियुक्त, ऊर्जा किफायती र वातावरणमैत्री एसी नै खोज्ने गरेका छन्,' उनले भने, 'विगत दश वर्षमा हामीले ग्राहकमा यस्तो प्रवृत्ति देखेका छौं ।'
महाप्रबन्धक जावाले डाइकिनका सामानको नेपाली बजारमा राम्रो उपस्थिति रहेको बताए । 'हाम्रा उत्पादन नेपालमा धेरै रुचाइएका छन् र तिनले बजारमा प्रभुत्व स्थापित गर्न सफल भएका छन्,' उनले भने ।
हिमाल रेफ्रिजरेसन तथा इलेक्ट्रिकल इन्डस्ट्रिज प्रालिले सन् १९९८ देखि अहिलेसम्म डाइकिनको ब्राण्ड नेपाली बजारमा विक्रीवितरण गर्दै आएको छ ।
आफ्नो व्यावसायिक यात्रा डाइकिन जापानबाट शुरू गरेर नेपालमा यो ब्राण्डलाई स्थापित गर्न सफल भएको हिमाल रेफ्रिजरेसन तथा इलेक्ट्रिकल इन्डस्ट्रिज प्रबन्ध निर्देशक कमल चौधरीले बताए।
उनका अनुसार हिमाल रेफ्रिजरेसन तथा इलेक्ट्रिकल इन्डस्ट्रिज सन् १९९८ मा स्थापना भएको नेपाली कम्पनी हो, जसले हिटिङ भेन्टिलेसन एयर कन्डिसनिङ र प्लम्बिङ कार्यका साथै आगो नियन्त्रण प्रणालीमा सेवा प्रदान गर्दै आएको छ। यो कम्पनी नेपालमा आइएसओ प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एकमात्र रेफ्रिजरेसन तथा विद्युतीय उपकरण सेवा प्रदायक रहेको समेत चौधरीले बताए ।
चौधरीका अनुसार हिमालले विद्युतीय तथा प्लम्बिङ सेवा अन्तर्गत घरायसी तथा औद्योगिक प्रयोजनका लागि विद्युतीय तार जडान, उपकरण स्थापना, निरीक्षण, सुधार र प्लम्बिङ कार्य गर्दै आएको छ ।
आगो नियन्त्रण प्रणाली अन्तर्गत कार्यालय, अस्पताल, होटेल तथा ठूला संरचनामा आगलागीको जोखिम न्यूनीकरण गर्न आधुनिक फायर अलार्म, स्प्रिङ्कलर, फायर एक्स्टिग्इिशर आदि प्रणालीको आपूर्ति र जडानमा समेत यो कम्पनी अब्बल रहेको दाबी गरिएको छ ।
हिमाल रेफ्रिजरेसन तथा इलेक्ट्रिकल इन्डस्ट्रिज प्रालिले 'डाइकिन टेक्निकल सेमिनार'मा आफ्ना प्रमुख परियोजना समेत प्रस्तुत गरेको थियो ।
नयाँ धरहरा पुनर्निर्माण परियोजना, काठमाडौं विश्वविद्यालय, जापान, भारत तथा अमेरिकाका दूतावास, वीर अस्पताल, परोपकार अस्पताल होटल मुलबेरी, होटल अलफ्ट, लबिम मल (ललितपुर), सिनेप्लेक्स (चितवन) जस्ता सयौं परियोजना सफलतापूर्वक सम्पन्न गरेको कम्पनीका कार्यकारी निर्देशक विजयकुमार चौधरीले बताए ।