विराटनगर । दुग्ध विकास संस्थान (डिडिसी)को विराटनगर वितरण आयोजनाले किसानलाई १७ करोड ८ लाख रुपैयाँ बक्यौता भुक्तानी गरेको छ । किसानबाट खरीद गरेको दूधको भुक्तानी गतवर्षको मङ्सिरदेखि नदिएको डिडिसीले नेपाल सरकारबाट शर्तसहित ६० करोड रुपैयाँ प्राप्त गरेपछि विराटनगर आयोजनाले १६ करोड ८ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
आयोजनाले आन्तरिक स्रोतबाट थप एक करोड रुपैयाँ जुटाएर किसानलाई चैत महीनासम्मको भुक्तानी दिएको हो । किसानलाई असोजबाहेक ५ महीनाको १३ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्न अझै बाँकी रहेको आयोजना प्रमुख हरिबहादुर थापामगरले बताए । बाँकी रकम भुक्तानीका लागि केही समय पर्खनुपर्ने उनको भनाइ छ ।
विराटनगर आयोजनाले अहिले दैनिक औसत १३ हजार लिटर दूध संकलन गरिरहेको छ । इलाम, झापा, धनकुटा, तेह्रथुमबाट आफ्नै संकलन केन्द्र र मोरङ, सुनसरी, उदयपुर र सप्तरीबाट सहकारी संस्थाले संकलन गरेको दूध आयोजनाले लिने गरेको छ ।
डिडिसीले बजारमा विक्री नभई बढी भएको दूध पाउडर बनाएर मौज्दातमा राख्ने गरेको छ । अहिले ठूलो परिमाणमा पाउडर दूध र मख्खन (बटर) मौज्दातमा रहेकाले संस्थानले चालू पूँजीको अभाव खेप्दै आएको छ । सोही कारण किसानलाई दूधको नियमित भुक्तानी दिन नसक्ने अवस्था आएको हो । संस्थानको विराटनगर आयोजनामा अहिले ८२ हजार किलो पाउडर दूध र ९६ हजार किलो मख्खन मौज्दातमा रहेको जनाइएको छ ।
आयोजनाले दैनिक औसत २५ सय लिटर दूध विक्री गर्ने गरेको छ भने करीब ६ सय लिटर दही र ६० किलो जति पनीर विक्री गरिरहेको छ । चाडबाडको समयमा दुग्ध पदार्थको मूल्य घटाएकाले विक्री केही बढेको थापामगरले जानकारी दिए ।
दुई केन्द्रमा रोकियो दूध संकलन
आयोजनामा इलामका दुई चिस्यान केन्द्रबाट दैनिक रूपमा २ हजार ५०० लिटर दूध आपूर्ति हुँदै आएकोमा अहिले रोकिएको छ । असोज ९ देखि १२ गतेसम्म परेको वर्षाले सडक अवरुद्ध भएपछि संकलन हुन नसकेको हो । वर्षाका कारण मेची राजमार्गस्थित इलामको माइखोला नजिक राजदुवाली खण्ड क्षतिग्रस्त भई सवारीसाधनको आवतजावत बन्द भएपछि दूध संकलनमा समस्या भएको बताइएको छ ।
आयोजनाका अनुसार इलामका शान्तिडाँडा र बिब्ल्याटे चिस्यान केन्द्रबाट हुने दूधको ढुवानी पूणर् रूपमा रोकिएको छ । विराटनगरसम्म दूधको ट्यांकर पुग्न नसक्दा चिस्यान केन्द्रहरूले दूध संकलन नै बन्द गरेको आयोजनाका निमित्त प्रमुख थापामगरले बताए ।
उक्त सडक खण्ड मर्मतको काम समेत अहिले रोकिएको छ । पहिरोले बगाएपछि मर्मत शुरू गरिएको सडकको माथिपट्टि धाँजा फाटेर जोखिम बढेपछि सोमवार साँझदेखि मर्मत स्थगित गरिएको बताइएको छ । सडक डिभिजन कार्यालय, इलामका प्रमुख पवन भट्टराईले जोखिमको अवस्था हेरेर मात्र मर्मत कार्य अगाडि बढाइने बताएका छन् ।
विराटनगर आयोजनाले अहिले दैनिक औसत १३ हजार लिटर दूध संकलन गरिरहेको छ । इलाम, झापा, धनकुटा, तेह्रथुमबाट आफ्नै संकलन केन्द्र र मोरङ, सुनसरी, उदयपुर र सप्तरीबाट सहकारी संस्थाले संकलन गरेको दूध आयोजनाले लिने गरेको छ ।